निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

धनगढी । मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।

तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनिको लापरबाहीको आरोप स्थानीयको आरोप छ । ‘अर्बौंको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेको छ,’ धनगढीका व्यवसायी सुन्दर श्रेष्ठले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण यस्तो समस्या आएको हो, सरकारले निर्माण व्यवसायीलाई कारबाही गर्नु पर्दछ ।’ 

तर, ६ लेन सडक आयोजना कार्यालय धनगढीले भने सवारीको क्षमताभन्दा बढी सामान ढुवानी हुँदा सडक फुट्ने समस्या आएको जनाएको छ । ‘अहिले फुटेको ठाउँ मर्मत गर्न हामीले निर्माण कम्पनीलाई भनिसकेका छौं । उनीहरुले मर्मत पनि गर्लान्,’ ६ लेन सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर भुवन भट्टले भने, ‘तर, त्यसको यथार्थ कारण बुझेनौं भने मर्मत गरेर केही हुनेवाला छैन । सडक सुरक्षित बनाउन मालबाहक सवारीलाई क्षमताभन्दा बढी लोड बोक्नबाट रोक्नु जरुरी छ ।’ 

मालबाहक सवारी साधानको भारवहन निर्देशिका २०७४ अनुसार अघिल्लो तर्फ चालक र सहचालकसहित ३ जना यात्रु र पछाडि एक्सलको संख्या अनुसार १२ टनदेखि माथि सामान ओसार्न पाइने व्यवस्था छ । जसअनुसार चार पांग्रे सवारीले १२ टन, ६ पांग्रे सवारीले १६ दशमलव २ टन, १० पांग्रेले २५ टन, १२ पांग्रे सवारीले ३१ टन, १४ पांग्रे सवारीले ३५ टन र १८ पांग्रे सवारीले ४० दशमलव २ टन सामग्री बोक्न पाइने व्यवस्था रहेको छ ।

तर, त्यसको नियमन नहुँदा सवारीले तोकेकोभन्दा बढी तौल बोक्ने गरेको इन्जिनियर भट्ट बताउँछन् । सवारीले क्षमताभन्दा बढी सामान बोक्दा सडकमा सवारीको असन्तुलित चाप बढ्ने र त्यसले सडकनै भासिने गरेको उनले बताए । 

‘सडक सुरक्षाका लागि सवारीकोे लम्बाई, चौडाई र उचाई अनुसार भारको सन्तुलन मिलाएर सवारी चलाउनु पर्ने हुन्छ,’ उनले भने, ‘सानो सवारीमा धेरै लोड राख्दा सन्तुलन नमिलेर सडक चर्किने र भाँसिने हुन्छ । अहिले ६ लेनको हकमा पनि त्यही भइरहेको छ ।’ 

भारतबाट आउने सवारीको चेकजाँच भन्सार कार्यालयले गर्ने गरेको भएपनि उसले क्षमता अनुसारको सामान छ की छैन भन्ने बारेमा नहेर्ने गरेको उनि बताउँछन् ।  ‘त्रिनगर भन्सारमा धर्म काँटा रहेको छ,’ उनले भने, ‘हामीले भन्सारलाई सवारीको क्षमता कति हो भन्ने लिष्ट पनि उपलब्ध गराएका छौं, तर, विना परीक्षण जति सामग्री ल्याएपनि भन्सारले पास गर्ने गरेको छ, त्यसपछि नियमन गर्ने निकायनै छैन ।’

 त्रिनगर भन्सार कार्यालयकी सूचना अधिकारी अम्बिका केसीले भने भन्सार कार्यालयमा कुनै त्यस्तो परिपत्र नआएको बताइन् । ‘भन्सार कार्यायले कागजमा भए अनुसारको सामान छ कि छैन भन्ने रुजु गर्ने काम मात्रै गर्ने हो,’ केसीले भनिन्, ‘कसैलाई बढी कम ल्याउन भन्ने होइन ।’

क्षमताभन्दा बढी सामान बोके नबोकेको हर्ने जिम्मा ट्राफिक प्रहरीको भएको उनी बताउँछिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज वकिल सिंहले भने ट्राफिकसँग भारवाहन परीक्षण गर्ने संयन्त्रनै नभएको बताए । 

‘भारतबाट आउने सवारीका लागि त्रिनगर भन्सारमा काँटा राखिएको छ,’ उनले भने, ‘पूर्वबाट आउने सवारीका लागि लम्कीमा र पहाड जाने सवारीका लागि गोदावरीमा धर्म काँटा छ, क्षमताभन्दा बढी सामग्री ओसारेको छ छैन काँटाले देखाउने हो । बाटोमा ट्राफिकले कसरी आंकलन गर्न सक्दछ ।’ 

सवारीले मापदण्डभन्दा बढी सामग्री राखेको पाइएमा तौल हुने ठाउँमै उतार्न लगाउनु पर्ने उनले बताए । ‘सडकमा हामीले पनि सवारी परीक्षण गर्छौं,’ सिंहले भने, ‘कागजमा सबै ठिक भेटिएपछि रोक्ने कुरै हुँदैन, बाटोबाटोमा काँटाको हालसम्म व्यवस्था छैन ।’ 

मालवबाहक सवारीसाधानको भारवाहन नियमावली निर्देशिका २०७४ मा भने मालवाहक सवारीले क्षमताभन्दा बढी सामान ओसारोको पाइएमा त्यस्तो सामाग्री तत्काल हटाउन लगाई जरिवाना गरिनेछ । तर, भार छुट्याउन नसकिने, नमिल्ने सामानको ढुवानी गर्नुपर्ने भएमा भने यातायाता व्यवस्था कार्यालयको पूर्व स्वीकृति दिनुपर्ने हुन्छ । त्यसरी पूर्वस्वीकृति लिँदा अतिरिक्त शुल्क पनि तिर्नुपर्ने हुन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर