• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अबको प्राथमिकता के हो ?

रसिया–युक्रेन युद्धको कारण युरोपको जस्तो धनी मुलुकहरुमा पनि खाद्यान्नको संकट पर्न थालेको छ । यही युद्धका कारण भारतले युरोपमा गहुँ निर्यात गर्न थाल्यो भने नेपालमा निर्यात गर्ने चामलको निर्यात शुल्कमा भारी बृद्धि गर्यो ।

यसले गर्दा अहिले नेपाली बजारमा खाद्यान्नको बजार भाउ निकै बढेको छ । यी प्रकरणहरुबाट एउटा कुरो के स्पष्ट हुन्छ भने देशले जति प्रगति गरे पनि यदी खाद्यान्नमा आत्मनिर्भर छैन भने कुनैपनि बेला देशमा खाद्यसंकट आउन सक्छ ।

राजा महाराजा होस् वा सामान्य नागरिक होस् मानिसलाई सबैभन्दा पहिला चाहिने कुरो भनेको मुखमा लाउने माड नै हो । अरुकुरा भनेका सबै तपसीलका कुरा रहेछन् । मानिसले खान नपाएर भोकभोकै मर्न पर्यो भने त्यहाँभन्दा ठूलो संकट अरु के हुन सक्छ र ?

नेपाल एउटा कृषि प्रधान देश हो, नेपाल जलस्रोतको धनी देश हो भनेर स्कूल देखिनै पढेको हो । ठूला ठूला राष्ट्रिय अन्तराष्ट्रिय सेमिनार हरुमा विद्वानहरूले कार्यपत्रहरु प्रस्तुत गरेकै हुन्ग र रिरहेकै छन् । तर, देशमा आउने बैदेशीक सहयोग खाद्यान्नको उत्पादकत्व र उत्पादन बढाउने कुरामा भन्दा गित गाएर नाच्ने कुरामा बढी खर्च भएको छ । यो कटु सत्य हो ‌।

चाहे त्यो नागढुँगा सुरुङ होस्, चाहे त्यो शिवपुरीको डाँडामा बनाइएको बर्षाको पानी संकलन गर्ने पोखरी होस्, चाहे बिभिन्न एनजिओरआइएनजीओ वालाको थरिथरिका शसक्तिकरण कार्यक्रमहरु हुन् देशमा खाद्यान्नको आयात प्रतिस्थापन गर्ने तर्फ यी योजनाहरुको कुनै योगदान छैन ।

अब अर्थमन्त्रालयका पदाधिकारीहरुले बैदेशीक ऋण सम्झौतामा सही गर्दा स्पष्ट शब्दमा भन्न सक्नु पर्यो – ‘हाम्रो अहिलेको राष्ट्रिय प्राथमिकता भनेको आयात प्रतिस्थापन गर्ने आयोजना बनाउने हो । यसमा पनि खाद्यान्नको आयात प्रतिस्थापन गर्ने योजनाहरु प्रमुख हुन् । त्यसैले हजुरहरुको सहयोग यो–यो योजनामा हुन पर्यो भनेर ।’ मन्त्रालयका पदाधिकारीहरुले एक दुइ तिन चार गरेर योजनाको लिष्ट दिने हो । जे पायो त्यही योजना ल्याएर भावि पुस्ता लाई ऋणमा डुबाउने होइन ।

कुनै कारणवस छिमेकमा खाद्यान्न संकट भयो भने हामीकहाँ ठूलो अनिकाल नआउला भन्न सकिन्न । रुस र युक्रेन लडे झैँ अरु साँढेहरु पनि नलड्लान भन्ने के ग्यारेण्टी छ र ?  हाम्रो राष्ट्रिय प्राथमिकता भनेको खाद्यान्नको आयात प्रतिस्थापन गर्ने योजना निर्माण तर्फ नै केन्द्रित हुनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर