नक्कली मतपत्र, स्वस्तिक छाप र नगदसहित २ जना पक्राउ

वीरगञ्ज । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् ।
बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
कलैयातर्फबाट आइरहेको कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।
करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको उनले बताए । उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको प्र हरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस