• २०८१ असार २ आइतबार
  • Sunday, 16 June, 2024

बिहे नगरी ‘बीए’ गर्ने छात्रालाई एक लाख रुपैयाँ

सिन्धुली । मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ । स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छात्रालाई गाउँपालिकाले प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिन थालेको हो ।

छात्रालाई प्रोत्साहन र स्थानीय विद्यालयको प्रवर्धन गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बताए । यही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँच जनालाई जनही एक लाख हस्तान्तरण गर्‍यो । मरिण–७ का चार र वडा नं ६ की एक किशोरीलाई रकम प्रदान गरिएको हो। अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट एक लाख बुझेकी मरिण–७ जयमंगलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुशी बनाएको बताइन् । उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग पुग्ने उनको भनाइ छ ।
‘गाउँपालिकाको यस कार्यक्रमले बीचैमा पढाइ छोड्नेलाई फेरि पढ्न हौसला मिलेको छ’, उनले भनिन् ।

अहिले त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तर तेस्रो सेमेस्टर पढ्दै गरेकी महेश्वरताकी मनमाया कँडेल र उनकी बहिनी चित्रकुमारीले एकैसाथ गाउँपालिकाबाट एक/एक लाख प्रोत्साहन रकम पाए ।
‘दाजुभाइले बीचैमा पढाइ छोडे पनि हामीले परिवारको सहयोगमा पढिरहेका छौँ। गाउँपालिकाले पैसास्वरूप दिएको यो सम्मानले थप पढ्न हौसला बढेको छ’ मनमायाले भनिन्,। पैसाभन्दा पनि गाउँपालिकाभित्रै रोजगार पाएको भए पढेर बेरोजार बस्नुपर्ने थिएन। यो उमेरमा आएर पनि बुबाआमासँग खर्च माग्नुपर्ने बाध्यता हट्ने थियो।’

२०७८ मा स्नातक उत्तीर्ण गरेकी मरिण–६ छापकी विमला तामाङ अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर पहिलो सेमिस्टारमा पढ्दै छिन्। उनले गाउँपालिकाबाट पाएको रकम पढाइमै खर्च गर्ने सुनाइन्। एक लाख प्राप्त गरेकी रजनी मैनालीले भने शैक्षिक सुधारका लागि स्थानीय सरकारले थप नयाँ र दिगो हुने खालको कार्यक्रम ल्याउनुपर्ने बताइन्। 

संघीय सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सिर्जनशील छ। यस्तो कार्यक्रमले सामाजिक जागरण ल्याउने उनको भनाइ छ। ‘यो कार्यक्रमको ठूलो महत्त्व छ’, उनले भने, ‘ अरू पालिकाले पनि सिक्छन्।’

अभिभावक रमेश नेपालीले भने स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई एक लाख दिनुभन्दा पहिला घरायसी तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छोड्न बाध्य हुने विद्यार्थीका लागि सहयोग पुग्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । 

मरिणका विद्यालय तथा क्याम्पसको तथ्यांकलाई आधार मान्दा जति जति कक्षा पढ्दै जान्छ, विभिन्न समस्याका कारण उतिउति पढाइ छोड्ने विद्यार्थीको संख्या बढ्दो छ। मरिण बहुमुखी क्याम्पस प्रमुख खेमहरि बरालका अनुसार स्नातक तहको पहिलो वर्ष ६० जना विद्यार्थी भर्ना भएका थिए। चौथो वर्षको जाँच ११ जनाले मात्रै दिएका छन्। गाउँमै रोजगारी भएका विद्यार्थी स्थानीय क्याम्पसमा पढ्ने र बेरोजगार भएकाहरू बीचैमा पढाइ छोडेर कमाउन शहर जाने गरेको उनले बताए। 

स्थानीय क्याम्पसबाट स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख दिने कार्यक्रम स्वागतयोग्य रहेको बरालले बताए। ‘यो कार्यक्रमको प्रभावले अन्यत्र विद्यालय, क्याम्पसमा पढिरहेका विद्यार्थी आफ्नै गाउँठाउँको विद्यालय फर्किनेछन्’,उनले भने,अविवाहितलाई मात्रै प्रदान गरिने भएकाले बालविवाह न्यूनीकरण हुनेछ। बीचैमा पढाइ छोडेकाले पढ्न शुरु गर्ने छन्।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर