• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

श्रीलंका टप्पुमा प्रसूति गृह

सुनसरी । भौगोलिक रूपमा पछि परेको वराहक्षेत्र–६ र ९ स्थित श्रीलंका टप्पुमा गर्भवती महिलाहरूलाई प्रसूति गराउन वर्थिङ सेन्टर (प्रसूति गृह) निर्माण भएको छ । वराहक्षेत्र नगरपालिकाले करुणा फाउण्डेशन र जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको सहयोगमा बर्थिङ सेन्टर निर्माण गरेको हो ।

आर्थिक रूपले कमजोर, शैक्षिक रूपले समेत पछि परेका टप्पुका गर्भवती महिलाहरूलाई गाउँमा नै प्रसूति सेवा दिने उद्देश्यले भवन निर्माण गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

२ कोठे नयाँ भवन निर्माण, उपकरण र स्वास्थ्यकर्मीलाई प्रसूति सम्बन्धी तालिम समेत प्रदान गरिसकेको र अब चाडै सेवा प्रदान गरिने नगर प्रमुख कार्कीले बताए । हाल श्रीलङ्का टप्पुका गर्भवती महिलाहरू चक्रघट्टि, रामपुर र पुरनदहका स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने गरेका छन् ।

स्थानिय सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज पाण्डव चन्दवशीका अनुसार नवजात शिशुहरूलाई खोप लगाउने आधारमा टप्पुमा मासिक रूपमा ५–६ जना गर्भवती महिलाहरू सुत्केरी हुने गरेका छन् । हालको जनशक्तिको अभावलाई पूरा गरेर प्रसूति सेवाको सुरु गरिने छ ।

सोमवार कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले समेत उक्त नवनिर्मित बर्थिङ सेन्टर भवनको निरीक्षण समेत गरेकी थिइन् । वर्थिङ सेन्टर निरीक्षण गर्ने कार्यक्रममा नगर प्रमुख कार्कीले मन्त्री लिम्बुसँग टप्पु र चतराकालागि एम्बुलेन्स र शव बहानको माग समेत गरेका थिए । वर्थिङ्ग सेन्टरमा थप उपकरण र जनशक्ति माग समेत मेयर कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर