• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संविधान दिवश : जनताको पर्व बन्न किन सकेन ?

"राज्य आवश्यक शत्रु हाे" (state is an  necessary evil) the holy state and the profane state(1662) Thomas fuller.  राज्यभित्र अवसर र अवसाध दुबै  हुन्छ। राज्य स्वयंमा निरंकुश हुन्छ । यो यसको अभेद्य गुण हो  । जसको सिमांकन संविधान र कानुनले गर्छ ।  त्यसैले संविधान राज्य र जनताको रक्षक हो । यहि संबिधानबाद हाे ।  सन १७७९ को अमेरिकी संविधान बेलायती उपनिवेशको उपलब्धी थियो ।  स्वतंत्रता कति प्यारो हुन्छ भन्ने कुरा अमेरिकी, भारतीयहरुलाई थाहा छ जाे बेलायतीहरुले संसारमा अनुभूत गराए ।  स्वयम् बेलायतीले संविधान बनाएनन । किनकि जनताको स्वतन्त्रता र प्रजातन्त्रको लागि कानुन नै पर्याप्त छ भन्ने कुरा उनीहरूलाई थाहा थियो । यही संविधानबादले  संसारमा कानुनको शासन स्थापित गरेको छ । नत्र राज्यले राजनीतिको महात्वाकान्छालाई सीमित गर्न  सक्दैनथ्यो ।

स्वतन्त्रता र प्रजातन्त्रको लागि हामीले सातवटा संविधान बनायौ ।  तर सातौं संविधान पनि अनुभूत हुने गरि सीमान्त वर्गसम्म पुगेन । किन  ? संघीयता गणतन्त्रका विषयमा फेरि प्रश्न  उठ्न थालेका छन् ।  संविधानको अवसर जनताले किन पाएनन् । संविधान दिवश उत्साहकासाथ सीमान्त वर्ग सम्म किन पुगेन। । जुलाई ४ मा अमेरिका, अगस्ट १५ मा भारत भव्य रुपमा स्वतंत्रता दिवस मनाउँछन् ।  हामीले फागुन ७ गते भुल्यौ। असोज ३ सबै नेपालीको लागि पर्व किन हुन सकेन ।  सवालहरु थुप्रै हुन सक्छन् । उत्तर  संविधानका चालकहरुले दिन सक्लान्  ?  इतिहास बिर्सेर आफ्नै  नीतिमा रमाउने नेताहरु अहिले आफै अल्मलिएका छन् ।

हाम्रो संविधान लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको संविधान हाे ।  हाम्राे संविधानले जनताको अधिकारलाई संविधानतः स्थापित गरेको छ  ।  मौलिक हक जनतासम्म पुर्याएको छ  । रोजगारीको  ग्यारेन्टी  र खाद्य सम्प्रभुता सुनिश्चित गर्छ ।  कानुनको शासनलाई मजबुत बनाउने परिकल्पना गर्छ ।  दण्डहिनताको अन्त्य गर्छ ।समानताको प्रत्याभूति दिन्छ।   सामाजिक न्याय र सुरक्षालाई उच्च राख्छ। विभेदलाई हटाउँछ ।  श्रम र रोजगारको संरक्षण गर्छ। । तर के सातवटा संविधानपछि पनि यि विषय जनताले पाए ?  संविधानमा सबै कुरा लेखिएका छन् ।  तर यही कुरा जनताले प्रत्यक्ष अनुभूत गर्न किन सकेनन् ?   नेता र  नेतृत्व आफ्नै व्यक्तिगत स्वार्थमा सत्तामा रमाए । जति विकास ,परिवर्तन र सुधार भएको छ विश्वकाे परिवेश देखेका जनताहरु यतिमा सन्तुष्ट छैनन् ।

सत्तामा पालैपालो एउटै व्यक्ति प्रधानमन्त्री हुन संविधान बनेको होइन । ६-६ महिनामा मन्त्री फेर्न संविधान निर्माण हुँदैन ।  संवैधानिक निकाय र उच्चपदस्थ पदमा जताभावी राजनीति नियुक्ति गर्न संविधानले अनुमति दिँदैन । समयभन्दा अगाडि नै संसद विघटन गर्ने आसय संविधानको हुँदैन । आफ्नो अनुकुल व्याख्या गर्ने न्यायालय संविधानले बनाएको हुँदैन । भाई, भारदारलाई अवसर दिने कुरा संविधानले परिकल्पना गर्दैन । जनतालाई न्याय दिने सर्वोच्च अदालत समेत राजनीति गर्ने अखडा बन्याे। शक्ति सन्तुलन र पृथकीकरण, कानुनको शासन ,सार्वभौम अधिकारलाई हाम्रो संविधानले संस्थागत गरेको छ । तर संविधानका चालकहरूले यसलाई यसरी नै उपयोग गरे । आज तिनै चालकहरूको बर्बराहट चरम सीमामा छ । स्वयं संविधान टुलु टुलु हेनु‌ बाहेक अरु केही गर्न सक्तैन । जसको साछि जनता बनि रहे।  यही निरीहतालाई राजनीतिक दल र नेताले जनमत ठाने ।  उनीहरुले सत्तामा पुगेपछि जनताको आवाज सुनेनन् । आपसमा झगडा गरेर बसे ।  हाम्रो देश राजनीति सुधारको पर्खाइमा छ ।

 कानुनको शासन ,मौलिक अधिकार र प्रजातन्त्र असिमित दर्शन हुन् ।  यिनलाई संविधानमा सीमित गर्न सकिँदैन । संविधानले राज्यको अवसरलाई प्रत्याभूत र अवसाधलाई न्यूनीकरण गर्छ । त्यसैले संसारका कुनै पनि संविधान असंशोधनीय छैनन् ।  तर संशोधन के का लागि भन्ने विषय जनताले बुझ्नु पर्छ । नेपालमा यही विषय जनताले बुझेनन ।  जसले बुझे उनीहरुले संविधानको अपव्याख्या नै गरे ।  देशको राजनीति र शासन प्रणाली कसको ग्राइन्डडिजाइनमा चल्दैछ नेताहरुलाई यो कुरा थाहा छ ? संविधान फेरियो तर पात्र र प्रवृत्ति उही छन् ।

हिजोका चप्पल लगाउनेहरु यहि संविधानको शिरमा टेकेर अर्बौ पति भए । तर जनताको जीवनस्तर उक्लिन सकेन । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली हुँ भन्ने गौरव नेपालीले गर्न सकेनन् । किनकि प्रजातन्त्र भित्रका अयोग्यहरुले संविधानको मर्मलाई बुझ्न सकेनन् ।  जसले बुझे उनीहरु यसको पहरेदार भएनन्  ।  नेताहरुकाे बाेलीमा सधै शंका गर्नुपर्ने स्थिति किन आयो  ?  जनतालाई  लुकाएर निर्णय गर्न थाले ।  पर्दाफास हुनासाथ कसैप्रति विश्वास रहेन । संस्थान बेचिए।  चियाबगान प्लटिङ भय । दबाईमा समेत घोटाला भयो ।  सार्वजनिक जग्गा मासिए ।  व्यापारीबाट चन्दा उठाएर निर्वाचनमा खर्च गर्न थाले । मंत्रालयहरु  सेवाकोलागि होइन अवसर र कमाउने भाँडो बन्दै गए।  जनताको आधारभूत विषयमा सोच्नुभन्दा दोषारोपणमा शब्द खर्च गर्न थालेपछि नेता नेतृत्व र शासक इमान्दार देखिएनन् ।  इमान्दारिताको खाँचो रह्यो ।  जसको हात जगन्नाथ रहिरह्यो । अनि लाग्याे संविधान त साधनमात्र रहेछ साध्य त यिनै नेताहरु नै हुन् । नेताले संविधान बुझेनन् भने जनताले उनलाई सम्मान गर्ने ठाउँ रहँदैन । त्यसैले नेपालको  राजनीति, नेता र नेतृत्व प्रति अविश्वास पैदा हुँदैछ ।  संविधानकाे विस्वास नेताले जनता सम्म पुर्याउन सकेनन् ।

२०७२ असोज ३ गते संविधान जारी हुदा  नेपाली जनता भावविहल थिए । उनीहरूले सोचेका थिए अब संविधानमाथि राजनीतिकरण हुँदैन ।  गरीबी, बेरोजगारी, अशिक्षा,  विभेद हट्छ भन्ने हामी सबैले ठूलो अपेक्षा गरेका थियौं ।  तर विगत संविधान जस्तै यसमा पनि राजनीतिकरण भयो ।  सत्ता परिवर्तनले मात्र शासनमा सुधार नहुने  कुरा दृष्टान्त नै भयाे ।  शक्तिमाथि पौठेजोरी खेल्दै दलाली तन्त्र र भ्रष्टाचारले संविधानका चालकहरुलाई खर्लप्पै निल्यो । उनीहरुले संविधानको मर्मलाई समेत हेरेनन्।जनताको खबरदारीलाई शक्तिको बलमा नजरअंदाज गरिरहे ।  यो अवसाद देख्दादेख्दै  जनताले कसरी संविधान दिवश मनाउन सक्छन ?

कानुनको शासनका प्रणेता ग्लाड स्टाेन राजनीतिले प्रजातन्त्र र संविधानको रक्षा गर्ने कुरामा शंका गर्छन् । अन्तत यसका रक्षक जनता नै हुन् ,उनको भनाइ छ । त्यसैले  हामी संविधान दिवश बनाउँछौ ।  किनकि हाम्रो लागि राष्ट्र ,राष्ट्रियता, सार्वभौमसत्ता प्यारो छ । खेलाडीहरू जती खेले पनि देश प्रतिको अटल आस्था नेपाली जनताबाट टुट्ने छैन । आज संविधान दिवसको दिन हामी सबै  संविधानप्रति आदरभाव जताउछौ ।  खेल्नेहरू जतिसुकै खेलिरहुन ।  एकदिन पक्कै जनताको हात माथि पर्नेछ । र, जनताले दिपावली गरेर संविधान दिवश मनाउने छन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर