अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुईजना घाइते

संखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल केराबारीमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेका छन् ।

संखुवासभामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल केराबारीमा मंगलबार राति ३ बजे विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा मंलबार बिहान  जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुईजना मजदुर समेत घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५  का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।  घाइते सिन्धुपाल्चोकका मङ्गोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातगोडा र कुममा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल संखुवाभामा उपचार भइरहेको छ।

अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जनभन्दा बढी मजदुरको ज्यान गइ सकेको छ । परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन्। नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क प्राप्त हुने उक्त आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान रहेको  छ।

आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ। निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउने बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर