• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चिहानबाट निस्किन थालेका 'प्रेतात्मा'को नाममा

हुकुम प्रमांगी र बक्सिसको थितिविरुद्ध उर्लेका असंख्य संघर्षका ज्वारहरुलाई खुल्लम खुल्ला चुनौती दिँदै एक हुल प्रेतात्माहरु अहिले बर्बराउन थालेका छन् ।

अचम्म त के छ भने यी चिहान र गुफाबाट निस्केका इतिहासको रथलाई उल्ट्याउने सपना देख्ने प्रेतात्माहरु बक्सिसबाट बनेका कानूनहरुको परम्परा भत्काउँदा जनताले चुनेका प्रतिनिधिहरुले निर्माण गरेको सर्वोच्च संसदकै रोष्टमबाट खुलेआम कुर्लिरहेका छन् । 

कुनै बेला बेलुकीदेखि मध्यरातसम्म हरिया टाटेपाटे पोशाक लगाएका बन्दूकधारीहरु सञ्चारमाध्यममा सम्पादकको ढोकाबाहिर तैनाथ गरिएका हुन्थे । यी बुट्टेहरुको एउटै मनसाय विचारको नियन्त्रण हुन्थ्यो । त्यतिबेला अचेलजस्तो न्यू मिडिया र अनलाईनहरुको अस्तित्व थिएन ।

दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाहरुले सूचना सम्प्रेषणको मूल जिम्मेवारी निर्वाह गरेका हुन्थे । तर यी सूचनाहरु निर्वाध सम्प्रेषण गर्न बन्देज थियो । यतिसम्म कि सम्पादकीय लेखनमा समेत रातो मसीले केरिन्थ्यो । के लेख्ने, के नलेख्ने, के कुरा उल्लेख गर्ने, के नलेख्ने भन्ने कुरा सेन्सर गरिन्थ्यो । यो नमान्ने अवस्थामा ती सञ्चारकर्मी या सम्पादकको ज्यान नै जोखिममा जाने अवस्था हुन्थ्यो । 

यही तानाशाही व्यवस्थाविरुद्ध आम नेपाली जनता कुर्लिएर सडकमा ओर्लिए । एकातिर जनयुद्धले यो तानाशाहीतन्त्रका जरा–जरा हल्लाएका थियो ।

तानाशाहीको जगमा युगौंदेखि थुनिएका दलित, मधेसी, थारु, जनजाति, उपेक्षित वर्ग, भूगोल र जातिका जनताका आवाजहरु बन्दूकको साहससँगै मुखरित भएका थिए । अर्कोतर्फ आम नेपाली जनता तानाशाहीतन्त्रबाट मुक्तिको खोजीमा थिए । जनयुद्ध र जनआन्दोलनको सम्मिश्रणबाट आवाज थुन्नेहरु चिहानमा पुगे । उनीहरुको अस्तित्व नामेट भयो । 

यतिमात्रै होइन, नेपाली जनताले आफ्नो भाग्य र भविष्यको फैसला गर्न सक्ने, आफ्ना आवाजहरु बिना संकोच निर्धक्कसाथ राख्न सक्ने, आफ्नो प्रतिनिधित्व राज्यका सबै निकायमा खोज्न सक्ने व्यवस्थाको निर्माण भयो । यो नेपालको इतिहासमा चानचुने कुरा थिएन । 

तर बिडम्बना, बोल्न पाउने, लेख्न पाउने, निर्धक्क वाक स्वतन्त्रताको अभ्यास गर्न पाउने यही संविधानको अधिकार प्रयोग गर्दै यही संविधान र व्यवस्थाविरुद्ध पवित्र निकाय संसदमा तिनै प्रेतात्माहरु कुर्लिन पुगेका छन् । जबकि हिजो यी प्रेतात्माहरुले खोजेको राज्यका मिडिया जस्तो अंग समेत सेन्सरमा परेका बेला आज त्यही जनताको संघर्षका कारण यिनीहरु संसदमा यही संविधान र व्यवस्थाविरुद्ध बोल्न पाएका छन् भन्ने कुरा उनीहरुले बिर्सिन्छन् । 

उनीहरु यो व्यवस्था उल्ट्याउन चाहन्छन् । 
उनीहरु पुनः त्यही बुट र बन्दूकको नोकमा सम्पादकीय लेख्नुपर्ने अवस्था सिर्जना गर्न चाहन्छन् । 
उनीहरु त्यही रैतीहरुलाई कज्याउँदै केही सीमित सामन्तहरुले रजाई गर्ने परिपाटी भित्र्याउन चाहन्छन् । 
उनीहरु इतिहासको चिहानमा गाडिएको राजतन्त्रलाई ब्यूँताउन चाहन्छन् । 
उनीहरु २००७ सालदेखि २०६३ सालसम्म नेपाली जनताले गरेको अथक संघर्ष र बलिदानलाई कुल्चिन चाहन्छन् ।

प्रेतात्माहरु इतिहासको रथ उल्ट्याउन चाहन्छन् । 

यो फेरी पनि सामान्य परिघटना कदापी होइन । २०६२, २०६३ को आन्दोलन कुनै सनक थिएन । न त २०५२ सालमा एउटा सानो फौजी कार्वाहीबाट सुरु भएर विश्व नै हल्लाउने गरी विकास भएको जनयुद्द चानचुने परिघटना थियो ।

यदि जनयुद्द नहुन्थ्यो भने रत्नपार्कमा १० बजेदेखि ४ बजेसम्म सिमित  जनआन्दोलनको बलमा मात्रै तानाशाहीको अन्त्य सम्भव थिएन ।  जनयुद्धको समिश्रणबाट मात्रै जनआन्दोलनमा समेत नयाँ उभार आएको तथ्य लुकेको छैन । 

तानाशाहीविरुद्धको आन्दोलन कसैको रहर थिएन । बरु यो नेपाली जनताको चाहना थियो । जनआन्दोलनमा उर्लिएको लाखौं जनताको महासागर कसैले जबर्जस्ती सडकमा ल्याएको थिएन । मुख्य शहरमा एउटा घरको छतमा थाल ठट्याउने बित्तिकै सेकेण्डभरमै चोकचोकमा हजारौं जनता कुनै करकापमा ओर्लिएका थिएनन् । 

सेनाको बन्दूकको निशानामा समेत मिडियाले निर्धक्कसँग आफ्नो धर्म निर्वाह गरि नै छाडे । किनभने सिँगो देशले तानाशाहीतन्त्रबाट मुक्ति खोजेका थिए । 

तर अहिले संविधान कार्यान्वयनमा देखिएका कैयन जटिलता र राजनीतिक दलहरुबीच देखिएका सौदाबाजीबाट उत्पन्न असन्तुष्टिबाट फाइदा उठाउँदै गुफामा थुनिएका प्रेतात्माहरु पुनः तानाशाहीतन्त्र ब्यूँताउने सपना देखिरहेका छन् । 

उनीहरुले बोल्ने रोष्टम निर्माण हुन हजारौं नेपाली जनताले बलिदान गरेका छन् । रगतले लत्पतिएको जनताको संसदको रोष्टममा उभिएर उनीहरुले यही जनताको बलिदानमाथि प्रश्न उठाइरहेका छन् ।

नैतिकता र इमान बन्धकी राख्दै उनीहरु हाकाहाकी संविधान र व्यवस्थामाथि प्रश्न उठाइरहेका छन् । हेक्का रहोस्, नेपाली जनतामा दलीय राजनीतिका कैयन पक्षमा असन्तुष्टि कायम हुन सक्ला, राजनीतिक दलहरुप्रति वितृष्णा जन्मेको होला तर नेपाली जनताले तानाशाही तन्त्रको वकालत कहिल्यै गरेनन् र गर्दैनन् पनि । नेपाली जनता परिवर्तनकामी जनता हुन । फेरी बन्दूकको नोकमा मुखमा ताला ठोक्ने व्यवस्था नेपाली जनताले किमार्थ स्वीकार्दैनन् । 

इतिहासलाई पुनरुत्थान गर्ने शक्तिहरु अहिले सल्बलाए पनि त्यसको प्रतिरोध नेपाली जनताले गर्नेमा कुनै शंका गर्न सकिन्न । मुख्य शर्त भनेको परिवर्तनकामी राजनीतिक दल र शक्तिहरु जनताको अपेक्षा पुरा गर्ने दिशामा सच्चिनु जरुरी छ । तर परिवर्तन नै नेपाली राजनीतिक प्रवृत्तिको मियो बनेको अवस्थामा फेरी राजतन्त्र या त्यही प्रकृतिको तानाशाहीतन्त्र स्थापना गर्न खोज्नेहरुका पक्षमा भने नेपाली जनता कहिल्यै पनि समर्थनमा ओर्लिने देखिन्न । 

नेपालको संविधानले दलहरुलाई यथास्थितिमा बस्ने छूट दिएको छैन । उनीहरुले नेपाललाई समृद्ध र समाजवादतर्फ अघि बढाउनैपर्छ । संविधानले परिकल्पना गरेको सामाजिक न्याय स्थापना गर्नैपर्छ ।

जनताका दैनिक आवश्यकता पुरा गर्नैपर्छ । किनभने हाम्रो संविधान विश्वकै उत्कृष्ट संविधानको श्रेणीमा पर्दछ । यसले युगौंदेखि थुनिएका अधिकारलाई संस्थागत गरेको छ । र, यो संविधानले कार्यान्वयनका पक्षमा देखिएका जटिलता या समस्याको बहानामा फेरी तानाशाहीतन्त्रतर्फ फर्किने छूट पनि दिएको छैन । 

त्यसैले परिवर्तनकामी जनताले परिवर्तनकारी राजनीतिक शक्तिहरुलाई खबरदारी गर्दै इतिहासमा बगेको रगतको अपमान गर्नेगरी कुर्लिन थालेका प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरुलाई निर्मममतापूर्वक कुल्चिनु जरुरी छ ।

हामीलाई फेरी इतिहासकै रछ्यानमा फर्किने छूट छैन । हामी अघि बढ्नैपर्छ । दलहरुलाई सच्च्याउँदै हाम्रो संघर्षको अपमान गर्दै हजारौं, लाखौं जनताको बलिदानको अपमानसहित फेरी पछाडि फर्किन खोज्नेहरुलाई निर्ममतापूर्वक खेद्नैपर्छ । 

हामी परिवर्तनकारी जनता हौं । हामीले यही परिवर्तनका लागि ठूलो मूल्य चुकाएका छौं । यदि कसैले हाम्रो यो बलिदान, त्याग र समर्पणलाई कमजोर ठानेर फेरी पछाडि फर्किन खोज्छ भने हामीले त्यसको कडा प्रतिकार गर्नैपर्छ । 

अहिले केही थान यी प्रेतात्माहरु गुफाबाट निस्केर हामीलाई खुल्लमखुल्ला चुनौती दिइरहेका छन् । के हामी चुप लागेर बस्ने ? के हामीले हाम्रो गौरवशाली बलिदान र संघर्षको इतिहासमाथि फेरी तानाशाही बुटहरु दौडिन दिने ?

यो फैसला जनताले गर्नैपर्छ । 

हामी सच्चिँदै अघि बढ्नैपर्छ । हामीलाई पछाडि फर्किने छुट छैन । 

हाम्रो बलिदानलाई अपमान गर्नेहरुलाई निर्ममतापूर्वक कुल्चिनैपर्छ । हामीलाई इतिहासको अपमान गर्न दिने छूट छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर