• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विकासले निम्त्याएको विनाश

( लिखु नदीको दुरवस्था)

बग्थ्यो गर्जनसाथ जो लिखु नदी स्वच्छन्द रातोदिन

पार्दै फाँट हराभरा जतनले दिन्थ्यो नयाँ जीवन !

बाँधी बाँध छिराइयो सुरुङमा सिङ्गो नदी लोभमा

लाखौं उर्वर फाट वञ्जर भए संवृद्धिको होडमा !! १ !!

पानी छैन उराठिलो बगर भो बग्थ्यो जहाँ त्यो नदी

लाखौं आश्रित जीव मानिस सबै अन्योलमा छौँ अति !

सुक्दा एक नदी भयावह खती भोग्ने भए सन्तति

नासो पूर्वजको थियो गहकिलो मास्यौँ अहो! त्यो नदी !! २ !!

पानीमात्र कदापि हैन सरिता हो जिन्दगीको गति

हुर्के मानव सभ्यता कति यतै संस्कार लाखौँ थरी !

स्वार्थी झुन्ड मिले सके लिखु नदी धोका दिए बेसरी

पानीमात्र थिएन गौरव थियो यो भेगको त्यो निधि !! ३ !!

गाह्रो भो जनजीविका अब यहाँ सुक्दा नदी घाटमा

धोका द्रव्यपिशाचले अति दिए बाँड्दै सयौं लालचा !

लाछी बन्नु हुदैन जाग अब हे! यो भूमिका सन्तति

तोडौँ बन्धन बाँध रोक्छ जसले हाम्रो नदीको गति !! ४ !!

 

पोकली, लिखु, ओखलढुंगा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर