• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

गाउँपालिकाको उदाहरणीय काम, चिकित्सा विषय पढ्न चाहनेलाई अध्ययन खर्च दिने

भेजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ ।

खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्तिसुरक्षा र शिक्षा पौवादुङमावासीलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मूल नाराका साथ शुक्रबार सम्पन्न भएको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनले यस्तो नीति सार्वजनिक गरेको हो ।

शिक्षा क्षेत्रको विकासमा योगदान दिएर दक्ष नागरिक उत्पादन गर्न गाउँपालिकाले यस्तो नीति अघि सारेको हो । त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पूरा गरिसकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ । 

विद्यार्थीमा उत्पेरणा थप्ने लक्ष्यले यस्तो व्यवस्था लागू गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिकाले विद्यार्थीमा पढाइप्रति लगाव बढाउनका लागि अध्ययन खर्चको व्यवस्था गर्ने नीति लिएको उनको भनाइ छ । 

एसइईमा उच्च अङ्क ल्याएर राम्रो विषय पढ्न चाहने विद्यार्थीलाई अध्ययन खर्च दिने नीति गाउँपालिकाले ल्याएका र त्यस्ता विद्यार्थीले केही समय गाउँपालिकाको विद्यालय तथा अस्पतालमा अनिवार्यरुपमा सेवा गर्नुपर्ने उनको भनाइ छ  । यसका लागि कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउने गाउँपालिका अध्यक्ष राईले बताए ।

गाउँसभामार्फत खानेपानीलाई पहिलो प्राथमिकतामा दिँदै  नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँसभाले तयार गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी आर्थिक वर्ष २०७९÷८० का लागि जम्मा रु ४१ करोड दुई लाख ७६ हजार १० बराबरको अनुमानित बजेट  सार्वजनिक गरिएको छ । चालुतर्फ शिक्षा, स्वास्थ्य र  कृषिसमेतको रु २५ करोड ५८ लाख ७६ हजार र पुँजीगततर्फ रु १५ करोड ४४ लाख खर्च हुने अनुमान गरिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए । 

पुँजीगततर्फ ३७ दशमलव ६४ र चालुतर्फ ६२ दशमलव ३६ प्रतिशत बजेट विनियोजन भएको छ । बजेटमा खानेपानी पहिलो र सडक विस्तारलाई दोस्रो प्राथमिकतामा राखिएको छ । अध्यक्ष राईले जनताको भावना र चाहना समेट्ने गरी बजेट निर्माण गरिएको  जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर