कोशी प्रदेश नामकरण विवाद: यी हुन् अहिलेसम्म छानबिन समितिले गरेका काम

विराटनगर । कोशी प्रदेशको नामकरणका विषयलाई लिएर चैत ५ गते विराटनगरमा भएको घटनाको छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिले काम सुरु गरेको छ । समितिले दुई दिनअघि अर्थात चैत १३ बाट काम सुरु गरेको हो ।

सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा गठन भएको ६ सदस्यीय छानबिन समितिले दुई दिनको अवधिमा विभिन्न कामहरु गरेको छ । कोशी प्रदेश खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनमा सहभागी पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएपछि संघीय सरकारले छानबिन समिति गठन गरेर काम थालेको हो ।

समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक जिल्ला अधिकारी सरद पोखरेलका अनुसार यो अवधिमा मोरङ र सुनसरीका सुरक्षा प्रमुखहरुसँग छलफल भएको छ । समितिले मुख्यमन्त्री कार्यालयका कर्मचारी र आन्दोलन भएको आसपासका स्थानीयहरुसँग घटनाका बारेमा साधेपुछ भएको पोखरेलले बताए ।

उक्त आन्दोलनका परी घाइते भएका सुरक्षाकर्मीहरुसँग पछि समितिले भेटघाट गरी आवश्यक छलफल गरेको छ । मृतक लाजेहाङको उपचार भएको बी।पी। स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुसँग छलफल गरेर छानबिन समितिले मृतकको घरमा गएर बुबाआमा, आफन्त, छिमेकीहरुसँग आवश्यक छलफल गरेको सहायक प्रजिअ पोखरेलले बताए । यस्तै नेपाल सरकारका तर्फबाट समवेदनासमेत व्यक्त गरिएको उनले बताए ।

छानबिन समितिले आज मोरङका राजनीतिक दल, मानव अधिकारकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुसँग पमि सर्वदलीय बैठक आयोजना गरी अन्तरक्रिया कार्यक्रम गरेको छ । मृतकको शवको भने अझैसम्म पनि पोस्टमार्टम भएको छैन् । पोस्टमार्टमका विषयमा परिवार सकारात्मक रहेको छानबिन समितिको भनाइ छ ।

समितिले आन्दोनलको नेतृत्व गरिरहेका विभिन्न संघसंगठनका नेतृत्वहरुसँग पनि छलफल अघि बढाएको जनाएको छ । छानबिन समितिमा सुवेदी र पोखरेलसहित नेपाल प्रहरीका उपरीक्षक नवीनराज राई, सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजङ बहादुर चन्द र उपसचिव कृष्ण बहादुर शाही छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर