• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जुम्लाको सेरा ज्यूलोमा ६ वर्षमा ६६ हजार स्याउका बिरुवा 

जुम्ला । चन्दननाथ मन्दिरसँग जोडिएको जुम्लाको सेरा ज्यूलोमा पाँच वर्ष अघिसम्म वर्षा याममा मार्सी धान र  हिउँदमा जौ खेती गरिन्थ्यो । तर, अहिले १४ हजार वर्ग मिटर क्षेत्रफल रहेको सेरा ज्यूलोमा न जौ फल्छ न त मार्सीका बाला नै झुल्छन् ।

सेरा ज्यूलो फूजी स्याउका एकैनासका बिरुवाले भरिएको छ । जहाँ अहिले किसानलाई बगैँचा व्यवस्थापन गर्न भ्याइ नभ्याई छ । बगैँचामा दिनहुँ किसान डुलिरहेका भेटिन्छन् । मङ्सिरदेखी फागुनसम्म पात झर्ने स्याउको बिरुवा चैत–वैशाखमा फुलेर सेताम्य हुन्छन् । भदौ–असोजमा स्याउ फलेर बगैँचा रहरलाग्दो हुन्छ ।

अर्को वर्ष स्याउबाट राम्रो उत्पादन लिन किसानका लागि यो समय महत्त्वपूर्ण हुने किसान बताउँछन् । काँटछाँट गर्ने, मल हाल्ने र सिँचाइको प्रबन्ध गर्ने काम भइरहेको किसान सरोज शाहीले बताए । ‘हामी किसानको आफ्नै प्रकारको कृषि क्यालेन्डर हुन्छ, अर्को वर्ष धेरै फलोस् भन्नका लागि अहिले काँटछाँट, मल खाद र सिँचाइको प्रबन्ध अनिवार्य मिलाउनै पर्छ’ उनले भने । 

रोपेकै वर्षबाट फल दिन थाल्ने फूजी इटालियन प्रजातिको स्याउ हो । विदेशबाटै आयात हुने फूजी स्याउका बिरुवा पहिलो पटक यही सेरा ज्युलोमै रोपिएको हो । जुम्लामा अहिले फूजी स्याउतर्फ किसानको आकर्षण ह्वात्तै बढेको छ । रोपेको एक वर्षमै फल दिने भएकाले किसान धमाधम फूजी स्याउ खेती गर्न थालेका छन् । ६ वर्षमा ६६ हजार बिरुवा रोपिएको जुम्लामा यो वर्ष फूजी स्याउका थप २६ हजार बिरुवा रोपिँदै छ । किसानले पुराना बगैँचा मासेर फूजी स्याउ रोप्ने योजना सुनाउने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिए । 

६ वर्ष अघि जुम्ला खलङ्गामा खेती सुरु गरिएको फूजी स्याउ अहिले टाढाका गाउँमा पनि फैलिएको छ । गुठिचौर गाउँपालिका १ नापानीका कृष्णबहादुर बस्नेत फूजी स्याउबारे बुझ्न रोप्न एक दिनको पैदल यात्रा गरी कृषि विकास कार्यालयमा परामर्श लिन पुग्नुभएको छ । परम्परागत खेतीमा मेहनत धेरै तर आम्दानी थोरै हुने भएपछि फूजी स्याउ खेती किसानको विकल्प भएको उहाँले बताए ।

फूजी स्याउ खेतीमा किसानको आकर्षण बढेपछि यो वर्ष स्याउ सुपर जोनले २० हजार बिरुवा ५० प्रतिशत अनुदानमा र कृषि विकास कार्यालयले ६ हजार बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम राखिएको जनाएका छन् । स्याउ सुपर जोन जुम्लाका प्रमुख खेमराज शाहीका अनुसार जुम्लाको २२ हेक्टरमा फूजी स्याउ खेती गरिएको छ । २० वटा व्यावसायिक बगैँचा छन् । अहिले १२ हजार हेक्टरमा यो स्याउ फलिरहेको छ ।

यो स्याउ प्रति हेक्टर १६ मेट्रिक टनसम्म उत्पादन हुने उनले बताए । यो वर्ष १ सय ९२ मेट्रिक टन फूजी उत्पादन भएकोमा ७० प्रतिशत जिल्ला बाहिर निर्यात भएको छ । सिजनमा प्रतिकिलो १ सय ४० रुपैयाँमा बिक्री हुने फूजी स्याउबाट यो वर्ष जुम्लामा १ करोड ८७ लाख रुपैयाँ भित्रिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

रेड, डेलिसियस, गोल्डेनलगायत स्थानीय जातका स्याउ रोपेको पाँच वर्षमा मात्र फल्ने तर फूजीले रोपेको एक वर्षमै फल्न थाल्ने भएकाले किसान आकर्षित भएका हुन् । व्यावसायिक स्याउ खेतीमा आकर्षण बढ्नु राम्रो भए पनि उत्पादन बढ्न थालेपछि बजारको समस्या हुन सक्नेतर्फ भने बेलैदेखि ध्यान दिनुपर्ने देखिन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर