• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

सभामुख घिमिरेको अभिव्यक्तिप्रति महासंघको आपत्ति

काठमाडौं । सभामुख देवराज घिमिरेले दिएको विवादास्पद अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सभामुख घिमिरेले पत्रकार महासंघको टोलीसँग शुक्रबार पत्रकारहरू बिक्रीमा रहेको अभिव्यक्ति दिएका थिए । महासंघले सिंगो पत्रकारिता जगतलाई नै आरोपति गर्ने सभामुख घिमिरेको अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएको छ।

शनिबार विज्ञप्ति निकाल्दै महासंघका महासचिव रोशन पुरीले सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता नलिए कानूनीसहित दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

सार्वभौम संसद्‌को मूल नेतृत्वबाटै पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति आउनु दुखद भएको बताउँदै महासंघले अभिव्यक्ति फिर्ता लिन भनेको छ। महासंघले आरोप पुष्टि गर्न नभएर अभिव्यक्ति फिर्ता लिई सञ्चार क्षेत्रको अधिकार र स्वतन्त्रताप्रति प्रतिवद्धता जनाउन अनुरोध गरेको छ।

पुरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।
नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ । सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक उहाँको आधिकारिक धारणा आउन सकेन । महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहान्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष महासंघ आग्रह गर्दछ । सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ ।'

घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको र पत्रकारहरू बिक्रीमा रहेको बताएका थिए।

पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेर देशमा पीत पत्रकारिता डरलाग्दो गरी देखापरेको र त्यसको प्रभाव समाजमा परिरहेको उनको भनाइ थियो।

‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो। अन्यथा नलिनुहोला। यो पत्रकार महासंघ हो। त्यो खालको छैन। पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ। जे–जे कारणले भए पनि तिनीहरू प्रभावित छन्, 'उनले भनेका थिए, 'अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू। अब पत्रकारहरू बिक्रीमा छन्। बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ। किनेर गरेको छ । फकाएर गरेको छ। अनेक ढंगबाट गरेको छ। त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर