मधेस प्रदेशमा बढ्यो नक्कली नोटको तस्करी

वीरगञ्ज । पछिल्लो एक महिनाको अवधिमा मधेस प्रदेशमा नक्कली नेपाली नोट र प्रतिबन्धित भारतीय नोटको तस्करी बढेको छ। प्रदेशका आठवटै जिल्ला भारतसित सिमाना जोडिएका छन् ।

खुला सिमानाकै कारण विभिन्न सामान भारतबाट नेपालमा तस्करी हुँदै आएको छ। तर, पछिल्लो एक महिनाको अवधिमा भने प्रदेशका जिल्लामा नक्कली नेपाली नोट र प्रतिबन्धित भारतीय नोटको भारतबाट तस्करी हुने क्रम बढेको देखिन्छ।

पछिल्लो एक महिनाको अवधिमा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएका नेपाली नक्कली नोट र भारतीय प्रतिबन्धित नोटको परिमाणले पनि नोटको तस्करी बढेको देखिन्छ। नेपालमा भारतीय पाँच सय र दुई हजारको नोट प्रतिबन्धित छ। तर, यसको तस्करी भने भएको पाइन्छ। पर्साको वीरगञ्जबाट प्रहरीले वैशाख १९ गते प्रतिबन्धित ६ लाख रुपैयाँ बराबरको भारतीय नोटसहित वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको थियो।

प्रहरीले नेपालमा प्रतिबन्धित पाँच सय र दुई हजारको भारतीय नोटसहित उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर ग्राम महुई सुघरपुर बस्ने विनोदकुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर अमितकुमार सिंह छन्। वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा सिंह र गुप्तालाई प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरेको हो।

भारतबाट वीरगञ्जतर्फ आइरहेको गुप्ताको साथबाट दुई लाख बरामद गरिएको र सिंहको साथबाट भारतीय प्रतिबन्धित नोट तीन लाख ७५ हजार भारु बरामद गरिएको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए। पर्सामा नक्कली नोट र प्रतिबन्धित भारुको तस्करी रोक्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको डिएसपी बुढाथोकीले बताए। यसमा संलग्न रहेकाहरू आफँै भने बजारमा नोट लिएर नपुग्ने गरेको बरु अरुलाई नोट दिएर साट्ने गरेको उनको भनाइ छ। पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बुढाथोकीले बताए।

यस्तै, वैशाख १२ गते धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट प्रहरीले धनुषा विदेह नगरपालिका–६ बस्ने २५ वर्षीय अनुकुमारी साहले बोकेको कालो ब्यागबाट सात लाख ७१ हजार पाँच सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको थियो।

त्यस्तै, वैशाख ४ गते महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित दसगजा नजिकै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका–१ बस्ने कृष्णकुमार यादवको साथबाट नेपाली १ हजारको नक्कली नोट थान १ एक फेला परेको थियो।

मधेस प्रदेशमा नक्कली र भारतीय प्रतिबन्धित नोटको तस्करी बढेकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाइएको मधेस पदेशका प्रहरी प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर