• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विराटनगरमा शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्मिए

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्माएकी छन् । सप्तरीको कल्याणपुरकी दुखनीदेवी भगत चौधरीले छातीदेखि पेटसम्मको शरीरको भाग सँगै गाँसिएका जुम्ल्याहा छोरी जन्माएकी हुन् ।

उनीहरूको छातिदेखि माथि र पेटदेखि मुनिको भाग भने बेग्ला बेग्लै छ । ३।४ किलोग्राम तौल भएका दुबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा।रविनराज सिंहले जनाएका छन् । कोशी अस्पतालमा पहिलो पटक यस्तो बच्चा जन्मिएको हो ।

चिकित्सकहरूका अनुसार यो दुर्लभ घटना हो । ५० देखि ६० हजारमध्ये १ जनामा यस्तो समस्या देखिन्छ । यस्ता शिशुको बाँच्नसक्ने क्षमता ५ देखि २५ प्रतिशत मात्र हुने चिकित्सकहरूको भनाई छ । शल्यक्रिया गरेर अलग गराउन सकिएन भने उनीहरूको ज्यान जाने खतरा बढी हुन्छ । आन्द्रा, मुटु, कलेजोलगायत शरीरका भित्री अंगहरू नजोडिएको र बेग्ला बेग्लै भएको अवस्थामा मात्र शल्यक्रिया गरेर अलग गराउन सकिन्छ । भित्री अंग फरक फरक नभएमा बाँच्नसक्ने अवस्था न्यून हुने चिकित्सकहरूको भनाई छ ।

यस्तो परीक्षण र शल्यक्रिया कोशी अस्पतालमा नहुने भएकाले उनलाई अन्यत्र लैजानुपर्ने अवस्था छ । तर, आफन्त पनि नआएको र उनीसँग पैसा पनि नभएकाले समस्या भएको छ । आफ्नो बारेमा राम्रोसँग बताउँन नसक्ने चौधरी गत बिहीबार अस्पताल भर्ना भएकी थिइन् । सोही दिन शल्यक्रिया गरेर जोडिएका जुम्ल्याहा बच्चा निकालिएको हो । उनलाई एक महिलाले अस्पताल ल्याएर छोडेको भएपनि उनको हेरचाहका लागि भने आफन्त कोही आएका छैनन् । प्रसूति वार्डमा रहेका उनीहरूलाई अस्पतालकै कर्मचारी र अन्य बिरामीका आफन्तले हेरचाह गरिरहेका छन् ।

उनले आफू सिरहाको लाहानमा डेरा गरेर बस्ने गरेको र पति आनन्द भगत मोटरसाइकल दुर्घटनामा परेर खुट्टा भाँचिएकाले अस्पताल आउँन नसकेको बताएकी छन् । चौधरीका अनुसार उनका यसअघि दुई छोरी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर