चीनले बनाएका आयोजनाको विजुली किन्न भारतको आनाकानी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ कम्पनीहरुले बनाएको परियोजनाबाट उत्पादित विद्युत खरिद गर्न भारतले अनिच्छा देखाउने गरेको टिप्पणी गरेका छन् । नेपालको जलविद्युत् विकासका लागि भूराजनीतिक चुनौती पनि समस्याको रुपमा रहेको उनले बताए ।
एशोसियसन अफ फर्मर करियर एम्बासाडर्स अफ नेपाल (अफकान) ले सोमबार गरेको ‘नेपालको ऊर्जा कुटनीतिः भारत, बंगलादेश र चीनसंगको सहकार्यका सन्दर्भमा देखिएको समस्या र सम्भावना’ विषयक अन्तरक्रियामा घिसिङले त्यस्तो बताएका हुन्। अफकान पूर्व राजदूतहरुको संस्था हो ।
भारतले चिनियाँ लगानीकर्ता र ठेकेदार जोडिएका नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् किन्न अरुची देखाएको प्रसंग पनि उनले निकाले।
‘हाम्रो जलविद्युत् विकासका कुरा गर्दा भूराजनीतिक सन्दर्भ पनि जोडिएर आउँछ। हामीले विद्युत्मा बाह्य लगानी लिइरहेका छौं। अहिले चिनियाँ लगानीकर्ता र ठेकेदार जोडिएका नेपालका जलविद्युत् आयोजनालाई विष्फोटक पदार्थ दिन छोडेको कुरा आइरहेको छु, उनले भने, ुविष्फोटक पदार्थ भारतबाटै ल्याउनुपर्ने बाध्यता छ। अबका दिनमा यस्ता भूराजनीतिक स्वार्थले जलविद्युत् विकासलाई असर गर्ने भयो।’
घिसिङ्ले केही वर्षअघि भारतले ल्याएको जलविद्युत् निर्देशिकामा छिमेकी देशमा उत्पादित विद्युत् खरिदका लागि ५० प्रतिशत भारतीय लगानी हुनुपर्ने सर्त राखिएको प्रसंग उल्लेख गरे।
‘हामीले निरन्तर विरोध गरेपछि भारतले त्यो कन्जर्भेटिभ किसिमको निर्देशिका संशोधन गर्यो। पछिल्लोपटक भारतले ल्याएका विद्युतसम्बन्धी रेगुलेसन र प्रोसिड्योर डाइनामिक छन्। तर पनि अप्रत्यक्ष रुपमा चिनियाँ लगानीकर्ता र ठेकेदार भएका परियोजनाबाट उत्पादित विद्युत् भारतले नलिने नीति छ,’ घिसिङले भने।
घिसिङले उत्तरी छिमेकीसँग विद्युत् प्रशारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढेको बताए। तर रसुवा—केरुङ सीमापार प्रशारण लाइनको मोडालिटी टुंगिन बाँकी रहेको उनले जानकारी दिए।
पश्चिम सेती जस्ता परियोजना निर्माण नहुनुका पछाडि भूराजनीतिक कारण रहेको उनले संकेत गरे।
‘चिनियाँसँग हामीले पटक—पटक छलफल गर्यौं। तर पश्चिम सेतीमा उत्पादित विद्युत् बजारबारे उनीहरु आश्वस्त हुन सकेनन्', उनले भने, 'नकी हाम्रो बजार भारत नै हो। अर्को कुरा, उनीहरुले भनेको दरमा हामीले पीपीए गर्ने अवस्था भएन।’
उनले बंगलादेशसँग विद्युत् व्यापारको प्रचुर सम्भावना रहेको बताउँदै अब नेपाल, भारत र बंगलादेशबीच बिद्युत् व्यापारबारे वार्ता गर्न छलफल हुन लागेको बताए। घिसिङले भारतसँग विद्युत् व्यापार सहज रुपमा भइरहेको पनि बताए।
‘हामी भारत हुँदै बंगलादेश र श्रीलंकासम्म विद्युत् ब्यापार गर्न सक्छौँ। श्रीलंकामा त अहिले ऊर्जा संकट नै छ। बंगलादेश पनि हामीकहाँबाट बिद्युत् लैजान चाहन्छ,’ घिसिङले भने।
उक्त कार्यक्रममा जलस्रोतविद् दीपक ज्ञवालीले भारतले नेपालको पानीलाई रणनीतिक स्रोतको रुपमा मानेकाले यसको नियमन गरिरहेको धारणा राखे।
‘विद्युत् भारतलाई बेचेर धनी हुने सपना छाडौँ। मुलुकमै विद्युत् खपत गरेर विकासमा लागौँ’, उनले भने।
उक्त अवसरमा जलस्रोत विज्ञ सूर्यनाथ उपाध्यायले नेपालले भारतलाई ५ मेगावाट, १० मेगावाट बिजुली लिइदेऊ भन्दै अनुनय विनय गर्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताए।







प्रतिकृया दिनुहोस