चुनावी चहलपहल बढेसँगै होटल व्यवसाय फस्टाउन थाल्यो

महोत्तरी ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को चहलपहलले महोत्तरीको होटल व्यवसाय फस्टाएको  छ । जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका बजारका होटल केही दिनयता ग्राहकले खचाखच भरिएका छन् । चुनावी चहलपहलको भीडले होटल व्यवसाय प्रवद्र्धन गएको व्यवसायीको भनाइ छ ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका  निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ । बर्दिबासचोकमै सत्ता गठबन्धन, नेकपा (एमाले)– जनता समाजवादी (जसपा) गठबन्धन र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएलगत्तै बजारु चहलपहल ह्वात्तै बढेको नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष रेवन्त कार्की ‘सुदीप’को भनाइ छ । 

“निर्वाचन आयोगले बर्दिबासमै निर्वाचन अधिकृतको कार्यालय स्थापना ग¥यो, सडक यातायातको सहजताले दल र उम्मेदवारले पनि यही नै कार्यालय सञ्चालनमा ल्याए”, उनले भने, “यसले चुनावी तयारीको चहलपहल बढेसँगै होटल खचाखच भरिएका छन् ।” निर्वाचन अधिकृतको कार्यालयसम्बद्ध कामको सम्पर्कमा र दल एवं अन्य उम्मेदवारका कार्यालयमा आउजाउ गर्ने बढेसँगै होटलमा ग्राहक बढेका सुदीपको भनाइ छ । साना–ठूला गरी एक सयको हाराहारीमा होटल रहेका बर्दिबासमा सबै होटल अहिले भरिभराउ देखिँदैछन् ।

उम्मेदवारले निर्वाचन चिह्न पाएसँगै प्रचार अभियान औपचारिकरूपमा सुरु भएको छ । यस क्रममा जिल्लाका प्रत्येक प्रतिनिधिसभा क्षेत्रका मुख्य बजारमा दल र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएका छन् । बर्दिबासका अतिरिक्त जिल्लाका बलवा, जलेश्वर र रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् । यिनै ठाउँमा दल र स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्ना कार्यालय सञ्चालनमा ल्याएपछि चुनाव विशेषको बजारु चहलपहल बढेको हो । यसबाहेक जिल्लाका सीतापुर, गौशाला, रौजा, लोहारपट्टि, पिपरा, मटिहानी, मनरा र सम्सीलगायतका मुख्य बजारमा पनि दल र अन्य उम्मेदवारका सम्पर्क कार्यालय सञ्चालन गरिएपछि चुनावी माहोल तात्दै गएको छ । 

“अहिले त दिवाली (तिहार) र छठपर्वको तयारीमा आम सर्वसाधारण रहेका हुँदा चुनावी अभियान जनजन र घरघर पुग्न बाँकी छ”, प्रतिनिधिसभा क्षेत्र नं १ कै सीतापुर बजारका कपडा व्यापारी सहवुल अन्सारी भन्छन्, “पर्व सकिनासाथ परिवेश निर्वाचनमय बन्नेछ ।” बितेका दुई वर्ष कोरोना सङ्क्रमणले थलिएको व्यापार अब निर्वाचन चहलपहलले केही बौरने आस पालिएको उहाँको भनाइ छ । 

बजारमा अहिले मुख्यतः होटलमा बढी भीड देखिएको छ । यससँगै झण्डा, ब्यानर र पर्चापम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका रामगोपालपुरका सामाजिक–राजनीतिक कार्यकर्ता छठु पटेल बताए । 

निर्वाचन जनजन र घरघर परिचालित हुने ‘महापर्व’ जस्तै हुने भएको हुँदा यसक्रममा बन्दव्यापार, यातायात, सामाजिक भेटघाट र विकास अवसरका संवादले राम्रो मौका पाउने राजनीतिक कार्यकर्ता जनाए । यसपालि उम्मेदवारको मनोनयनदेखि निर्वाचन चिह्न पाउनेसम्मका कार्यक्रम सम्पन्न भएलगत्तै तिहार र छठपर्वको तयारी परेको हुँदा यी पर्वपछि चुनावी माहोल अझ उत्कर्षमा पुग्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहको धारणा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर