• २०८२ असार २४ मंगलबार
  • Tuesday, 8 July, 2025

कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?

म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्यो     
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।     
मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरी     
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।

आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ ।मानववस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् ।

ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशेषज्ञ नारायण सापकोटा बताउँछन् । गौँथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव रहेको र हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले पनि यसको सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।     
गौथली  आजभोलि न दलिनमा देखिन्छन् न त कोठामा नै देखिने गरेकाे म्याग्दीकाे बेनी नगरपालिका–२ बगरफाँटका ९१ वर्षीय वेदप्रसाद उपाध्यायले बताए । कता हराए ती गौँथली ? घरको दलिन, खड्प्वालमा माटोको आकर्षक गुँड बनाएर बस्ने गौँथली आजभोलि देख्न मुस्किल भएको उपाध्यायले बताए । गौँथली हराउनुका थुप्रै कारण भएको विज्ञको भनाइ छ । २०७२ मा गएको विनाशकारी भूकम्पले माटोका घर भत्किएपछि भूकम्पबाट प्रभावित जिल्लामा गौँथली देखिनै छोडेको छ । वासस्थानको अभावका कारण गौँथली लोप हुने अवस्थामा पुगेको छ ।

केही वर्ष अगाडि घरैपिच्छे देखिने गौँथली अहिले देखिनै छाडेको म्याग्दीकै ज्यामरुककोटका ८९ वर्षीय खड्गबहादुर घिमिरेले बताए । विभिन्न समयमा हुने प्राकृतिक विपत्तिका कारण गौँथली लोप हुँदै गएका हुन् । मानव बस्तीको विस्तार, पक्की घरको निर्माणले गर्दा चरन क्षेत्रको अभावलगायत विविध कारणले गर्दा गौँथली नासिदै गएका वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख चन्द्रमणि सापकोटाले बताए ।

सहरमा निर्माण गरिएका आधुनिक भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले गौँथली लोप भएको विश्वास गरिएको छ । यद्यपि वासस्थानको अभाव र प्रदूषणका कारणले गौँथली सङ्कटमा पर्दै गएको उनको भनाइ छ ।

दुई दशक अघिसम्म म्याग्दीका घरैपिच्छे बथानका बथान देखिने गौँथली अहिले देखिनै छोडिसकेका छन् । मानव वस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु¥याउँदा यिनीहरू लोप भइरहेका छन् । किसानले बाली संरक्षण गर्न विषादीको प्रयोग गर्दा यिनीहरूको खानामा असर परेको देखिन्छ । हिन्दू धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने जनविश्वास रहेका छ । तर पछिल्ला वर्षमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरी गौँथली मार्ने गरिएको भेटिन्छ ।

सामान्यतया आकाशमा धेरै बेरसम्म उडिरहन सक्ने यो चरा देख्नमा लगभग भँगेरा जत्रै हुन्छ । यसको जीउको रङ खैरो र कालो हुन्छ भने पेटतिरको भागको रङ सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराको भन्दा बेग्लै किसिमको हुने चराविद् सापकोटाले बताए ।

अरु चराले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदिको प्रयोग गरेर रुखको हाँगामाथि अथवा माटोको दुलोभित्र आफ्नो गुँड बनाउने भएपनि  गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड बनाने सापकोटाको भनाइ छ ।  गौँथलीले घरको छत, घरको दलिन तथा ओढारको ढुङ्गामा झुण्डाएर गुँड बनाउने र प्रायः जोडी बनाएर बस्ने ग रेको उनको भनाइ छ ।

मानव बस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपुर्याउँदा यिनीहरूको संरक्षण हुन नसकेको उनको भनाइ छ । गौँथली चराको विशेषता र सुन्दरतालाई वर्णन गर्दै धेरै साहित्यकारले साहित्यको रचना गरेका छन् । सँधै जोडी बनेर बस्ने गौँथली घर वरिपरि नै बस्न रुचाउने गर्दछ ।     

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर