• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

क्यान्सरका बिरामीलाई आर्थिक अभाव

झापा ।  झापाको गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् ।

फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उनले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उनकी पत्नी कुलोमाया ताजपुरियाले बताइन्। जाँच गर्ने आर्थिक अभावकै कारण उनको क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन । बुढालाई रोग लाग्यो, पैसा नभएर औषधी उपचार गर्न नसकेको बताउँदै उनले उपचारमा आर्थिक सहयोगको अपिल गरिन् ।  आफ्नो ऋणमाथि ऋण  रहेको र भात खानै मुस्किल भएको अवस्थामा  औषधीकाका लागि कहाँबाट पैसा जुटाउनु भन्ने पिरलो परेको उनले बताइन् । 

घरमै थलिएका ताजपुरियाको अवस्था थप जटिल हुँदै गएको हुँदा उपचारमा सहयोग पुर्याउन उनकी पत्नी कुलोमायाले दातासँग अपिल गरेकी छन् । वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजमा जाँच गर्दा ताजपुरियाको फोक्सोको क्यान्सर पत्ता लागेको थियो । खर्चकै अभावका कारण उहाँलाई क्यान्सर उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान नसकिएको हो ।

उनको उपचार सुरु गर्न कम्तीमा चार पाँच लाख रुपैयाँ चाहिने भएकाले चन्दा सहयोग जुटाउने प्रयास गरिरहेको  वडाध्यक्ष भण्डारीले बताए । जायजेथा केही नभएकाले उनको परिवारले खर्च जुटाउन सक्ने कुनै सम्भावना नरेको भण्डारीले बताए ।  

ताजपुरिया परिवार निर्धन लघुवित्त वित्तीय संस्थाको सदस्य रहेको छ । आफ्ना सदस्यको स्वास्थ्योपचार गर्ने हैसियत नभएको देखेर निर्धन लघुवित्तले १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । निर्धन लघुवित्तको गौरादह शाखा प्रमुख विवश घिमिरेले ताजपुरियाको घरमै पुगेर सहयोग हस्तान्तरण गर्दै आफ्ना समूह सदस्यभित्र कुनै समस्या परेका खण्डमा सानो रकम सहयोग पुर्याउने संस्थाको उद्देश्य रहेको बताए ।

ताजपुरिया परिवारको उपचारका लागि खर्च गर्ने कुनै स्रोत नभएको जनाउँदै वडाध्यक्ष भण्डारीले दाता र सङ्घसंस्थाबाट चन्दा उठाउनुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले पहल गरिरहेकोसमेत उनले जानकारी दिए। नगरपालिकाले ताजपुरियाको उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान एम्बुलेन्स दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर