• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भाले झिंगाको रसायनले पोथीलाई अरुसँग संसर्ग गर्नबाट रोक्छ

काठमाडौं ।  फलफूलमा बस्ने झिंगा अर्थात् फ्रुट फ्लाईका विषयमा एक अनौठो तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । यो झिंगाले संसर्ग गर्ने बेला भालेले यस्तो रसायन छाड्छ जसले पोथी झिंगालाई संसर्गपछि निद्रा लाग्छ ।

जसकारण उसले अरु कुनै भाले झिंगासँग पुनः संसर्ग गर्न पाउँदैन । शोधकर्ताहरुका अनुसार पोथी झिंगाले आफूबाहेक अरु भालेसँग संसर्ग नगरोस् भन्नका लागि भाले झिंगाले अपनाउने यो जैविक रणनीति हो ।

अर्जेन्टिनाको नेसनल साइन्टिफिक एण्ड टेक्निकल रिसर्च काउन्सिलका शोधकर्ता लोरेना फ्रेंकोका अनुसार भाले झिंगाको यौनाङ्गबाट शुक्रकीटसँगै उक्त सेक्स पेप्टाइड नामक रसायन पोथी झिंगाको शरीरमा जान्छ । उनका अनुसार यो रसायनले पोथी झिंगाको शरीरको जैविक घडीको संयन्त्रलाई नै प्रभावित गर्छ ।

आमरुपमा यी प्रजातिका झिंगाहरु बिहान सूर्य उदाउनु अगाडि नै ब्युँझिन्छन् र त्यही नै समयमा उनीहरुको संसर्ग हुन्छ । तर पेप्टाइड रसायनको असरले पोथी झिंगालाई बिहान भइसकेको थाहा नै हुँदैन र ऊ अबेरसम्म सुत्छ । जबकि त्यो समयमा धेरै भाले सक्रिय हुन्छन् । त्यसरी एउटा भालेसँग संसर्ग गरेको पोथीले बिहानको समयमा अर्को भालेसँग संसर्ग गर्न पाउँदैन ।

शोधकर्ताले गरेको अध्ययनका क्रममा बिहान सबेरै उठ्ने पोथी झिंगा केवल कुमारी झिंगा मात्रै थिए जसले यसअघि संसर्ग गरेकै थिएनन् । संसर्ग गरिसकेका पोथीहरु भने शरीरमा घाम नपरुन्जेलसम्म सुत्ने गर्छन् ।

वास्तवमा यो झिंगाको पोथीले धेरै भालेसँग संसर्ग गरेर त्यसको शुक्रकीट आफ्नो शरीरभित्र जम्मा गरेर राख्न सक्छ । त्यसैले पोथीलाई धेरैवटा भालेको शुक्रकीट जम्मा गर्न नदिन र आफ्नै शुक्रकीटबाट प्रजनन् गराउनका लागि भालेले निद्रा लगाउने रसायन पोथीको शरीरमा छाड्ने गरेको शोधकर्ताको निष्कर्ष छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर