• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

साम्यवादी नेता तथा चिन्तक ‘एन्टोनियो ग्राम्सी’ र उनका विचारहरूको अध्ययन

ग्राम्सीको कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्ष

एन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ।उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए। ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक मध्यमवर्गीय परिवारमा भएको थियो।उनका पिता फ्रान्सिस्को ग्राम्सी थिए भने माता गिसेपिना मर्सिया थिइन्।उनका पिता एक राजस्व अधिकारी थिए।२७ अक्टुवर १९०० मा उनकै राजनीतिक विरोधीहरूको कारणले भष्टाचारको झुटो मुद्दामा फ्रान्सिस्को ग्राम्सीलाई जेल हालिएको थियो।यसपछि ग्राम्सी परिवारको आर्थिक स्थिति खराब भएको थियो। ग्राम्सीकी आमाले अत्यन्तै कठिन अवस्थामा छोराछोरीहरूको पालनपोषण गरेकी थिइन्। ग्राम्सी आफ्ना माता-पिताका सात सन्तानमध्ये चौथो सन्तान थिए।आफ्नो पितासँग ग्राम्सी कहिल्यै निकट भएनन् तर उनलाई आमाप्रति भने धेरै लगाव र प्रेम थियो।उनको लचकता, कथा भन्ने र तीक्षण हास्यको उपहारले ग्राम्सीमाथि गहिरो प्रभाव पारेको थियो। मध्यमवर्गीय परिवारमा जन्मिएका ग्राम्सीको बचपनदेखि नै स्वास्थ्य अवस्था खराब थियो।विशेष रूपले मेरुदण्डको एक समस्याको कारणले उनको वृद्धि रोकिएको थियो।यो एक पेटको बिरामीको कारणले भएको थियो भनिन्छ।परिवारको आर्थिक स्थिति निरन्तर खस्कदै गएको थियो।यस्तो स्थितिमा उनकी आमाले ग्राम्सीलाई गाउँको एक स्कूलमा पढाउन शुरु गरिन्।

ग्राम्सीका पिता जेलबाट छुटेपछि उनको परिवारको आर्थिक स्थितिमा केही सुधार भयो।त्यसपछि ग्राम्सीले आफ्नो प्राथमिक शिक्षा सकेर सन् १९०८ मा काग्लियारीको उच्च विद्यालयमा भर्ना भए।यस क्रममा ग्राम्सीका दाजु जेनेरोको धेरै प्रभाव पर्नगयो।जेनेरो एक समाजवादी युवा थिए र उनले ग्राम्सीलाई पनि राजनीतिक शिक्षा प्रदान गरे।११ वर्षको उमेरमा प्राथमिक शिक्षा पूरा गरेपछि ग्राम्सीले घिलारजाको कर कार्यालयमा २ वर्षसम्म आर्थिक समस्यामा परेको परिवारको सहयोगको लागि काम गरे।यस क्रममा उनले स्वअध्ययन निरन्तर जारी राखे।पछि उनी स्कूल फर्किए ।उनी तीक्ष्ण बुद्धिका विद्यार्थी भएका कारणले उत्कृष्ट ग्रेडसहित उतीर्ण हुन्थे।ग्राम्सीले आफ्नो शिक्षा जारी राखे।यही समयमा ग्राम्सीले साम्राज्यवादको अधीनमा रहेको इटलीको खराब अवस्थालाई पनि नजिकबाट नियाल्ने र बुझ्ने काम गरे।यहीँबाट उनको मनमा सामाजिक परिवर्तन वा क्रान्तिको विचारले जन्म लियो।तर यस बेला उनको साम्राज्यवाद विरोधी क्रियाकलापमा सक्रियतापूर्वक लाग्नमा उचित समय थिएन।आफ्नो स्कूली शिक्षा पूरा गरेपछि ग्राम्सीले सन् १९११ मा ट्यूरिन विश्वविद्यालयमा प्रवेश गरे।यहाँ उनले प्रवेश परीक्षा पास गरेपछि छात्रवृत्ति पनि प्राप्त गरे। ट्यूरिनमा उनले साहित्य पढे र भाषाविज्ञानमा उनको गहिरो रुचि थियो, जसको अध्ययन उनले माटेओ बेर्टोलीको माध्यमबाट गरे। स्नातकपछि उनी पहिलो पटक मजदूर वर्गको संगठित क्षेत्रको सम्पर्कमा आए र त्यसपछि कम्युनिष्ट र समाजवादीहरूको सम्पर्कमा पनि आए। ट्यूरिनमा त्यतिबेला ट्रेडयूनियनको स्थापना भएको थियो र पहिलो औद्योगिक सामाजिक संघर्ष प्रकट भएको थियो।ग्राम्सीले समाजवादी सर्कलसँगै इटलीको मुख्य भूमिमा सार्डिनियन प्रवासीहरूसँगै सम्बन्ध स्थापित गरे।उनको दृष्टिकोणलाई सार्डिनियामा उनका पछिल्ला अनुभवहरू र मुख्य भूमिमा उनको वातारवरण दुवैद्वारा आकार दिइएको थियो। ग्राम्सीलाई यहाँबाट नै समाजवादी विचारधारमा गहिरो रुचि भयो।उनलाई यहाँ क्रोचेको मानिसले धर्मबिना पनि बाँच्नुपर्दछ भन्ने विचारलेल धेरै आकर्षित गरेको थियो।उनले अब गहन अध्ययन प्रक्रिया शुरु गरे।यसपछि सन् १९१३ मा ग्राम्सीले इटालियन समाजवादी पार्टीको सदस्यता लिए र सोसलिस्ट यूथ ग्रूपको सदस्यको रूपमा तीव्रतापूर्वक राजनीतिक बहसमा सक्रिय भए। पछि उनी पार्टीको एक प्रमुख स्थापनमा पुगी ट्यूरिनबाट रूसी क्रान्तिकारी प्रक्रियाको निरीक्षण गरेका थिए।आफ्नो बढ्दो राजनीतिक प्रतिबद्धतासँगै उनले सन् १९१५ को शुरुवातमा २४ वर्षको उमेरमा पढाइ छोडे।यस बेलासम्म उनले इतिहास र दर्शनको व्यापक अध्ययन प्राप्त गरेका थिए।विश्वविद्यालयमा उनी एन्टोनियो लाबरियोला, रोडोल्फो मोंडोल्फो, जियोवन्नी जेंटाइलका विचारहरूबाट प्रभावित भएका थिए।त्यसैगरी त्यसबेलाका सबभन्दा सम्मानित इटालियन बौद्धिक बेनेटेटो क्रोबाट पनि धेरै प्रभावित थिए।लाब्रियोलाले विशेषगरी हेगेलियन मार्क्सवादको एक ब्रान्डलाई प्रतिपादित गरेका थिए, जसलाई उनले प्रेक्सीको दर्शनको नाम दिएका थिए।त्यसपछि उनले विभिन्न अखवारहरूमा कैयौं लेखहरू प्रकाशित गराउन थाले भने ‘ग्रीदो डेल पोपोलो’ नामक पत्रिकाको सम्पादन कार्य पनि गरे।सन् १९१४ बाट ग्रीदो डेल जस्ता समाजवादी अखवारहरूको लेखनले ग्राम्सीलाई एक उल्लेखनीय पत्रकारको रूपमा ख्याति प्रदान गर्र्यो।सन् १९१५ सम्ममा एक एकेडेमिक विद्वानको रूपमा महान प्रतिज्ञाको बाबजुद ग्राम्सी इटालियन समाजवादी पार्टीको सक्रिय सदस्य बने।त्यसपछि एक पत्रकारिताको क्यारियर शुरु गरे, जसमा त्यसबेला इटलीमा उनलाई सबभन्दा धेरै महत्त्वपूर्ण आवाजहरूमध्येमा एक बनाइयो।अखवारमा उनको लेख र उनका थिएटर समीक्षाहरू प्रभावकारी र व्यापक रूपले पढियो।उनले नियमित रूपमा विभिन्न विषयहरूमाथि श्रमिकरूको अध्ययन मण्डलीको कुरा गरे।उनले यहाँ पेरिस कम्युन, फ्रान्सेली क्रान्ति, इटलीको क्रान्ति र कार्ल मार्क्सको लेखनलाई गहिरो रूपमा महसुस गरेका थिए। रोमेन रोल्याण्डको उपन्यासमा उनको एक निश्चित आत्मियता देखिन्थ्यो। सोसलिस्ट पार्टीको आधाकारिक मुखपत्रको सहसम्पादक बनेपछि राजनीतिक सिद्धान्तका एक सुस्पष्ट, पूर्ण लेखक ग्राम्सी अदम्य टिप्पणीकारसमेत प्रमाणित भए।उनले ट्यूरिनका सामाजिक र राजनीतिक जीवनका सबै पक्षमा लेख्दथे।ग्राम्सी यस बेला ट्यूरिन श्रमिकहरूको शिक्षा र संगठनमा पनि सामेल थिए।उनले सन् १९१६ मा पहिलो पटक सार्वजिक रूपले वार्ता गरेका थिए र रोमेन रोल्याण्ड, फ्रान्सेली क्रान्ति, पेरिस कम्युन र महिला मुक्ति जस्ता विषयहरूमा बातचित गरेका थिए।

सन् १९१५ देखि १९१७ को बीचमा उनले मार्क्सका रचनाहरूको राम्रोसँग अध्ययन गरे र त्यतिबेलाको रूसी क्रान्तिबाट पनि महत्पपूर्ण प्रेरणा प्राप्त गरे।यसपछि ३० सेप्टेम्बर १९१७ मा उनलाई ट्यूरिन सोसलिस्ट पार्टीको नेता चुनियो।त्यसपछि उनको राजनीतिक सक्रियता शुरु भयो।अगस्ट १९१७ को क्रान्तिकारी आन्दोलनपछि ग्राम्सी ट्यूरिनका प्रमुख समाजवादीहरूमध्ये एक बने।उनले अखवारको सम्पादकको काम पनि निरन्तर अगाडि बढाइरहे। ग्राम्सीले इटालीका समाजवादीहरूलाई एक क्रान्तिकारीको रूपमा राष्ट्रिय भावनातिर मोड्नको लागि एक अवसरको रूपमा हस्तक्षेपको उपयोग गर्ने प्रयत्न गरे।यही बेला उनले सांस्कृतिक कार्यहरूसँगै राजनीतिक र आर्थिक कार्वाहीको एकीकरणको आवश्यतालाई महसुस गरे, जसको कारण ट्यूरिनमा एक सर्वहारा सांस्कृतिक संघको गठन भयो। यसपछि उनले इटलीमा समाजवादी क्रान्ति सफल बनाउनको लागि श्रमिकहरूमा क्रान्तिकारी चेतना प्रवाह गर्ने काम गर्नथाले।उनले मजदूरहरूको दुःख-कष्टको मुख्य कारण पूँजीवाद नै हो भन्ने कुरा स्पष्ट रूपले बताए।र, सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने मार्क्सवादी सिद्धान्तको समर्थन गरे।पहिलो विश्वयुद्धपछि इटालीमा चारैतिर अराजकताको वातावरण थियो।यस्तो अवस्थामा ग्राम्सीले इटलीमा मजदूर परिषदहरूको निर्माणमा जोड दिए ताकि देशलाई आर्थिक अराजकता र साम्राज्यवादबाट मुक्त गराउन सकियोस्।बोल्सेभिक क्रान्ति सफल भएपछि ग्राम्सीको क्रान्तिकारी क्षेत्र झन व्यापक भयो र युद्धको बाँकी समयको लागि र त्यसपछिका वर्षहरूमा उनले रूसी क्रान्तिकारी नेतृत्वका तरीका तथा लक्ष्यहरूसँग र उन्नत पूँजीवादी संसारमा समाजवादी परिवर्तनको कारणसँग स्वयंलाई परिचित गराए। सन् १९१९ को वशन्तमा ग्राम्सीले एन्जेलो तस्का, अम्बर्टो टेरासिनी र तोग्लियटीसँग मिलेर द न्यू अर्डर ए विक्ली अफ सोसलिस्ट कल्चरको स्थापन गरे, जुन इटलीमा वामन्थीहरूको बीचमा प्रभावशाली बन्नगयो। यसले यूरोप, रसिया र अमेरिकामा राजनीतिक र साहित्यिक धाराहरूमा धेरै ध्यान दियो।त्यसपछि ग्राम्सीले आफ्नो अधिकांश समय फ्याक्ट्री काउन्सिल मुभमेन्टको विकासको लागि र क्रान्तिकारी पत्रिकारिताको लागि समर्पित गरे, जसले गर्दा जनवरी १९२१ मा पार्टीको लिवोर्नो काँग्रेसमा पीसीआइभित्र कम्युनिष्ट अल्पसंख्यकसँगै तिनीहरूको नेतृत्व गरे।अब उनी पीसीआईको केन्द्रीय समिति सदस्य बने।उनी फाँसीवादी आन्दोलनको शुरुवातमा इटली वामपन्थीहरूको सबभन्दा सक्रिय प्रतिनिधिहरूमध्ये एक थिए।उनले के भविष्यवाणी गरेका थिए भने मुसोलिनीको आन्दोलनको उदयको विरुद्धमा एकीकृत कार्वाही नगरून्जेलसम्म इटलीले लोकतन्त्र र समाजवाद दुवैबाट एक विनाशकारी हारको सामना र्गनुपर्ने हुन्छ।उनले सन् १९२१ मा पार्टी संगठनलाई तीव्रतापूर्वक विस्तार शुरु गरे र उनी कोमिन्टर्न एवं लेनिनसँग पनि जोडिए।

सन् १९२२ मा ग्राम्सीले नयाँ पार्टीको प्रतिनिधिको रूपमा रूसको यात्रा गरे।यहीं नै उनको जूलिया शुचटसँग भेट भयो।उनी एक युवा भायोलिन वादक थिइन्।उनीहरूले सन् १९२३ मा विवाह गरे।उनीहरूबाट डेलियो र गिउलियानो गरी दुई छोराहरूको जन्म भयो।यद्यपि ग्राम्सीले आफ्नो दोस्रो छोरालाई कहिल्यै देखेनन्।

सन् १९२२ को अन्त र १९२३ को शुरुवातमा मुसोलिनी सरकारले विपक्षी दलहरूको विरुद्धमा दमन अभियान शुरु गर्र्यो, जसमा बोर्डीगासहित अधिकांश पीसीआई नेतृत्वलाई गिरफ्तार गर्यो र फाँसीवादी मुसोलिनीले साम्यवादीहरूलाई पक्रिएर जेलमा हालिदियो।ग्राम्सीले सन् १९२३ को अन्तमा भियनाको यात्रा गरेका थिए, जहाँ उनले एक प्रमुख हंगेरियन मार्क्सवादी चिन्तक जर्ज लुकाचसँग भेट गरे र आफ्नो बौद्धिक कार्यलाई आकार दिइरहेका अन्य मार्क्सवादी कम्युनिष्ट बुद्धिजीवीहरूलाई पनि भेटे।उनले पार्टीलाई पुनर्जीवित गर्ने कोशिस गरे।  गिरफ्तारीबाट बच्नको लागि ग्राम्सी अब रूसमा नै रहन लागे र त्यसपछि अस्ट्रिया गए र इटालियन समाजवादी पार्टीको नेतृत्व प्रदान गर्नतिर लागे। कम्युनिष्टहरूमाथि गरिएको मुसोलिनीको अत्याचारहरूबाट मुक्ति पाउनको लागि उनले मजदूर वर्गलाई नयाँ शिराबाट संगठित गर्ने कोशिस गरे। सन् १९२४ सम्म आइपुग्दा ग्राम्सीले पीसीआईको प्रमुखको रूपमा मान्यताप्राप्त गरिसकेका थिए।उनले वेनेटोको लागि उपप्रमुखको रूपमा चुनाव जिते र पार्टीको आधिकारिक समाचार पत्र शुरुवातको आयोजना गरे, जसमा रोममा यूनिटी भनियो।यद्यपि यसको परिवार मस्कोमा रोकिएको थियो।सन् १९२६ को ल्योन काँग्रेसमा ग्राम्सीको शोधले इटलीबाट जनतन्त्र बहाल गर्नको लागि एकजुट मोर्चाको आव्हान गर्र्यो।  सन् १९२६ मा मजदूर र किसानहरूको क्रान्तिकारी परिषदहरूको निर्माण शुरु गर्न थाले। ८ नोभेम्बर १९२६ मा फाँसीवादी सरकारले विभिन्न आपतकालीन कानूनहरूको एक लहर लागू गर्र्यो। एन्टोनियो ग्राम्सीको सक्रिय क्रान्तिकारी गतिविधि बढ्दै गएपछि फाँसीवादी पुलिसले आफ्नो संसदीय प्रतिरक्षाको बाबजुद ग्राम्सीलाई गिरफ्तार गर्र्यो र जेलमा हाल्यो तर आरोप प्रमाणित नभएपछि उनलाई रिहा गरियो। ९ फेब्रुअरी १९२७ उनीमाथि पुनः अर्को आरोप लगाइयो।अन्य इटाली कम्युनिष्ट नेताहरूसँगै ४ जुन १९२८ मा उनलाई आजीवन कारावासको सजाय सुनाइयो र उनलाई ट्यूरिनको जेलमा पठाइयो।जेलमा उनको स्वास्थ्य नराम्रोसँग बिग्रियो।उनका दाँत झरे, पाँचन प्रणाली खराब भएर ठोस खाना खान नसक्ने भए।उनलाई रगत उल्टी हुन थाल्यो।टाउको दुखाई सहन नसकेर उनी टाउको ठोक्न समेत थालेका थिए।त्यसपछि क्याम्ब्रिज युनिभर्सिटीमा पियरो श्राफा र ग्राम्सीको भाउजु तातियानाद्वारा आयोजित एक अन्तर्राष्ट्रिय अभियानमा ग्राम्सीको रिहाइको माग गर्दै आन्दोलन शुरु गरिएको थियो।त्यसपछि सन् १९३३ मा उनलाई ट्यूरिनबाट फोर्मियाको एक क्लिनिकमा लगियो, तर पनि उनलाई त्यहाँ पर्याप्त चिकित्सकबाट वंचित राखियो। उनी फोर्मियाको क्लिनिकमा गार्डको अधिनमा थिए, दुई वर्षपछि उनलाई अगस्ट १९३५ मा गार्डको अधीनमा रोमको क्विसिसाना अस्पतालमा स्थानान्तरित गरिएको थियो। यहाँ उनले जीवनको अन्तिम २ वर्ष बिताए। ग्राम्सीको स्वास्थ्य निरन्तर बिग्रदै गयो।उनलाई मुटुको रोग, क्षयरोग, उच्च रक्तचाप, तीव्र ग्यास्ट्रिक, आदि धेरै रोगहरूको संयोजन थियो। त्यसपछि २७ अप्रिल १९३७ मा दिमागको ग्रन्थी फुटेको कारणले ४६ वर्षको उमेरमा उनको मृत्यु भयो।यसरी अल्पायुमै एक व्यवहारिक क्रान्तिकारी मार्क्सवादी विचारका प्रबल समर्थक ग्राम्सीको जीवनको अन्त भयो।

उनका साथी अर्थशास्त्री पिएरो श्राफाले आफ्नो व्यक्तिगत कोष र कैयौं अन्य पेशेवरहरूसँग सम्पर्कबाट जेलमा ग्राम्सीको लागि पुस्तक, पत्रिका र अरू आवश्यक सामग्रीहरू  उपलब्ध गराएका थिए।ग्राम्सीसँग एक विलक्षण स्मृति थियो।यद्यपि श्राफाको सहयोग र तानियाको मध्यस्थताको भूमिकाको कारणले नै उनका बौद्धिक रचनाहरूको सृजना हुन सकेका हुन्।जेलमा उनलाई कठोर दण्ड पनि दिइयो।जेलमा रहँदा पनि उनले निरन्तर क्रान्तिकारी राजनीतिक विचारहरूको प्रवाह गरिरहे।यसमा उनका धेरै विचार प्रिजन नोट्सको रूपमा प्रतिपादन भएका थिए।ग्राम्सी बाचुन्जेल उनको जीवन उतारचढावले भरिएको देखिन्छ।ग्राम्सी इटालीका महान राजनीतिज्ञ र लेखक हुन्। उनी इटाली कम्युनिष्ट पार्टिका संस्थापक सदस्य थिए। आफ्नो शुरूवाती दिनमा उनी शारीरिक दृष्टिले कमजोर थिए।आफ्नो सक्रिय क्रान्तिकारी विचारप्रवाहको क्रममा नै मुसोलिनीले उनलाई जन्मकैद दिएकै बेला उनको मृत्यु भएको थियो।यद्यपि यसै क्रममा उनले आफ्नो जीवनको राजनीतिक अनुभवलाई कागजमा उतारेका थिए।ग्राम्सीको जेल बसाइ बौद्धिक उपलब्धिले समृद्ध थियो।जेल नोटबुकमा उनले आफ्नो बौद्धिकतालाई विभिन्न कक्षहरूमा राखेका थिए। यो विश्वयुद्धपछि प्रकाशित भएको थियो।त्यसै बेला जेलबाट उनका साथीहरू र परिवारहरूलाई असाधारण पत्रहरू लेखेका थिए, जुन धेरै महत्त्वपूर्ण छन्।  ग्राम्सी मेकियावेलीका विचारहरूबाट धेरै प्रभावित थिए।इटालीमा मुसोलिनी जस्तो तानाशाहले चुनाव जितेर राष्ट्रवादको नाममा शासन गरिएको बेलामा ग्राम्सीले इटलीको कम्युनिष्ट पार्टीको माध्यमबाट राजनीतिमा प्रवेश गरेका थिए। उनले जुन राजनितिक सिद्धान्त दुनियाँको सामु राखेका थिए, त्यो धेरै महत्त्वपूर्ण थियो।ग्राम्सीले भनेका थिए – यूरोप कार्ल मार्क्सको सिद्धान्तबाट प्रभावित भएकोले छिट्टै यूरोपीय देशहरूमा हाम्रो क्रान्ति सम्पन्न भएको देख्नेछौं तर यस्तो भइहेको थिएन।त्यसैले ग्राम्सीले यसको सूक्ष्मतापूर्वक अध्ययन गरे।कार्ल मार्क्सको विचारधारामा उनी आर्थिक प्रभुत्वलाई धेरै महत्त्व दिन्थे।ग्राम्सीका अनुसार सामाजिक धारणा र परम्पराहरूमा शासक जातिहरूको प्रभुत्व नै यूरोपमा क्रान्ति नहुनुको मुख्य कारण हो।जेलमा भएको ग्राम्सीको बौद्धिक कार्य विश्वयुद्धको कैयौं वर्षपछिसम्म पनि प्रकाशित भएन।पछि पार्टीले नोटबुकका छरिएका खण्डहरू र जेलबाट लेखिएका लगभग ५०० पत्रहरूमध्ये केहीलाई प्रकाशित गर्न शुरु गर्र्यो।सन् १९५० को दशकसम्म उनको लेखनले पश्चिममा मात्र होइन, तेस्रो दुनियाँका देशहरूमा महत्त्वपूर्ण ढंगले आकर्षित गरेको थियो।

मार्क्सवादी सिद्धान्तमा ग्राम्सीको महत्त्वपूर्ण बौद्धिक योगदान संस्कृतिको सामाजिक कार्य र राजनीति तथा आर्थिक व्यवस्थासँग यसको सम्बन्ध र विस्तार हो।मार्क्सले आफ्नो लेखनमा यी मुद्दाहरूमाथि संक्षीप्त चर्चा गरेका थिए।ग्राम्सीले मार्क्सको सैद्धान्तिक जगमा समाजका प्रमुख सम्बन्धहरूलाई चुनौति दिने र सामाजिक जीवनलाई विनियमित गर्ने र पूँजीवादको लागि आवश्यक स्थितिहरूलाई कामय राख्नमा राजनीतिक रणनीतिको महत्त्वपूर्ण भूमिकालाई विस्तारित गर्नको लागि आकर्षित गरे।यसकारण उनले कसरी संस्कृति र राजनीतिले क्रान्तिकारी परिवर्तनलाई रोक्न सक्दछ भन्ने कुरा बुझ्नको लागि ध्यान केन्द्रित गरे।उनले सत्ता र प्रभुत्वको राजनीतिक र सांस्कृतिक तत्वहरू (आर्थिक तत्वसँगसँगै) को सँगसँगै ध्यान केन्द्रित गरे।यसप्रकार ग्राम्सीको काम पूँजीवादी उत्पादन प्रणालीमा निहित विरोधाषहरूलाई हेर्दा क्रान्ति अनिवार्य थियो भन्ने कुरा स्पष्ट पार्नु थियो।

आफ्नो सिद्धान्तमा, ग्राम्सीले राज्यलाई पूँजी र शासक वर्गको हितको प्रतिनिधित्व गर्ने प्रभुत्वको साधनको रूपमा हेरे। राज्यले यो कसरी पूरा गर्छ भनेर व्याख्या गर्न सांस्कृतिक सम्पदाको अवधारणाको विकास गरे, जसले प्रभुत्व प्राप्त गर्ने सामाजिक संस्थाहरू मार्फत व्यक्त गरेको प्रभावशाली विचारधाराले ठूलो मात्रामा प्रभुत्व प्राप्त गर्दछ, जसले मानिसहरूलाई प्रभुत्व जमाएको समूहको शासनमा पेश गर्न अनुमति दिन्छ।उनका अनुसार हेगेमोनिक मान्यताहरू – प्रमुख मान्यताहरू – महत्त्वपूर्ण विचारहरूलाई दबाउने र क्रान्तिका लागि बाधाहरू हुन्।

ग्राम्सीले शैक्षेणिक संस्थानहरूलाई आधुनिक पश्चिमी समाजमा सांस्कृतिक विरासतका मौलिक तत्वहरूमध्येमा एक रूपमा हेरे र बौद्धिक एवं शिक्षामाथि निबन्धहरूमा यसलाई विस्तार गरे। उनले सबै वर्ग र जीवन संचालनको लागि ‘कार्बनिक बुद्धिजीवीहरू’ को उत्पादनको वकालत गरे, जसले मानिसहरूका विविधताको विश्व विचारहरूलाई बुझ्ने र प्रतिबिम्बित गर्नेछ्न्।उनले परम्परावादी बुद्धिजीवहरूको भूमिकाको आलोचना गरे, जसको कामले शासक वर्गलाई विश्वव्यापी परलक्षित गर्र्यो र यसरी सांस्कृतिक विरासतलाई सुविधाजनक बनायो।यसको अतिरिक्त उनले स्थितिको युद्धको वकालत गरे, जसमा उत्पीडित वर्गले राजनीतिक र संस्कृतिको क्षेत्रमा स्वदेशी शक्तिलाई अवरोध गर्नको लागि काम गर्नेछन्, जबकि सत्ताको एकसाथ उथथलपुथल, घुसपैठको युद्ध गरिएको थियो।

यसरी ग्राम्सीले राजनीतिक सिद्धान्त, समाजशास्त्र र भाषाविज्ञानमा महत्त्वपूर्य कार्य गरे।उनले पारम्परावादी मार्क्सवादी विचारको आर्थिक निर्धारणबाट तोड्ने प्रयसा गरे।यसकारण उनलाई एक महत्वपूर्ण नव-मार्क्सवादी पनि भन्ने गरिएको पाइन्छ।उनी इटलीका कम्युनिष्ट पार्टीका संस्थापक सदस्य र नेता समेत थिए।उनले आफ्नो कारावासको क्रममा ३० भन्दा धेरै नोटबुक एवं इतिहास र विश्लेषणका ३००० पृष्ठ लेखेका छन्। उनको प्रिजन नोटबुकलाई बीसौं शताब्दीको राजनीतिक सिद्धन्तको लागि एक अत्यन्त महत्वपूर्ण योगदान मानिन्छ।ग्राम्सीले विभिन्न स्रोतहरूबाट अन्दर्दृष्टि प्राप्त गरेका थिए।उनले केवल मार्क्सवादीहरूबाट मात्र होइन, बरु निकोलो मेकियावेली, विलफ्रेडो परेटो, जर्जेज सोरेल र बेनेटोटो क्रो जस्ता विचारकहरूबाट पनि दृष्टिकोण बनाएका थिए।प्रिजन नोटबुकमा इटालीको इतिहास राष्ट्रवाद, फ्रान्सेली क्रान्ति, फाँसीवाद, फोर्डवाद, नागरिक समाज, लोकसाहित्य, धर्म र लोकप्रिय संस्कृतिसहित कैयौं विषयहरूलाई सामेल गरिएको छ।

ग्राम्सीको सांस्कृतिक आधिपत्य सिद्धान्तलाई उनको मौलिक सिद्धान्त मानिन्छ, जसले पूँजीवादी समाजमा सत्ता कायम राख्नको लागि राज्य र शासक पूँजीपति वर्ग – पूँजीपति वर्ग – ले सांस्कृतिक संस्थाहरूको उपयोग कसरी गर्दछन् भन्ने  कुरा बताउँदछ।ग्राम्सीका अनुसार बुर्जुवा वर्गले हिंसा, आर्थिक बल वा जबर्जस्तीको सट्टा विचारधाराको उपयोग गर्दै एक हेगेमोनिक संस्कृति विकसित गर्दछ।हेगेमोनिक संस्कृतिले स्वयंको मूल्य र मापदण्डहरूको प्रचार गर्दछ ताकि ती सबै सामान्य ज्ञान मूल्य बनून् र यसरी यथास्थिति कायम रहोस्।त्यसकारण हेगेमोनिक शक्तिको उपयोग पूँजीवादी व्यवस्था कायम राख्नको लागि गरिन्छ, बल कायम राख्नको लागि होइन।यो सांस्कृतिक आधिपत्यलाई उपरिसंरचनाको माध्यमबाट मुख्य वर्गद्वारा निर्मित र पुनःप्रस्तुत गरिन्छ।

ग्राम्सीमाथि उनकी आमा, उनका दाजु जेनेरो, पारिवारिक वातावरण, इटालीको तत्कालीन परिस्थिति, क्रोचेको दर्शन, मार्क्स, लेनिन, कान्ट, हेगेल, माइकेल, आदिको प्रभाव परेको थियो।उनीमाथि सोरेल संघवादको पनि प्रभाव परेको थियो।इटली ग्राम्सीको समयमा साम्राज्यवादी शोषणको अवस्थामा थियो।इटलीवासी पनि आपसी फुट, उत्पीडन, शोषण, दमन, अत्याचारको शिकार भएका थिए।आफ्नो स्कूली शिक्षाको क्रममा नै ग्राम्सीले राष्ट्रवादको अभाव महसुस गरेका थिए। समाजमा चारैतिर अराजकताको वातावरण थियो।मुसोलिनीभन्दा पहिले इटलीमा केन्द्रीय सत्ताको अभाव थियो।ग्राम्सीले यस्तो अवस्थामा १८ वर्षको उमेरमा नै सार्डिनिया प्रान्तमा साम्राज्यवादी सैनिकहरूले आक्रमण गरी इटालीवासीहरूलाई बन्दी बनाएर उनीहरूलाई उत्पीडन गरिरहेको क्रूर घटना देखेका थिए।त्यसबेला इटलीको शिक्षा प्रणाली पनि बुर्जुवा राष्ट्रवाको नै पोषक थियो।देशमा आर्थिक संकटको बोलवाला थियो।कृषि नै अर्थव्यवस्थाको आधार थियो।मजदूरहरूको अवस्था अत्यन्तै खराब थियो।फ्याक्ट्ररी काउन्सिल अस्तित्वमा आउन लागेको थियो।यस्तो बेलामा उनले इटलीमा समाजवाद स्थापित गर्ने उद्देश्यले आफ्नो समाजवादी विचारधाराको प्रचार गरेका थिए।तर सन् १९२३ मा मुसोलिनीले सत्ता कब्जा गरेपछि उनको सम्पूर्ण सपना चकनाचुर हुनपुग्यो।फाँसीवादी सरकारले उनी लगायत धेरै कम्युनिष्ट नेताहरूलाई जेल हाल्यो र सन् १९३७ मा उनको अल्पायुमै मृत्यु भयो।

ग्राम्सीका विचारहरूको अध्ययन

ग्राम्सीका विचारलाई प्रिजन नोटबुक्समा वर्णन गरिएको पाइन्छ।यसमा उनका अनेकौं विचार परस्पर अव्यवस्थित र छरप्रष्ट रूपमा रहेका छन्। किनभने ग्राम्सीले कहिल्यै समग्र लेखनकार्य गरेनन्।त्यसकारण विचारहरूको अस्पष्टता स्वाभाविक जस्तो देखिन्छ।यसको बावजुद ग्राम्सीका विचारहरुबाट प्रभावित भएर नव-वामपन्थवाद र नव-मार्क्सवादको विकास भएको देखिन्छ।ग्राम्सी एक प्रसिद्ध साम्यवादी विचारक हुन्।उनले पूँजीवादी राज्यहरूमा साम्यवादी क्रान्तिमाथि विशेष जोड दिएका थिए।उनले पूँजीवादी देशहरूमा पूँजीवाद कायम रहनुको मुख्य कारण पूँजीवादी व्यवस्थाद्वारा गरिने नागरिक समाजमाथि आधिपत्यलाई माने।सन् १९१७ को अक्टोबर रूसी क्रान्तिपछि साम्यवादी चिन्तक सम्पूर्ण विश्वमा क्रान्तिको लागि प्रयत्न गरिरहेका थिए तर इटलीमा साम्यवादी क्रान्तिको सट्टा फासिवादी व्यवस्था स्थापित भएको थियो।ग्राम्सीका अनुसार फासीवाद पूँजीवादकै संकटकालीन रूप हो।किनभने पूँजीवाद सहमति र लोकतन्त्रद्वारा शासन चलाउनमा असफल भएपछि राज्यलाई कायम राख्नको लागि उसले क्रूर शक्तिको प्रयोग गर्दछ।ग्राम्सीले सन् १९१७ को अक्टोबर रूसी क्रान्तिको अत्यन्तै प्रशंसा गरेका थिए।यद्यपि उनले रूसी क्रान्तिको रणनीतिको प्रयोग पूँजीवादी देशहरूमा गर्नु सही हुँदैन पनि भनेका थिए।किनभने पूँजीवादी देशहरूमा नागरिक समाज र राज्यको विभाजन स्पष्ट हुन्छ। रूस जस्ता पिछडिएका सामन्तवादी देशमा नागरिक समाज र राज्यको यो विभाजन स्पष्ट थिएन।मार्क्सको मूल मान्तया अनुसार आर्थिक रूपमा प्रभुत्वशाली वर्गद्वारा राज्यमाथि नियन्त्रण एवं आधिपत्य स्थापित गरिन्छ।त्यसकारण राज्य पूँजीपतिहरूको हातमा शोषणको एक यन्त्र हो एवं बाध्यकारी शक्तिद्वारा पूँजीपतिहरूले राज्यमाथि आफ्नो नियन्त्रण कायम गरेका छन्।ग्राम्सीले मार्क्सका उक्त मान्यताहरूमा परिवर्तन गरिदिए।उनी मार्क्सवादी चिन्तकमा मार्क्सवादी विचारहरूको अत्यन्तै मौलिक व्याख्या गर्ने पहिलो विचारक थिए।ग्राम्सीले राज्यको उत्पत्तिको व्याख्या गर्दै भने – राज्यको उत्पत्ति तीन प्रकारका सामाजिक शक्तिहरूको बीचको संघर्षको परिणाम हो।जसानुसार – i) त्यो सामाजिक शक्ति, जसले नेतृत्व प्रदान गरिरहेको छ ii) त्यो सामाजिक शक्ति, जसको विरुद्ध संघर्ष गरिन्छ र iii) अन्य सहायक र सामाजिक शक्ति, वैचारिक र सांस्कृतिक नियन्त्रण, इत्यादि पर्दछन्।

ग्राम्सीका अनुसार कम्युनिष्ट क्रान्तिको लागि सहायक शक्तिको समर्थन आवश्यक हुन्छ। उनका अनुसार नागरिक समाजमाथि आधिपत्य बौद्धिक र नैतिक नेतृत्वद्वारा स्थापित हुन्छ, जसमा शैक्षिक, धार्मिक र अन्य सामाजिक संगठनहरूमा आधिपत्य स्थापित गरिनेछ तथा आधिपत्य शक्तिको सबभन्दा महत्त्वपूर्ण अवयव हो।तर यो मुख्यगरी वैचारिक शक्ति हो, बौद्धिक र बाध्यकारी शक्ति होइन।ग्राम्सीका अनुसार पूँजीवादी राज्यद्वारा सम्पूर्ण समाजको प्रतिनिधित्त्व गरिंदैन।त्यसकारण उनले नागरिक समाजको लागि आधिपत्य स्थापित गर्नको लागि संगठित बुद्धिजीवी वा कम्युनिष्ट पार्टीको भूमिकालाई अत्यन्तै महत्त्वपूर्ण मानेका छन्। उनीहरूद्वारा नै आम जनतामा वर्गचेतना र क्रान्तिकारी चेतनाको विकास गरिनेछ।यसरी ग्राम्सीले राज्यको विश्लेषण र क्रान्तिको संकल्पनामा आत्मगत र वैचारिक तत्वहरूलाई अत्यधिक महत्त्वपूर्ण मानेका छन्। उनका अनुसार व्यक्तिको भूमिका निस्क्रिय नभएर सक्रिय हुन्छ।यही क्रममा ग्राम्सीले बुद्धिजीवीहरूको परिभाषा व्यापक रूपले गरेका छन्।समाजमा उच्चस्तरीय प्राविधिक क्षमताप्रधान मानिसहरू एवं समाजलाई निर्देशित गर्ने व्यक्तिहरू नै बुद्धिजीवीहरू हुन्। यी बुद्धिजीवीहरू उत्पादन, सांस्कृतिक, राजनीतिक र प्रशासनिक गतिविधिहरूसँग सम्बन्धित हुन सक्दछन्।ग्राम्सीका अनुसार संगठित बुद्धिजीवी स्वयं एक वर्गका सदस्य हुन् र समाजका सबै स्तरमा उनीहरू आफ्नो दायित्वप्रति सचेत हुन्छन्।ग्राम्सीले परम्परागत बुद्धिजीवीहरूलाई दुई रूपमा विभाजित गरेर हेरेका छन्।जसानुसार सृजनात्मक कलाकार र विद्वान तथा धार्मिक बुद्धिजीवी, धर्मगुरू, कलाकार, जसले प्रभुत्वशाली सामाजिक वर्गबाट स्वयंलाई स्वायत्त मान्दछन्।ग्राम्सीका अनुसार परम्परागत बुद्धिजीवी शासक वर्गीय दृष्टिकोणसँग पूर्णतः सहमत हुन्छन् भन्ने कुरा आवश्यक छैन। तर यिनीहरू सामान्यतः शासक वर्गीय दृष्टिकोणसँग सम्झौता गर्दछन्। उनका अनुसार परम्परागत बुद्धिजीवी चेतन वा अचेतन रूपमा रूढीवादी विचारकै प्रचार गर्दछन्।ग्राम्सीका अनुसार महान बुद्धिजीवीको मस्तिष्कमा महत्त्वपूर्ण विचार उत्पन्न हुन्छन्, यी विचार अन्य स्तरका बुद्धिजीवीहरूलाई स्थानान्तरित गरिन्छन्।उदाहरणतः अध्यापक, पत्रकार एवं राजनीतिक कार्यकर्ता, आदि। उनका अनुसार सर्वहारा वर्गको नयाँ संस्कृतिको प्रचारप्रसार संगठित बुद्धिजीवीद्वारा गरिन्छ।त्यससकारण ग्राम्सीले कम्युनिष्ट पार्टीको सिद्धान्त प्रतिपादित गर्दै इटालीवासीहरूलाई राजनीतिक प्रशिक्षण दिइने कुरा गरेका छन्। आधुनिक बुर्जुवा समाजमा आधुनिक प्रिन्सको आवश्कयता छ, जसले पूँजीवादी देशहरूमा साम्यवादी शासन स्थापित गर्नेछ।

ग्राम्सीले राज्यको सापेक्ष स्वायत्तताको सिद्धान्त वा आधार र उपरिसंरचनाको सिद्धान्त सम्बन्धी व्याख्या नयाँ ढंगले गरेका छन्।मार्क्सवादी दृष्टिकोण अनुसार आधारद्वारा संरचनाको निर्धारण हुन्छ, जसमा आर्थिक पक्ष सर्वाधिक महत्त्वपूर्ण हुन्छ।ग्राम्सीले आधार उपरिसंरचनाको सम्बन्धलाई राज्यको सापेक्ष स्वायत्तताको सिद्धान्तको रूपमा माने।यसमा ग्राम्सीले समाज र इतिहासको भौतिक एवं वैज्ञानिक विश्लेषणको सट्टा चेतनालाई धेरै महत्त्व दिएका छन्।ग्राम्सी इटलीका प्रसिद्ध दार्शनिक क्रोचेबाट प्रभावित थिए।उनका अनुसार समाजलाई बुझ्नको लागि मानवीय सम्बन्ध धेरै महत्त्वपूर्ण हुन्छ।ग्राम्सीका अनुसार राज्यको व्याख्या केवल आर्थिक कारकहरूको आधारमा बुझ्नु पर्याप्त हुँदैन, बरू अन्य (धार्मिक, सामाजिक र सांस्कृतिक) कारकले पनि राज्यलाई प्रभावित गर्दछन्।मार्क्सका अनुसार राज्य एक परजीवी संस्था हो, जुन मूलतः शोषणको एक यन्त्र हो र राज्यको निर्माण आर्थिक कारकहरूद्वारा विश्लेषण गर्न सकिन्छ।ग्राम्सीका अनुसार राज्य कायम रहनुको मूल कारण नागरिक समाजको आधारमाथि प्रभावकारी रूपले विश्लेषित गर्न सकिन्छ।त्यसकारण राज्य केवल बाध्यकारी संस्था नभएर वैचारिक संस्था पनि हो।त्यसैले राज्यको आधार केवल भौतिक तत्वहरूमा मात्र नभएर वैचारिक तत्वहरूमा पनि देख्न सकिन्छ।यसरी सापेक्ष स्वायत्तताको आशय के हो भने राज्य केवल आर्थिक कारकहरूमा निर्भर संस्था होइन।भन्नुको अर्थ राज्य आर्थिक कारकहरूको अतिरिक्त अन्य कारकहरूमा पनि निर्भर हुन्छ।र, उनका अनुसार अन्य कारकहरूको आशय सभ्य समाजको सहमतिसँग हो अर्थात् पूँजीवादी राज्य कायम रहनु केवल त्यसको आर्थिक वर्चस्वको परिणामस्वरूप नभएर पूँजीवादी राज्य कायम रहनमा समाजको सहमति सबभन्दा महत्त्वपूर्ण हुन्छ।यहाँ ध्यान दिनयोग्य कुरा के हो भने उनी राज्यलाई निरपेक्ष रूपले स्वायत्त मान्दैनन्।अर्थात् राज्य आर्थिक कारकहरूबाट निश्चित रूपले प्रभावित हुन्छ तर आर्थिक कारकले मात्रै नभएर अन्य कारकहरूबाट पनि प्रभावित हुन्छ।यसको अर्थ के हो भने यदि आर्थिक कारकले राज्यलाई प्रभावित गर्दछन् भने राजनीतिक कारकले पनि आर्थिक गतिविधिहरूलाई प्रभावित गर्दछन्। अर्थात् दुवैमा अपसी अन्तर्सम्बन्ध तथा परस्पर निर्भरता पाइन्छ। ग्राम्सीका अनुसार सन् १९१७ को अक्टुवर क्रान्ति निर्णायक रूपले कम्युनिष्ट इतिहासमा एक प्रशंसनीय घटना हो, तर उनी के कुरामा जोड दिन्छन् भने क्रान्तिको जुन रणनीति सोभियत संघमा प्रयोग गरियो, त्यसलाई अन्य पूँजीवादी देशहरूमा प्रयोग गर्न सकिंदैन।किनभने विकसित पूँजीवादी देशहरूमा सभ्य समाज र राज्यको बीचमा स्पष्ट अन्तर हुन्छ। त्यसकारण पूँजीवादी देशहरूमा क्रान्तिको उद्देश्य राज्यमाथि नियन्त्रणबाट हुन सक्तैन, बरु पूँजीवादी देशहरूमा क्रान्ति सभ्य समाजमा आधिपत्यद्वारा नै ल्याउन सकिन्छ।यही संकल्पनालाई ग्राम्सीले गतिशील युद्ध र स्थितिबीचको युद्धको संज्ञा दिएका छन्।उनको गतिशील युद्धको आशय के हो भने जसरी सोभियत संघमा क्रन्ति भयो, त्यहाँ सर्वहारा वर्गले राजनीतिक र आर्थिक शक्तिमाथि नियन्त्रण स्थापित गरे।तर विकसित पूँजीवादी देशहरूमा ग्राम्सी स्थितिहरूको बीचमा युद्धको संकल्पना दिन्छन्, जसको अभिप्राय के हो भने सर्वहारा वर्गले पहिले सभ्य समाजमा आफ्नो आधिपत्य स्थापित गर्नेछ वा बनाउनेछ, त्यसपछि स्वाभाविक रूपमा उसको राज्यमा नियन्त्रण हुनेछ।

ग्राम्सीको क्रान्तिको संकल्पनालाई स्थितिहरूको युद्ध पनि भनिन्छ।उनले सन् १९१९-१९२० को बीचमा कारखाना परिषदको विचारमाथि महत्त्वपूर्ण बल दिएका थिए। तर के कुरा पनि उल्लेखनीय छ भने फ्याक्ट्री परिषद ट्रेड-यूनियनहरुको बिल्कुल समान छैन।फ्याक्ट्री परिषदका निम्न विशेषताहरू छन् – कुनै कारखानामा सबै श्रमिकहरूका प्रतिनिधि निर्वाचित हुन्छन्।परिषदका कार्य शिक्षात्मक पनि हुन्छन्।फ्याक्ट्री परिषदद्वारा श्रमिकहरूलाई प्रशिक्षण दिएर कारखानालाई नियन्त्रित गर्ने उपाय बताइन्छ।परिषदद्वारा श्रमिकहरूको बीचमा अनुशासनको निर्माण गर्दै उनीहरूलाई साम्यवादी शिक्षा दिइन्छ। सन् १९२० सम्म फ्याक्ट्री परिषदहरूलाई केही मात्रासम्म सफलता प्राप्त भयो, यी परिषदहरू क्रान्तिकारी शिक्षाको उद्देश्यले महत्त्वपूर्ण माध्यम मानिए। कालान्तरमा कुन बिन्दुमा अत्याधिक विवाद भयो भने ग्राम्सीले दललाई बढी महत्त्व दिए वा फ्याक्ट्री परिषदहरूलाई।विचारकहरूका अनुसार ग्राम्सीले दललाई बढी महत्त्व दिए। त्यसकारण उनले लेनिनको जस्तै दलको महत्त्वलाई स्वीकार गरे तथा संगठित दलद्वारा कम्युनिष्ट क्रान्ति संभव छ। यद्यपि उनले फ्याक्ट्री परिषदहरूलाई पनि महत्त्वपूर्ण प्रयोग गरे र परिषदहरूको नेतृत्वमा श्रमिकहरूका ठूला-ठूला हड्तालहरू भए। उनका अनुसार कम्युनिष्ट क्रान्तिको लागि नागरिक समाज धेरै महत्वपूर्ण हुन्छ, जुन सहमतिमूलक संरचना हो।नागरिक समाजमाथि बुद्धिजीवीहरूद्वारा स्थितिहरूको युद्धबाट नियन्त्रण हुनेछ, जसको अभिप्रायलाई यसरी व्यक्त गर्न सकिन्छ – परिस्थितिअनुसार रणनीति परिवर्तन गर्नु र लुकेर संघर्ष गर्नु।स्थितिहरूको युद्ध जनताहरूको सहमतिद्वारा गर्न सकिन्छ।स्थितिहरूको युद्ध वैचारिक युद्ध हो, जसद्वारा नागरिक समाजमाथि नियन्त्रण गर्न सकिन्छ। पूँजीवादी देशहरूमा स्थितिहरूको युद्ध सबभन्दा राम्रो विकल्ल हो, किनभने यहाँ र राज्य तथा समाजबीचमा स्पष्ट अन्तर हुन्छ र यी राज्यहरूमा राज्य शक्तिशाली हुन्छ, जसको विरुद्ध सीधा संघर्ष गर्नु अव्यवहारिक हुन्छ।यसरी ग्राम्सीका अनुसार रूसी क्रान्ति गतिशील युद्धको उदाहरण हो। गतिशील युद्धका विशेषताहरूलाई पनि यसरी व्यक्ति गर्न सकिन्छ – आमने-सामनेको लडाइँ।राज्य र सरकारमाथि नियन्त्रण स्थापित गर्नु।रूसी क्रान्ति गतिशील युद्धको उदाहरण हो।रूसमा यो सफल भयो, किनभने त्यहाँ राज्य र नागरिक समाजको बीचमा विभाजन स्पष्ट थिएन।

दार्शनिक विचार

ग्राम्सी मार्क्सवादलाई एक विशुद्ध आर्थिक सिद्धान्त मात्र मान्दैनन् ।र, उनी यसलाई आर्थिक नियतिवादमा आधारित सिद्धान्तको रूपमा मात्र पनि बुझ्दैनन्। उनको दार्शनिक दृष्टिकोण अनुसार मार्क्वादको सशक्त पक्ष भनेको त्यसको द्वन्द्ववाद हो। द्वन्द्ववाद एक यस्तो दार्शनिक पद्धति हो, जसले कठोर दृष्टिकोणको बीचमा लचक रूपान्तरणको पक्ष लिन्छ।यसरी द्वन्द्ववाद कुनै निश्चित अपरिवर्तनीय कठोरताको विरोधी हुन्छ।यो परिवर्तन, अन्तर्सम्बन्ध र अन्तर्सम्पर्क, पारस्पिक प्रभाव र लचक रूपान्तरणको दर्शन हो।ग्राम्सीले मार्क्सवादी दर्शनको द्वन्द्ववादको मूल स्थितिलाई पुनर्जीवित गरिदिए।उनले मार्क्सवादमा निहित आर्थिक-राजनीति र सांस्कृतिक-राजनीतिको द्वन्द्ववाद, वस्तुनिष्ठता र व्यक्तिनिष्ठताको द्वन्द्ववाद तथा राजनीतिक समाज र नागरिक समाजको द्वन्द्ववादलाई नयाँ आयाम दिए। ग्राम्सीले सामाजिक परिवर्तनको लागि जन-संघटनमा सहजता र चेतनाको द्वन्द्ववादमा पुर्नबल प्रदान गरे।उनले वर्ग राजनीति र राष्ट्रिय राजनीतिको संयोगको समर्थन गरे।उनले राजनीतिक संगठनमा प्रतिरोधी पद्धतिहरू र सर्वसम्मत साधनहरूको सामन्जस्यमा बल दिए ताकि त्यसले सशक्त तत्वको स्वरूप ग्रहण गर्न सकोस्।ग्राम्सीले बीसौं शताब्दीका मार्क्सवादीहरूलाई के आव्हान गरेका थिए भने उनीहरूले मध्यकालीन समयको धर्मको अनुभवबाट र आधुनिक कालको राष्ट्रवादी विचारधाराबाट सिक्नुपर्दछ।धर्म र राष्ट्रियता सर्वसाधारणलाई मनोवैज्ञानिक ढंगले छलपूर्वक दिग्भ्रमित बनाएर राष्ट्रिय सामूहिक आकांक्षा एवं लोकप्रिय आधिपत्यको भूमिकामा आउन सक्दछन्।धर्म र राष्ट्रियतासँग परम्परागत बुद्धिजीवीहरूका सेना हुन्छन् र परम्परागत बुद्धिजीवीहरूले सर्वसाधारणलाई सदैव सत्ता पक्षतिर आकर्षित गर्दछन्।यसरी ग्राम्सीले मार्क्सवादी आन्दोलनले सामाजिक परिवर्तनको समर्थनमा अवश्य नै राष्ट्रिय सामूहिक सम्मति प्राप्त गर्नुपर्दछ र कामदार, कृषक तथा बुद्धिजीवीहरूलाई संगठित गर्नुपर्दछ भन्ने कुरा बुझाए।असमान रूपले विकसित कुनै परम्परागत समाजको लागि क्रान्तिको यही मार्ग हुनेछ।

ग्राम्सीको विश्वदृष्टिकोण वा ऐतिहासिक सापेक्षतावादको दार्शनिक अवधारणा मुख्यगरी प्रेक्सिसको दर्शन, ऐतिहासिक भौतिकवाद र सत्यको समस्यामाथि अधारित छ।ग्राम्सीको विश्वदृष्टिकोणको अवधारणामा यी तीन तत्वहरू यसरी गाँसिएका छन् कि एउटालाई अर्कोबाट छुट्याएर उनको विचार बुझ्न असम्भव छ। ग्राम्सीका अनुसार बौद्धिक विकासको प्रक्रियामा चिन्तकलाई बुझ्नको लागि सबैभन्दा पहिले उसको  प्रकृतिमा कुन तत्वहरू स्थिर र स्थायी छन् भन्ने जान्न आवश्यक हुन्छ। यिनै तत्वहरूले बौद्धिक विकासलाई भौतिक विकासभन्दा उत्कृष्ट साबित गरी छुट्टै अस्तित्व प्रदान गर्छ। ग्राम्सीका अनुसार एक विश्वदृष्टिकोण दार्शनिक हुन्छ। यसले सम्पूर्ण सामाजिक समूहको बौद्धिक र नैतिक जीवनलाई प्रतिबिम्बित गर्दछ। यस रूपमा मार्क्सवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो। विश्वदृष्टिकोणको अवधारणामा विश्वास, मूल्यमान्यता र पराभौतिक पूर्व धारणाहरू यसरी गाँसिएका हुन्छन् कि तिनीहरूले विचारहरूलाई कार्यात्मक सुविधा प्रदान गर्छन्। यस कारणले गर्दा ग्राम्सीले निम्न स्तरबाट दर्शनलाई प्राप्त गर्ने प्रस्ताव राख्छन्। ग्राम्सीको विश्व दृष्टिकोणका तीन स्तम्भहरू निम्न छन्- जसानुसार प्रेक्सिसको दर्शन, ऐतिहासिक भौतिकवाद र सत्यको समस्या हो।

प्रेक्सिसको दर्शन (philosophy of praxis) ग्राम्सीको एक मौलिक र महत्वपूर्ण दार्शनिक अवधारणा मानिन्छ। विश्वमा मार्क्सको दर्शनभन्दा पहिले दर्शनलाई राजनीतिबाट अलग राख्ने परम्परा विद्यमान थियो।तर मार्क्सले सर्वप्रथम आफ्ना विचारहरूमा सिद्धान्त तथा व्यवहारको एकरूपतामा जोड दिए।उनका अनुसार दर्शन र राजनीतिक एकै सिक्काका दुई पक्ष हुन् त्यसकारण यिनीहरूलाई अलग गर्न सकिंदैन।मार्क्सले दर्शन र राजनीतिको पारस्परिक सम्बन्धलाई विभिन्न वर्गका दृष्टिकोणबाट ऐतिहासिक आधारमा पुष्टि गरे र मार्क्सवादलाई सर्वहारा वर्गको विश्वदृष्टिकोण बनाइदिए।यस आधारमा दर्शनको स्वरूप एवं विषयवस्तु भाषामा आधारित छ किनभने भाषा नै सम्प्रेषणको त्यो साधन हो, जसले दर्शनको स्वरूप र अन्तर्वस्तुलाई प्रदान गर्दछ।भाषा नै प्रत्येक दर्शनको अन्तर्निहित भाग हो।ग्राम्सीका अनुसार विश्वमा आदर्शवादीहरूले तथा केही अन्य चिन्तकहरूले बुद्धिजीवीहरूको दर्शनलाई सर्वसाधारणको दर्शनबाट अलग गरी हेर्ने प्रयास गरेका छन्।ग्राम्सीले श्रमजीवी वर्गको इतिहासलाई आदर्शवादी बुद्धिजीवीहरूको इतिहासभन्दा धेरै महत्त्व दिएर आफ्नो विचार व्यक्त गरेका छन्। मार्क्सवादी मान्यता अनुसार नै उनले दार्शनिकहरूले संसारको व्याख्या गरेका छन् तर संसारलाई बदल्ने कुरा गरेका छैनन् भन्ने कुरामा जोड दिए।त्यसकारण आजको प्रमुख समस्या विश्वमा परिवर्तन ल्याउने कुराको हो।त्यसैले दर्शनले राजनीतिक हुनुपर्दछ, व्यवहारिक हुनुपर्दछ र सबभन्दा बढी यसले दर्शन नै हुनुपर्दछ।ग्राम्सीका अनुसार द्वन्द्ववाद र प्रेक्सिस एकै सिक्काका दुई पक्ष हुन्।द्वन्द्वादको सिद्धान्त इतिहासशास्त्रको सारतत्व तथा राजनीतिको विज्ञान हो।प्रेक्सिसको दर्शन (क्रियाकलाप) वा मार्क्सवादको दर्शनले समाजमा विरोधाभाषको अन्तर्विरोध उत्पन्न गर्दछ तथा पूर्ववर्ती दर्शनहरूबाट के कुरामा भिन्न हुन्छ भने अन्तर्विरोधहरूलाई समाप्त गर्नुको सट्टा अन्तर्विरोधहरूको मूल सिद्धान्त बन्नजान्छ। ग्राम्सीका अनुसार दर्शनको कार्य ऐतिहासिक प्रक्रियाबाट उत्पन्न समस्याहरूको हल निकाल्नु हुनुपर्दछ।यसरी प्रेक्सिसको दर्शन निरपेक्ष इतिहासवाद र निरपेक्ष मानववाद हो।ग्राम्सीले प्रेक्सिसको दर्शनको आडमा निम्त स्तर वा श्रमजीवीहरूको इतिहासको वर्णन गरेका छन्।

ग्राम्सीले के कुरा महसुस गरे भने दोस्रो अन्तर्राष्ट्रियको क्रममा उपस्थित भएका प्रवृत्तिहरूले ऐतिहासिक भौतिकवाद (historical materialism) को अवधारणाको रूपमा इतिहासवादका निर्धारकको प्रकृतिमा भौतिकवादमा बढी जोड दिएर परिवर्तनको प्रक्रियामा विचार तत्वको भूमिकाको उपेक्षा गरिएको छ, जुन परिवर्तन वा क्रान्तिको जीवनदाता हो।ग्राम्सीका अनुसार इतिहासवाद दार्शनिक र राजनीतिक दुवै हो।दर्शनको इतिहासलाई वर्गसंघर्षको इतिहासबाट छुट्टै हेरिनु हुँदैन।सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक एकतामा मानव इतिहासलाई प्रकृतिको इतिहासको रूपमा नै हेरिनु पर्दछ।ग्राम्सीमा समाजमा एउटा वर्गको प्रभुत्वले यन्त्रवादको आलोचनालाई जन्म दिन्छ वा त्यसको चित्रण गर्दछ।ग्राम्सीका अनुसार दर्शनको इतिहास वर्गसंघर्षको इतिहासको एक भाग होइन।दर्शन स्वयंमा एक सांस्कृतिक संघर्ष हो, जसमा लोकप्रिय मानसिकताको रूपान्तरण वाञ्छित हुन्छ र त्यसले दार्शनिक नवीनताहरूलाई विकसित गर्दछ र ऐतिहासिक रूपमा त्यो प्रभावित पनि हुन्छ। यसरी दर्शनको इतिहास विभिन्न विश्वदृष्टिकोण राख्ने वर्गहरूको बीचमा हुने संघर्षको एक इतिहास हो, जसमा दर्शन एक राजनीति हो र राजनीति एक विज्ञान हो। त्यसकारण ग्राम्सीले के कुरामा जोड दिएका छन् भने प्रेक्सिसको दर्शनलाई आर्थिक, राजनीतिक तथा दार्शनिक भागहरूमा बाँड्न सकिंदैन।प्रेक्सिसको सिद्धान्त व्यक्ति र वस्तु दुवैको सह-समबन्ध, मानिस र प्रकृतिको व्यापकता, मानिस र प्रकृतिको रूपान्तरणको ऐतिहासिक क्रियाकलाप हो, जसमा मानिस आफ्ना कार्यहरूको प्रक्रिया हो।मानिस एक सामाजिक प्राणी हो र उसको स्वभाव विशेष र ऐतिहासिक हुन्छ।मानव स्वभावमामा यस्तै कुनै पनि एकरूपता वा स्थायित्वयुक्त गुण हुँदैन, जसलाई इतिहाससँग जोड्न सकिन्छ।समाजमा सामाजिक र आर्थिक समस्याहरूसम्म मात्र विद्यमान छ, जबसम्म मानिस त्यसप्रति संवेदनशील र जागरूक हुन्छ।प्रगति र वैचारिक संघर्षमा पदार्थ र मानिसको अन्तर्विरोधको विकास द्वन्द्वको विकासको एकताको प्रतिफल हो।यसप्रकार ग्राम्सीको मान्यता अनुसार ऐतिहासिक भौतिकवादको पृष्ठभूमिमा विचार, अस्तित्वबाट र मानवलाई प्रकृतिबाट अलग गर्न सकिंदैन।यसमा कुनै पनि ऐतिहासिक गतिविधिलाई कुनै वस्तु वा विषयबाट अलग गर्न सकिंदैन।यसबाट के कुरा प्रकट हुन्छ भने दर्शन र ऐतिहासिक भौतिकवाद विभाजनको वस्तु होइन।प्रेक्सिसको दर्शन ऐतिहासिक द्वन्द्ववादमा नै आधारित छ, जुन ऐतिहासिक छ र अस्थायी दर्शन हो।अन्तर्विरोधहरूलाई विघटित गर्नुको साथसाथै स्वयं तिनको एक हिस्सा कायम रहन्छ।यही कारण दार्शनिक र ऐतिहासिक भौतिकवादलाई छुट्टा-छुट्टै विभाजन गर्नु कुनै विश्वसनीय सिद्धान्तको परिचायक हुन सक्तैन। सत्य त के हो भने दर्शन र ऐतिहासिक भौतिकवादको विभाजन विश्वासको पूर्ण व्यवस्था वा प्रणाली होइन।यो त केवल सत्यको समस्यासँग मात्र सम्बन्धित हुन सक्दछ, किनभने विश्वदृष्टिकोणको अध्ययन सत्यको अवधारणाको सन्दर्भमा नै संभव हुन्छ।

ग्राम्सीको दार्शनिक दृष्टिकोणमा सत्यको समस्या (problem of truth) लाई निकै महत्त्वपूर्ण रूपमा लिने गरिन्छ।एक साधारण व्यक्तिको लागि सत्यको समस्या उसको आचरणसँग सम्बन्धित हुन्छ, जुन मानव प्रकृति र समाजको निश्चित र सार्वभौतिक नियम हो।सामान्य व्यक्तिको लागि सत्य नितिको मार्ग हो। आदर्शवादीहरूको दृष्टिमा यो आत्माको गुण हो।ग्राम्सीले सत्यको समस्याको विश्लेषण गर्दै भनेका छन् – प्रेक्सिसको दर्शन वा रूपलेखनको दर्शन आंगिक हो, किनभने यसमा द्वन्द्व र अन्तर्विरोधको दर्शन अन्तर्निहित हुन्छ। विरोधाभास वा अन्तर्विरोधको सिद्धान्त अन्य दर्शनहरूभन्दा अलग र जनसमूहहरूको दर्शन हो, जसले जनसमूहहरूमा जागरण ल्याउने प्रयास गर्दछ।यसप्रकार दर्शनले क्रियात्मकता सँगसँगै एक समरूप तथा सुसंगत विश्वदृष्टिकोण पनि प्रस्तुत गर्दछ।यो सर्वहारा वर्गको दर्शन हुनुको कारणले सत्ता वर्गको अनुरोधकर्ता हो, जसले अधीनस्त वर्गलाई सरकार चलाउने कला सिकाउँदछ र सत्यलाई बुझ्ने चेष्टा पनि गर्दछ।सत्य र तथ्यमा सारभूत अन्तर हुन्छ।प्रत्येक सत्य व्यक्तिपरक हुन्छ।त्यसकारण सत्यसम्म पुग्नको लागि सबभन्दा पहिले विज्ञानलाई बढाउने वस्तु कुन हो भन्ने कुरा जान्न आवश्यक हुन्छ।ग्राम्सीको भनाइ अनुसार ज्ञान केवल अवलोकनीय तथ्यहरूसम्म मात्र सीमित छैन, बरु केही अज्ञात वास्तविकताहरूसम्म पनि त्यसको पहुँच हुन्छ, जुन कालान्तरमा ज्ञानको परिधिमा आउन सक्दछन्।दर्शनको सैद्धान्तिक विचारधाराले के कुरामा जोड दिन्छ भने जुन आज अज्ञात छ, भोलि त्यही ज्ञानको श्रेणीमा आउन सक्दछ। यसकारण दर्शन सत्यको एक प्रणाली हो।प्रत्येक सत्यको एक अस्थायी मूल्य हुन्छ। सत्यको खोज तब फलदायक हुन्छ, जब यसको लागि वैज्ञानिक विधिको प्रयोग गरिन्छ।त्यसैले सत्यको समस्या दर्शनकै समस्या हो।दार्शनिकको कार्य मानिसहरूको चेतनामा वृद्धि गरी उनीहरूलाई सत्यको निकट लैजानु हो। व्यक्तिको दर्शन उसको राजनीतिमा निहित हुन्छ र राजनीति एक प्रेक्सिस हो।प्रेक्सिस सिद्धान्त र व्यवहारको एकरूपता हो। यो विचार र व्यवहार, व्यक्ति र वस्तुहरूमा अन्तर्विरोधको द्वन्द्वात्मक एकता हो, जसमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण योगदान हुन्छ।

यसरी उपरोक्त विवेचनाको आधारमा के भन्न सकिन्छ भने ग्राम्सीको विश्वदृष्टिकोणका तीन तत्व – प्रेक्सिसको दर्शन, ऐतिहासिक भौतिकवाद तथा सत्यको समस्या हुन्।यी तीन तत्व एक-आपसमा यसरी जोडिएका छन् कि यिनीहरूलाई एक-अर्कोबाट अलग गरेर ग्राम्सीको दृष्टिकोणलाई बुझ्न न त संभव हुन्छ र न सजिलो नै हुन्छ।ग्राम्सीको दर्शनमा मार्क्सवादको सार नै राजनीतिको आधार हो।

बुद्धिजीवी सम्बन्धी विचार

ग्राम्सीले क्रान्तिकारी आधिपत्यपूर्ण चेतनाको सृजनामा बुद्धिजीवीहरूको भूमिकामाथि विशेष ध्यान दिएका थिए।उनले इतिहासमा धार्मिक विचारधारा र राष्ट्रियतावादको राज्य विचारधाराको सिर्जनामा परम्परागत विद्वानहरूद्वारा निर्वाह गरिएको भूमिकाको पहिचान गर्नको लागि मार्क्सवादीहरूलाई आव्हान गरेका थिए।यो तथ्यबाट ऐतिहासिक गुटको गठन गराउन र यसको आधिपत्य स्थापित गराउनमा आधुनिक सचेतन बुद्धिजीवीहरूको प्रबल महत्व हुन्छ भन्ने कुरा थाहा हुन्छ।ग्राम्सीले कुलीनहरू र पीडितहरूको वैचारिक आधिपत्यलाई सुनिश्चित गराउनको लागि अग्रसर जनसमुदायको द्वन्द्वात्मक सम्बन्धलाई प्रस्तुत गरे।बुद्धिजीवीहरूले कुनै अजैविक पदार्थका साना-साना टुक्रा र साधन जम्मा गरी कुनै सतह सजाउने वा  चिन्तन सम्पूर्तिको कार्य गर्ने शिल्पकार जस्तै श्रमजीवी समूहरूको बीचमा सुसंगति स्थापित गर्ने भूमिका निर्वाह गर्दछन्।सहजवृत्तियुक्त अधिनस्थहरूलाई तत्कालीन सचेत सामाजिक वर्गमा बदल्नमा सर्वाधिक सक्रिय भूमिकाको निर्वाह बुद्धिजीवीहरूले नै गर्नुपर्ने हुन्छ।यहाँसम्म कि वर्गीय बुद्धिजीवी पनि आफ्नो विचारधारामा केवल सहज हुन्छ। क्रान्तिको लागि आधिपत्यवादी आचरणयुक्त बुद्धिजीवी नै आवश्यक हुन्छन्, जसले यसलाई राष्ट्रिय कर्ममा परिणत गर्दछन्।

बुद्धिजीवीहरूको अवधारणालाई ग्राम्सीको चिन्तनको एक महत्त्वपूर्ण विषय मानिन्छ।दार्शनिक रूपमा यो ‘सबै मानिस दार्शनिक हुन्’ भन्ने अवधारणासँग सम्बन्धित छ।यसले ग्राम्सीको शैक्षिक विचारधारासँग पनि गहिरो सम्बन्ध राख्दछ।यस अर्थमा जोसँग दिमाग हुन्छ र त्यसको उपयोग पनि गर्दछन् भने तिनीहरूलाई बुद्धिजीवी भनिन्छ।उपरिसंरचनाको सिद्धान्तकार भएकोले ग्राम्सीले बुद्धिजीवीको अवधारणालाई नै आफ्नो चिन्तनको केन्द्रबिन्दु बताएका छन् र यसलाई मार्क्सवादसँग धेरै व्यापक अर्थमा प्रयोग गरेका छन्।ग्राम्सीले दक्षिण इटलीको समाजको गहन विश्लेषण गरेपछि आफ्नो यो तर्क प्रस्तुत गरेका छन्, जसानुसार सबै मानिस बुद्धिजीवी हुन् तर समाजमा सबै व्यक्तिले बुद्धिजीवीको कार्य भने गर्दैनन्।

ग्राम्सीको बुद्धिजीवीको परिभाषा व्यापक रहेको छ।उनका अनुसार हरेक व्यक्ति बुद्धिजीवी हो, जो धनार्जनको लागि प्रत्यक्ष रूपमा श्रमको सट्टा बुद्धिबलबाट काम गर्दछ तथा श्रमको आफ्नो आवश्यकता बजारबाट पूरा गर्दछ।यसरी उनले पूँजीवादी उद्योगपतिलाई पहिलो बुद्धिजीवी मानेका छन्, जसले आफूसँगै प्राविधिक विशेषज्ञ, अर्थशास्त्री, राजनीतिज्ञ, संस्कृतिकर्मी, विधिवेत्ताको समूह बनाउँदछ।त्यसपछि उनीहरूलाई आफ्नो हित अनुरूप उपयोग गर्दछ।ऊ स्वयं यो संगठनको शीर्ष स्थानमा रहन्छ र आफ्ना समूहका सदस्यहरूको स्तर निर्धारणका लागि एकमात्र निर्णायक शक्ति हुन्छ।ग्राम्सीका अनुसार हामीले के बुझ्नुपर्दछ भने धेरै बुद्धिजीवी आफ्ना समूहभित्र स्वयंलाई स्वतन्त्र र सर्वेसर्वा घोषित गरी शीर्ष स्थान कब्जा गर्दछन्। उनीहरू स्वयं र आफ्नो समूहलाई अर्कोबाट अलग तथा विशिष्ट मानिरहन्छन्।यो विशिष्टताबोधले उनीहरूलाई आयको ठूलो हिस्सा आफूसँग राख्न, आफ्नो वर्चस्व कायम राख्नको लागि अन्यमाथि शासन गर्नलाई प्रेरित गर्दछ।ग्राम्सीले आफ्ना पूर्ववर्ती विचारकहरूका बुद्धिजीवी सम्बन्धी विचारहरूको गहन अध्ययन गरेर तथा इटलीको तत्कालीन आर्थिक, राजनीतिक र सामाजिक अवस्थाको विश्लेषण गरेर के निष्कर्ष निकाले भने सबै व्यक्ति बुद्धिजीवी हुन्, तर समाजमा उनीहरूको भूमिका बुद्धिजीवीको हुँदैन।ग्राम्सीका अनुसार समाजमा प्रत्येक व्यक्ति व्यवसायिक कार्यहरूमा सम्बद्ध हुने भएकोले उसले केही न केही बौद्धिक क्रिया पनि अवश्य गरिरहन्छ। त्यसकारण बुद्धिजीवी विचारहरूको धरातलसँगसँगै उत्पादनका साधन एवं सम्बन्धहरूमा पनि बलियोसँग टिकेका हुन्छन्।ग्राम्सीले फासिस्ट जेलमा बसेर के कुरा सार्वजनिक गरेका थिए भने बुद्धिजीवीले आफ्नो परम्परागत अर्थबाट भिन्न समाजको संगठन, उत्पादन, संस्कृति वा जनप्रशासनको कार्य पनि गर्दछन्। समाजमा दार्शनिक, कलाकार, वैज्ञानिक, धार्मिक नेता, आदि सबैको भूमिका बुद्धिजीवीकै हुन्छ।उदाहरणको लागि मजदूरको पहिचान उसको शारीरिक श्रम नभएर त्यो परिस्थिति पनि हो, जसमा उसले विशेष कार्य गर्दछ।ग्राम्सीका अनुसार उत्पादनको ढाँचा नै बुद्धिजीवी वर्गको निर्माणको लागि उत्तरदायी हुन्छ।औद्योगिक क्रान्तिभन्दा पहिले सामन्ती जमिन्दार पनि विशेष प्राविधिक योग्यताको मालिक भएकोले यस्ता बुद्धिजीवी वर्गको प्रतिनिधित्त्व गर्दथे, जसको कार्य सैनिक क्षमताको परिचय दिनु थियो। तर औद्योगिक क्रान्तिको कारण आएको उत्पादनमा ढाँचामा परिवर्तनहरूको कारणले नयाँ-नयाँ बुद्धिजीवीहरूलाई जन्म दियो।औद्योगिक क्रान्तिले बुद्धिजीवी वर्गलाई व्यापक आधार प्रदान गरी कुलीनतन्त्रीय विचारधारालाई चुनौति दियो र प्रशासन, विद्वान, वैज्ञानिक, सिद्धान्तकार, दार्शनिक, आदिको नयाँ वर्ग तयार गरिदयो।ग्राम्सीको भनाइ अनुसार शारीरिक श्रम जतिसुकै निम्नस्तरको भए पनि त्यसमा केही ने केही प्राविधिक योग्यताको थोरै रचनात्मक बौद्धिक क्रिया अवश्य नै रहेको हुन्छ। यही कारणले समाजमा प्रत्येक व्यक्ति बुद्धिजीवी हो, चाहे ऊ जुनसुकै कार्य वा पेशामा लागेको होस्।

ग्राम्सीले ऐतिहासिक तथ्यहरूको विश्लेषण गरेपछि बुद्धिजीवीहरूलाई परम्परागत (traditional) र जैविक वा आंगिक (organic) गरी दुई भागमा विभाजित गरेका छन्।उनले अध्ययनबाट के पाए भने फ्रान्स र इंग्ल्याण्डमा बुर्जुवा बुद्धिजीवीहरूको प्रभाव पादरीहरू र अन्य कुलीनतन्त्रीहरूभन्दा बढी छ, किनकि यिनीहरूको नै आर्थिक शक्तिमाथि प्रभुत्व छ।यसको विपरीत इटलीमा परम्परागत बुद्धिजीवीहरूको आधिपत्य छ, जसले बुद्धिजीवीहरूलाई बराबर गरी आफ्ना जैविक बुद्धिजीवीहरूको निर्माण गर्दछन्।ग्राम्सीले इटलीको आर्थिक, सामाजिक र राजनीतिक परिस्थितिहरूको विश्लेषण गरेपछि बुद्धिजीवीहरूको निर्माणको बारेमा के कुरामा बल दिए भने उत्पादनका साधनहरूमा परिवर्तन आएपछि समाजको स्वरूपमा पनि परिवर्तन आउँछ र नयाँ-नयाँ समूहहरूको जन्म हुन्छ।यो परिवर्तनले बुद्धिजीवीहरूको आपसी सम्बन्ध तथा राज्यसँग तिनीहरूको सम्बन्धलाई पनि प्रभावित गर्दछ।यो परिवर्तनको परिणामस्वरूप नयाँ आर्थिक व्यवस्थाका नयाँ प्रतिनिधि प्रकट हुन्छन्।यहीँबाट जैविक बुद्धिजीवीहरूको जन्म हुन्छ, जसले अन्तर्वर्गीय वातावरण स्पष्ट बनाउँदछन्।यसरी ग्राम्सीले दक्षिण इटलीमा परम्परागत बुद्धिजीवीहरू तथा उत्तरमा जैविक बुद्धिजीवीहरू (सर्वहारा वर्गका प्रतिनिधि) माथि जोड दिएका छन्।

ग्राम्सीले उत्पादनको दृष्टिले बुद्धिजीवीहरूलाई परम्परागत र जैविक बुद्धिजीवी गरी दुई भागमा विभाजन गरेका हुन्।परम्परागत बुद्धिजीवीहरूमा साहित्यकार, वैज्ञानिक, दार्शनिक र धार्मिक-सांस्कृतिक क्रियाकलापमा संलग्न, आदि व्यक्ति सामेल हुन्छन्।यी बुद्धिजीवी आफ्नो सामाजिक वर्गबाट स्वतन्त्र हुन्छन् र उनीहरूको कार्य पनि स्वायत्त प्रकृतिको हुन्छ।यी बुद्धिजीवीहरू आफ्ना जन्मका वर्गहरूबाट नाता तोडेर एक अन्तर्वर्गीय वातावरणलाई जन्म दिन्छन्।यिनीहरूले उत्पादन र उत्पादन शक्तिमा परिवर्तन आएपछि पनि भूतकाललाई वर्तमानसँग जोडिराख्दछन् र समाजमा आफ्नो परम्परागत भूमिका कायम राख्नको लागि हरसंभव प्रयास गर्दछन्।जैविक बुद्धिजीवी उत्पादन प्रक्रियामा आएको परिवर्तनका उपज हुन्छन्।उत्पादन प्रक्रियामा परिवर्तन आएपछि समाजमा नयाँ-नयाँ वर्गहरूको पनि जन्म हुन्छ।इंग्ल्याण्डको औद्योगिक क्रान्तिले यही प्रक्रियामा नयाँ-नयाँ सामाजिक वर्गहरूलाई जन्म दिएको थियो।यसकारण त्यहाँ जैविक बुद्धिजीवीहरूको नै बढी प्रभाव पर्र्यो।नयाँ वर्गलाई नेतृत्वको आवश्यकता अनुभव भएपछि यसप्रकारका बुद्धिजीवीहरूको जन्म हुन्छ।बुर्जुवा र सामन्त अधिपति कालान्तरमा आ-आफ्ना वर्गका जैविक बुद्धिजीवी नै रहेका छन्। पूँजीवादी व्यवस्थाले सर्वहारा वर्गका बुद्धिजीवीहरूलाई पैदा गरेको छ।यद्यपि यिनीहरूको भूमिका संगठनको रूपमा नै बढी प्रभावशाली रहेको छ, किनभने यिनीहरूले राजनीतिक दललाई अधिक महत्त्व दिइरहेका हुन्छन्।जैविक बुद्धिजीवीहरूको दृष्टिकोण समाजवादी रहेको छ।ग्राम्सीले कुनै पनि आन्दोलनको सफलताको लागि जैविक बुद्धिजीवीहरूको निर्माणलाई आवश्यक शर्तको रूपमा मान्यता दिएका छन्।उनको भनाइ अनुसार आंगिक वा जैविक बुद्धिजीवीहरूबिना न त कुनै क्रान्ति हुन सक्दछ र न त्यो सफल नै हुनसक्दछ।ग्राम्सीले पूँजीवादी व्यवस्थाको कारण उत्पन्न भएका सर्वहारा वर्गका बुद्धिजीवीहरूलाई नै क्रान्तिका अग्रदूत मानेर तिनीहरूलाई धेरै महत्त्व दिएका छन्।उनको मान्यता अनुसार यी बुद्धिजीवीले नै जनता र नेतृत्वमा सन्तुलन कायम राख्न सक्दछन् र सामाजिक परिवर्तनका कुनै पनि संभावनालाई सफल बनाउन सक्दछन्। सर्वहारा वर्गमा चेतना तथा सबै प्रकारका जागरूकता एवं संगठन बुद्धिजीवीहरू बिना असंभव हुन्छ।

ग्राम्सीले बुद्धिजीवीहरूलाई यस वर्गीकरण अन्तर्गत राखेपछि सर्वहारा वर्गका बुद्धिजीवी ऐतिहासिक आधारमा बुर्जुवा वर्गका बुद्धिजीवीभन्दा अलग हुन्छन् भन्ने कुरा स्पष्ट पारे।उनका अनुसार समाजमा जुनसुकै प्रकारको परिवर्तन बुद्धिजीवीहरूद्वारा नै ल्याउन सकिन्छ। बुद्धिजीवीहरूले नै व्यक्तिलाई जागरूक बनाउँदछन्।सबै वर्गका बुद्धिजीवीले आ-आफ्ना वर्गको प्रतिनिधित्व गर्नुको बाबजुद पनि राजनीतिक प्रक्रियामा भाग लिन्छन्।यिनीहरूको राजनीतिक प्रक्रियालाई प्रभावित गर्ने क्षमता अलग-अलग हुन्छ।बुर्जुवा वर्गका बुद्धिजीवी वर्ग आफूलाई संगठित राखेर आफ्नो प्रभुत्व कायम गर्दछन् भने सर्वहारा वर्गका बुद्धिजीवी सामूहिक बुद्धिजीवी हुन्छन्।यस वर्गका बुद्धिजीवी राज्यसत्ता हासिल गरेपपछि मात्र आफूलाई जैविक बुद्धिजीवीहरूको श्रेणीमा ल्याउन सक्दछन्।शासनसत्ता प्राप्त नगरिकन यिनको लागि आफ्ना बुद्धिजीवी पैदा गर्न असंभव हुन्छ।बुर्जुवा वर्गको अधिनायकवादलाई उखेलेर फ्याँक्नको लागि यिनीहरूद्वारा आफ्ना विशेष संस्कृति र सामूहिक जागरूकतालाई लक्ष्य बनाएर चल्नु आवश्यक हुन्छ।यस दृष्टिले ग्राम्सी उत्पादनको ढाँचाको अपेक्षा ती साधनहरूमा बढी जोड दिन्छन्, जसद्वारा सर्वहारा वर्गले पूँजीवादी समाजको आर्थिक-सामाजिक सम्बन्धहरूको ज्ञान प्राप्त गर्न सक्दछ र आवश्यकता पर्दा राजनीतिक रूपले पूँजीवादी ढाँचालाई ध्वस्त पनि गर्न सक्दछ।

ग्राम्सीले स्थानको आधारमा बुद्धिजीवीहरूलाई ग्रामीण र शहरी बुद्धिजीवी गरी दुई भागमा विभाजित गरेका छन्। उत्पादन प्रक्रियाको दृष्टिले अन्तरको आधारमा ग्रामीण र शहरी बुद्धिजीवीहरूमा अन्तर पाउनु स्वाभाविक कुरा हो।ग्राम्सीका अनुसार शहरमा बस्ने बुद्धिजीवीहरू उद्योगसँगै विकसित भएका हुन्छन्। औद्योगिक प्रणालीमा आउने उतारचढावले बुद्धिजीवीहरूको निर्माणको प्रक्रियालाई पनि प्रभावित गरेको हुन्छ। शहरी बुद्धिजीवी उत्पादक र मजदूरको बीचका कडी हुन्।ग्रामीण बुद्धिजीवी धेरैजसो पारम्परिक हुन्छन्।यिनीहरू ग्रामीण जनताका सामाजिक जनसमूह र साना शहरका निम्न बुर्जुवा वर्गसँग जोडिएका हुन्छन्।उनीहरूलाई पूँजीवादी प्रणालीले अझैसम्म विकसित गरेको हुँदैन र उनीहरूलाई अझैसम्म गति पनि पैदा गरेको हुँदैन।यसप्रकारका बुद्धिजीवीले कृषि जनसमूहलाई स्थानीय र राजकीय प्रशासनको जनसम्पर्कमा ल्याउँदछन्।उनीहरूको पेशेवर मध्यस्थतालाई राजनीतिक मध्यस्थताबाट अलग गर्न धेरै कठिन हुन्छ।यसमा पूजारी, वकील, नोटरी, अध्यापक, डाक्टर, आदि सामेल हुन्छन्। यी बुद्धिजीवीहरू कृषक समूहको लागि यस्ता सामाजिक प्रतिमान हुन्छन्, जसलाई आफ्नो आदर्श मानेर कृषक समूहले आफ्ना सन्तानलाई यस वर्गसँग जोड्ने इच्छा राख्दछन् र त्यसलाई पूरा गर्ने प्रयास गरिरहन्छन्।शहरी बुद्धिजीवीहरूको भूमिका ग्रामीण बुद्धिजीवीहरूभन्दा सर्वथा उल्टो हुन्छ। ग्राम्सीका अनुसार शहरी बुद्धिजीवी ग्रामीण बुद्धिजीवीभन्दा बढी संगठित हुन्छन् र राजनीतिक प्रक्रियालाई नेतृत्वद्वारा प्रभावित गर्नमा सक्षम हुन्छन्।ग्राम्सीले उत्पादन प्रक्रियामा आउने परिवर्तनले नै बुद्धिजीवीहरूको वर्गचरित्रमा पनि परिवर्तन गर्दछ भन्ने कुरा स्पष्ट पारे।र, यो परिवर्तन तथा बुद्धिजीवीहरूको जन्म र विकासको आधारमा पाइने अन्तर समाजको विशेष ढाँचामा धेरै निर्भर हुन्छ।बुद्धिजीवीहरूको निर्माण एक समाजबाट अर्को समाजमा दृष्टिगत रूपमा धेरै भिन्न हुन सक्दछ। यही कारण प्राचीन समाजका बुद्धिजीवी आधुनिक समाजका बुद्धिजीवीभन्दा सर्वथा भिन्न छन्।ग्राम्सीले पनि मार्क्स र लेनिनले जस्तै सर्वहारा वर्गलाई जागृत गरी  संगठित बनाउने आवश्यकतामाथि जोड दिएर मार्क्सवादलाई लोकप्रिय बनाउने कोशिस गरे।ग्राम्सी सामाजिक परिवर्तनमा रूचि लिन्थे।यसकारण उनले मानवतावाद र सुधारवादको मिश्रित रूप भएको र जटिल सांस्कृतिक समस्याहरूको सर्वमान्य हल प्रस्तुत गर्न सक्षम भएको मार्क्सवादको अवधारणालाई अगाडि बढाएका थिए।यसरी उनले सामाजिक परिवर्तनमा बुद्धिजीवी वर्गकै भूमिकामा जोड दिएका छन्।   

प्राधान्य वा प्रभुत्वको अवधारणा

ग्राम्सीको प्राधान्य वा प्रभुत्वको अवधारणा (concept of hegemony) लाई मार्क्सवादको विकासमा एक अद्वितीय योगदान मानिन्छ।वास्तवमा ग्राम्सीले मार्क्सका केही सिद्धान्तहरूको पुनर्निर्माण गरेका छन्। ग्राम्सीका अनुसार मानिस केवल शक्तिद्वारा मात्र नभएर विचारद्वारा पनि शासित हुन्छ।इतिहासदेखि नै प्रत्येक युगमा शासक वर्गका विचार नै जनतामा प्रभावित भएका छन् भन्ने मार्क्सको मान्यता थियो।ग्राम्सीको मतानुसार विचारहरूको एक आवश्यक कार्य भनेको विचारधाराको स्तरमा समाजको एकतालाई संरक्षित गर्नु हो। विचार वर्गसंघर्षलाई नै समाप्त गर्नसक्ने शक्तिशाली हुँदैन।तर विचार वर्गमा आधारित समाजलाई चलायमान राख्नमा सहायक हुन्छ।पश्चिमी सभ्यताको अस्तित्व यही विचारधाराको तत्वको कारण विद्यमान छ।प्रभुत्वको अर्थ के हो भने राजनीतिक नेतृत्वले जनताको सहमतिमा आधारित हुनुपर्दछ र यो सहमतिलाई प्राप्त गर्नको लागि शासक वर्गको विश्वदृष्टिलाई जनतामा प्रचारप्रसार गरिन्छ ताकि उनीहरूले यो विचार अपनाउन सकून र शासक वर्गको विरुद्ध आवाज उठाउन सकून्।प्रभुत्व शब्दको प्रयोग पहिलो पटक रूसी क्रान्तिकारी प्लेखानोभ, एक्सेलरोड, लेनिन, आदिद्वारा गरिएको थियो।प्लेखानोभ र उनका सहयोगीहरूले सर्वहारा वर्गको किसानहरूमाथि तथा दलको सर्वहारा वर्गमाथि प्रभुत्वलाई स्वीकार गरे।यसरी यो सिद्धान्तद्वारा विशाल किसान समाजको समर्थन थोरै सर्वहारा वर्गका क्रान्तिकारी कार्यक्रमको उद्देश्य प्राप्त गर्ने प्रयास गरियो।ग्राम्सीले प्रभुत्वको प्रयोग शुरुमा नेतृत्वको अर्थमा गरे।जेल गएपछि भने उनले यो शब्दलाई व्यापक अर्थ प्रदान गरे।

ग्राम्सीको प्रभुत्वको अवधारणा उनको महत्वपूर्ण विचार हो।उनले आफ्नो पुस्तक प्रिजन नोट्समा आफ्नो चिन्तनको सैद्धान्तिक आधार यही अवधारणालाई बनाएको देखिन्छ।उनको यो अवधारणाको केन्द्रीय विचार के हो भने जनता शक्तिद्वारा शासित नभएर विचारद्वारा शासित हुन्छन्।शासनको आधार शक्ति वा बल बनेपछि प्रभुत्वको सामु त्यसको अस्तित्वको संकट उत्पन्न हुन्छ।ग्राम्सीका अनुसार नागरिक समाज वैचारिक सहमतिमा टिकेको हुन्छ।यसैमाथि प्रभुत्वको अस्तित्व निर्भर हुन्छ।यसरी ग्राम्सीले नागरिक समाज र राजनितिक समाजमा फरक छुट्ट्याएका छन्।नागरिक समाजमा निजी संस्थाहरू – जस्तो, स्कूल, धर्मशाला, क्लव, दल, आदि सामेल हुन्छन्।यिनीहरूले सामाजिक र राजनीतिक चेतना पैदा गर्दछन्।यसको विपरीत राजनीतिक समाजमा सरकार, न्यायालय, पुलिस, सेना, आदि सामेल हुन्छन्।यिनीहरू प्रभुत्वका प्रत्यक्ष उपकरण हुन्।ग्राम्सीका अनुसार नागरिक समाजले नै बुद्धिजीवीहरूद्वारा प्रभुत्व पैदा गरी महत्त्वपूर्ण भूमिका खेल्छन्। यदि बुद्धिजीवीहरूले सफलतापूर्वक प्रभुत्त्व पैदा गरे भने नागरिक समाजमा शक्तिको अस्तित्व नष्ट हुनेछ र यस्तो अवस्थामा शासन वैचारिक सहमितमा नै आधारित हुनेछ।

ग्राम्सीले मार्क्सवादी परम्परामा केही सुधार गरी आफ्नो यो अवधारणालाई विकसित रूप दिएका हुन्।ग्राम्सीले लेनिनको प्रभुत्वको अवधारणालाई सबभन्दा महान योगदान भनेका छन्।यो लेनिनको सैद्धान्तिक कार्य हो।लेनिनले यो अवधारणाको प्रयोग सर्वहाराको भूमिका निर्वाह गर्नको लागि गरेका छन्।ग्राम्सीले यसको प्रयोग त्यो प्रक्रियाबाट लिएका छन्, जसमा सर्वहारा वर्गले ती सबै शक्तिहरूमा प्रभुत्व प्राप्त गर्दछन्, जो पूँजीवादको विरुद्ध हुन्छन् र उनीहरूलाई एक राजनीतिक, आर्थिक, ऐतिहासिक संगठनमा एकताबद्ध गरी आन्तरिक गतिरोधलाई समाप्त गर्दछन्।आर्थिक,सामाजिक र वैचारिक शक्ति एक अस्थायी एकतामा समाजलाई बदल्नमा प्रयोग गर्ने ऐतिहासिक संगठनको यो धारणा नै ग्राम्सीको विश्लेषणको केन्द्रिय विचार हो।ग्राम्सीले आफ्नो जीवनको प्रारम्भिक समयमा यसलाई प्रभुत्वको एक प्रणालीको रूपमा मात्र प्रयोग गरेका थिए तर उनको राजनीतिक व्यवहार प्रभुत्वको भावनासँग घनिष्ठ रूपले जोडिएको कारणले यो प्रभुत्व एक संस्था हो भन्ने कुरा यो विचारको पुष्टि हो।संस्थाको रूपमा राज्यको अर्थ मजदूरहरूलाई नयाँ राज्यको निर्माणको लागि प्रशिक्षित गर्नु हो।फ्याक्ट्री काउन्सिल यही सन्दर्भमा प्रयोग गरिएको हो।यिनीहरू वास्तवमा क्रान्तिका विचारहरूलाई चेतनाद्वारा संभव बनाउनको लागि प्रयासरत हुन्छन्।ग्राम्सीको यो विचार लेनिनको जस्तै सन् १९२६ सम्म वर्ग नेतृत्वको रूपमा विकसित भयो, जसमा मजदूर वर्गलाई आफ्नो स्वतन्त्र राजनीतिक स्वरूप वकसित गर्नु मानियो।तर पछि प्रिजन नोट्समा उल्लेख भए अनुसार उनको धारणामा परिवर्तन आएको देखिन्छ।अब उनले प्रभुत्वलाई नयाँ अवधारणामा विकसित गरे।उनले प्रभुत्वलाई समूहको नैतिक र बौद्धिक नेतृत्वको रूपमा मान्यता प्रदान गरे।परमाधिकारकाको अवधारणाको नेतृत्वको रूपमा अब प्रभुत्वको विचार समूहको नैतिक र बौद्धिक नेतृत्वको विचारसँगसँगै प्रभुत्वको उत्पीडक स्वरूपको पनि विकास बन्नगयो।ग्राम्सीको भनाइ अनुसार एउटा वर्गको विकासमा आर्थिक, सामूहिक र आधिपत्यात्मक गरी तीन पक्ष हुन्छन्।यस दृष्टिले प्राधान्य वा प्रभुत्व नै नेतृत्व हो र अन्य वर्गका बुद्धिजीविहरूको सहमति नै यसको आधार हो।ग्राम्सीका अनुसार प्रभुत्व दुई प्रकारका हुन सक्दछन्।प्रथम रूपमा त यो सर्वहारा वर्गको एक यस्तो युक्ति हुन सक्दछ, जसद्वारा सर्वहारा वर्गले नयाँ राज्यको निर्माण गर्न सक्दछ।अर्को रूपमा यो राज्यको एक भाग हुन सक्दछ, राज्यको एक भागको रूपमा प्रभुत्वको कार्य शासक वर्गको लागि सहमति आर्जित गर्नु हो।ग्राम्सीको भनाइ अनुसार अहिलेसम्मको विश्व इतिहासको अध्ययन गरेपछि के कुरा सर्वविदित हुनजान्छ भने आजसम्मका जनआन्दोलन बुर्जुवा समाजको पक्षमा नै भएका छन्।जबसम्म सांस्कृतिक प्रभुत्व बुर्जुवा वर्गको हातमा रहन्छ, तबसम्म सर्वहारा क्रान्ति असंभव हुन्छ।सर्वहारा वर्गको आफ्नो प्रभुत्व स्थापित गर्नको लागि संकीर्ण हितहरूबाट माथि उठेर कार्य गर्नुपर्दछ।यसलाई सम्पूर्ण समाजका हितहरूको संरक्षक बनाउने प्रयास गर्नुपर्दछ।जबसम्म सर्वहारा वर्गका बुद्धिजीवी सक्रिय रूपले राजनीतिक सहभागिता निर्वाह गर्दैनन्, तबसम्म उनीहरूको हित हुनेछैन।ग्राम्सीका अनुसार दलीय संगठन र फ्याक्ट्री काउन्सिल पनि नागरिक समाजमा आफ्नो प्रभुत्व बिना समाजवादी कार्यक्रमलाई सफल बनाउन सक्दैनन्।ग्राम्सीले सर्वहारा वर्गले आफ्नो अधिनायकत्वको स्थापना बिना समाजवादको स्थापना गर्न सक्तैनन् भन्ने विचारमाथि विशेष जोड दिएका छन्।कुनै पनि क्रान्तिको लागि समाजमा प्रभुत्वको सहमति र पार्टी दुवैको आवश्यकता पर्दछ।सहमति र बलको प्रभुत्व बिनाको विचार निरर्थक हुन्छ।प्रत्येक नागरिक समाजमा प्रभुत्वको लागि संघर्ष सामान्य कुरा हो।समाजवादको स्थापनाको लागि यो संघर्ष आर्थिक र राजनीतिक शक्तिमाथि आफ्नो अधिकार प्राप्त गर्नको लागि आवश्यक हुन्छ। कहिलेकाहीँ यो नागरिक समाजमा राजनीतिक शक्ति प्राप्त गर्नको लागि पनि जारी रहन्छ।यही नै प्रभुत्वको विचारको अन्तर्वस्तु हो।

यसरी ग्राम्सीले प्रभुत्वको अवधारणालाई विश्वक्रान्तिको विचारसँग जोडेका छन्। उनले बुद्धिजीवीहरूको विचारलाई यो अवधारणासँग जोडेर समाजवादको मार्ग तयार गरेका छन्।उनले के कुरामा विशेष जोड दिएका छन् भने सर्वहारा वर्गका बुद्धिजीवीहरूको निर्माण बिना विश्व क्रान्तिद्वारा समाजवादको कुरा गर्नु निरर्थक हुन्छ।राज्यशक्तिमाथि नियन्त्रणमा कोही पनि त्यतिखेरसम्म सफल हुँदैन, जबसम्म नागरिक समाजमा प्रभुत्व हुँदैन। नागरिक समाजमा प्रभुत्व नै समाजवादी कार्यक्रमको सफलताको आधार हो।यही विचारको कारणले नै ग्राम्सीलाई लेनिन तथा अन्य समाजवादीहरूभन्दा फरक मानिएको पाइन्छ।  

राज्य र नागरिक समाज सम्बन्धी विचार

ग्राम्सीका अनुसार राज्यलाई नागरिक समाजको प्रकृतिसँग जोडेर मात्र बुझ्न सकिन्छ।नागरिक समाज यस्तो समाज हो, जहाँ राज्यका सम्पूर्ण शक्तिहरू केन्द्रित हुन्छन्।यदि अर्थव्वयस्थाले कुनै समाजको आधारभूत संरचना निर्माण गर्दछ भने समाजको आर्थिक आधारमा राजनीतिक समाज र नागरिक समाज गरी उपरिसंरचनाहरू हुन्छन्। राजनीतिक समाजमा राज्यप्रणाली, राज्य संरचनाहरू जस्तो कि कानून, न्यायालय, पुलिस विभाग एवं अन्य प्रशासानिक विभाग, राजनीतिक दल र चुनाव प्रणाली आउँदछन्।मार्क्स, एंगेल्स, लेनिन जस्ता मार्क्सवादीहरूले राजनीतिक समाजमा विशेष ध्यान दिए र समाजवादको लक्ष्य प्राप्तिको उद्देश्यले सामाजिक परिवर्तन ल्याउनको लागि मार्क्सवादीद्वारा राजनीतिक शक्ति प्राप्त गर्ने कुरामा जोड दिए।तर ग्राम्सीको मान्यता के थियो भने क्रान्तिकारीहरूले नागरिक समाजमाथि प्रभाव पार्नको लागि विशेष ध्यान दिनुपर्दछ।नागरिक समाजको ग्राम्सीको आशय सामाजिक संस्थाहरू – शिक्षा, विचारधारा, परिवार, धर्म, आदि – सँग हो, जसले मुख्यगरी जनताको मन-मस्तिष्कमा प्रभाव पार्दछन्।ग्राम्स्कीका अनुसार व्यावहारिक प्रभावको सन्दर्भमा नागरिक समाज, राजनीतिक समाजको तुलनामा अधिक सशक्त र सक्षम हुन्छ। नागरिक समाजमा केवल अर्थव्यवस्थाको वस्तुपरक संरचना मात्र सक्रिय हुँदैन, बरु जनताको व्यक्तिपरक विश्वास, तिनीहरूको विचारधारा र परामर्शको पनि महत्व हुन्छ।नागरिक समाजमा आर्थिक सम्बन्धले वस्तुनिष्ठ रूपमा र चेतनाले व्यक्तिनिष्ठ रूपमा कार्य गर्दछन्। नागरिक संस्थाहरूमा विजय प्राप्त नगरीकन मार्क्सवादलाई राष्ट्रको सामूहिक समर्थन प्राप्त हुँदैन र त्यसबिना राजनीतिक विजय पनि स्थायी हुन सक्दैन।

यसरी ग्राम्सीको राज्य सिद्धान्त राज्य र नागरिक समाजको पारस्परिक सम्बन्धहरूको वश्लेषणमा आधारित रहेको देखिन्छ।मार्क्स र ग्राम्सी दुवैले राज्य सम्बन्धी विचारलाई नागरिक समाजको सन्दर्भमा स्पष्ट पारेका छन् तर मार्क्स र ग्राम्सीमा के कुरामा भिन्नता छ भने मार्क्सले आर्थिक सम्बन्धहरूमा अधिक जोड दिए, जबकि ग्राम्सीले उपरिसंरचनामा जोड दिएका छन्।ग्राम्सीको राज्य सम्बन्धी अवधारणा राजनीतिक र दार्शनिक तत्वहरूको विश्लेषणमा आधारित छ।ग्राम्सीले लेनिनले जहाँबाट छोडेका थिए, त्यहीबाट शुरु गरे।उनको मान्यता अनुसार राज्यमा राजनीतिक र नागरिक समाज दुवै सामेल हुन्छन्।राज्यसम्बन्धी विचारहरूको विश्लेषण गरेपछि उनले भनेका छन् – राज्य कहिल्यै पनि लोकतान्त्रिक थिएन, बरु निरंकुश र पुलिस राज्य जस्तै थियो।यो मजदूर र कृषक वर्गको विरुद्ध पूँजीपति वर्गको शासन थियो, उद्योगपति वर्गको अधिनायकत्व थियो।ग्राम्सीले आफ्नो विश्लेषणमा के भनेका छन् भने राज्य शोषणको यन्त्र हुनुको साथसाथै सबै सैद्धान्तिक र व्यवहारिक क्रियाकलापहरूको जटिल समूह हो, जसद्वारा शासक वर्ग शासितमाथि आफ्नो शासन वा आधिपत्य (प्रभुत्व) लाई न्यायोचित ठान्दछन् र उनीहरूको सहमति प्राप्त गर्ने कोशिस पनि गर्दछन्।ग्राम्सीका अनुसार शासक वर्गको प्रभुत्व नागरिक समाजको माध्यमबाट नै संभव भएको हो तर यो प्रभुत्व सबै समाजमा बराबर रहेको छैन।

ग्राम्सीका अनुसार राज्य नागरिक र राजनीतिक समाजको योग हो।उनले नागरिक समाजलाई पनि एक विशेष सूचनाको रूपमा लिएका छन्।कैयौं पटक त ग्राम्सीले नागरिक समाजलाई राजनीति र अर्थव्यवस्थाको बीचमा मध्यस्थता तथा आर्थिक संरचनालाई राज्यको बीचमा कानूनद्वारा दवाव दिने शक्ति बताएका छन्।उनका अनुसार नागरिक समाजको सबभन्दा महत्त्वपूर्ण कार्य संस्कृतिसँग सम्बन्धित हुन्छ।कैयौं ठाउँमा ग्राम्सीले अधिनायकत्व र प्रभुत्वलाई समान मानेका छन् र राज्यलाई पनि त्यही श्रेणीमा खडा गरेका छन्।उनले राज्य र नागरिक समाजलाई पनि समान मानेका छन्। यति सबै हुँदा पनि ग्राम्सी राज्य र नागरिक समाजको गहिरो सम्बन्धसँग परिचित थिए।तर उनले राज्य र नागरिक समाजमा फरक पनि छुट्ट्याएका छन्, जुन उदारवादी धारणामा धेरै स्पष्ट छ।राज्य र नागरिक समाजमा मुख्य फरक के हो भने नागरिक समाज निजी हुन्छ, जबकि राज्य राजनीतिक समाजको प्रतिनिधि हो।ग्राम्सीका अनुसार नागरिक समाजले राजनीति र अर्थव्यवस्थाको मध्यस्थताको कार्य गर्दछ।उनका अनुसार सर्वहारा वर्गको राज्यसत्तामाथि नियन्त्रण नागरिक समाजको माध्यमबाट नै संभव हुन्छ।जब नागरिक समाजद्वारा राजनीतिक समाजमाथि पूर्ण अधिकार हुन्छ, तब त्यही वर्गविहीन समाजको स्थिति हुनेछ।

पार्टी र राजनीति सम्बन्धी विचार

ग्राम्सीले मार्क्सवादप्रति आफ्नो लगाव प्रकट गर्दै त्यसका सामाजिक परिवर्तनका सिद्धान्तलाई आफ्नो राजनीतिको अवधारणको आधार बनाएका छन्।ग्राम्सीको दृष्टिमा दर्शन र राजनीतिमा अन्योन्याश्रित सम्बन्ध हुन्छ।उनका अनुसार यदि दर्शन वास्तविक हुन्छ भने त्यसले राजनीतिक पनि हुनुपर्दछ।उनले दर्शन र राजनीतिमा सम्बन्ध स्थापित गरेपछि राजनीतिलाई परिभाषित गर्दै भनेका छन् – सबै क्रियाकलाप प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विश्वको एक वा अन्य धारणाहरूको निर्माणसँग सम्बन्धित हुन्छ र एक वा अन्य धारणाहरूमा भागिदारी हुन्छ, राजनिति अन्तर्गत सामेल हुन्छ। यही आधारमा ग्राम्सी प्रेक्सिसको दर्शनलाई राजनीति र दर्शन दुवै मान्दछन्।उनका अनुसार प्रेक्सिसको दर्शन (मार्क्सवाद) राजनीति पनि हो र राजनीति एक दर्शन पनि हो।उनका अनुसार दर्शनको रूपमा राजनीतिको कार्य त्यो निश्चित लक्ष्यसम्म पुग्नको लागि कस्तो हुनुपर्दछ भन्ने कुरा सोच्नु पनि हो।यथार्थ रूपमा यही कारणले दर्शनलाई राजनीतिबाट अलग गर्न सकिंदैन।जागरूक व्यक्तिले नै वातावरणलाई बुझेर त्यसमा परिवर्तन ल्याउन सक्दछ अर्थात् त्यसलाई लक्ष्य अनुकूल बनाउन सक्दछ।कानून पनि राजनीतिक क्षेत्रमा नै आउँदछ, जुन शासन कलासँग सम्बन्धित हुन्छ र मानिसहरूमाथि शासकको शासन सजिलो बनाउँदछ।यही कारणले गर्दा राजनीति वा राजनीतिक क्रियाकलाप एक जैविक विकसित विद्या हो, जसले हमेशा नयाँ-नयाँ चुनौतिहरूको सामना गर्नुपर्दछ र समयानुसार संरचनामा परिवर्तन पनि गर्नुपर्दछ, ताकि समाजको पुनर्निर्माण गर्न सकियोस्।यही अर्थमा राजनीतिक दलले पनि संगठनात्मक र राजनीतिक दोहोरो कार्य गर्नुपर्दछ।

ग्राम्सीले मार्क्सवादको विश्लेषण गर्दै के भनेका छन् भने दर्शन, राजनीति र अर्थशास्त्र मार्क्सवादका तीन तत्व हुन्छन्। मानिस र पदार्थमा गतिरोध द्वन्द्वात्मक हुन्छ।भाषिक विकासको रूपमा मार्क्सवादका तीनै तत्वहरू एकाकार हुन्छन्।दर्शन मानव इच्छा तथा आर्थिक अवस्थाको बीचमा सम्बन्ध स्थापित गर्ने साधन हो।यसले संरचना र उपरिसंरचनाको बीचमा पनि एकता ल्याउँदछ।अर्थशास्त्रमा कार्यकर्ताहरू र औद्योगिक उत्पादक शक्तिहरूमा सम्बन्ध मूल्यद्वारा नियन्त्रित गरिन्छ। राजनीतिमा राज्य र समाजको बीचमा सम्बन्ध नै सन्तुलनको आधार हुन्छ। राजनीति शासक र शासित दुई श्रेणीमा नै आधारित हुन्छ।यो नेता तथा नेतृत्वमाथि पनि आधारित हुन्छ।नेता र नेतृत्व भाषिक अन्तर्क्रियामाथि आधारित हुन्छ।यसमा दलको प्रकृति राज्यको प्रकृतिकै मूल अवयव हो।राज्य प्रकृतिको एक विचारधारा र निश्चित लक्ष्यको समायोजन दल प्रकृतिमा नै संभव हुन्छ।यही सन्दर्भमा राजनीति, अर्थशास्त्र र सामाजिक संगठनले एक सम्पूर्णको निर्माण गर्दछन् र राजनीतिले मानिसलाई, जस्तो ऊ छ र निश्चित लक्ष्य प्राप्तिको लागि जस्तो उसले हुनुपर्दछ, त्यसको कल्पना गर्दछ। त्यसकारण वास्तविक दार्शनिक त्यही हो, जसलाई राजनीतिक ज्ञान हुन्छ।ग्राम्सीका अनुसार समाजका महत्वपूर्ण समस्याहरूको हल त राजनीतिको गतिशील र स्वायत्त प्रकृतिमा नै संभव हुन्छ।ग्राम्सीले पार्टीलाई नै आधुनिक राजकुमार भनेका छन्। उनको दृष्टिमा पार्टी बुद्धिजीवी समाजको एक संगठन हो, जसमा सामूहिक इच्छाको रूपमा व्यक्तिको इच्छाको लोप हुन्छ।पार्टीले नै श्रमसंघवादी प्रभुत्वलाई स्थापित गर्नको लागि तथा सभ्य समाजका मागहरूलाई पूरा गर्नको लागि जनसमुदायहरूमा राजनीतिक चेतनाको समावेश गर्दछ।पार्टी एक वर्गको लागि एक नामतन्त्र हो, जुन कुनै पनि पार्टीलाई इतिहास, समाज तथा राज्यका जटिल चित्रांकनबाट प्रकट हन्छ।राजनीतिक पार्टी आफ्ना वर्गका हितहरूप्रति न त आँखा मोड्न सक्छ न यो संभव नै छ।मार्क्सका क्रान्तिका विचारमा दलीय अनुशासनको महत्त्व कहिल्यै कम हुँदैन।यसकारण ग्राम्सीले आफ्नो दलसम्बन्धी अवधारणाको निर्माण मेकियावेली, मार्क्स र लेनिनका विचारहरूको गहन अध्ययनको आधारमा गरेको देखिन्छ, जस अन्तर्गत राजनीतिक दल श्रमिक वा सर्वहारा वर्गलाई नेतृत्व दिने यन्त्र हो र त्यसले बुर्जुवा वर्गको अन्त गर्दछ।यस कार्यमा ग्राम्सी बुद्धिजीवी वर्गको भूमिकालाई महत्त्वपूर्ण मान्दछन्।उनको मान्यता अनुसार यो वर्गबिना न त सर्वहारा वर्गलाई संगठित गर्न सकिन्छ र न कुनै क्रान्तिको आशा नै गर्न सकिन्छ।

यसरी ग्राम्सीको पार्टी सम्बन्धी विचार अनुसार पार्टीले आफ्नो नाम सार्थक बनाउनको लागि सांस्कृतिक र राजनीतिक दोहोरो कार्य गर्नुपर्दछ। आधुनिक युगमा समयको आवश्यकताले विभिन्न पार्टी संगठनहरूमा विभाजन अनिवार्य बनाइदिएको छ।जुन देशमा एउटै पार्टी छ, त्यहाँ पार्टीको कार्य राजनीतिक हुनुको साथसाथै प्राविधिक पनि हुन्छ।जहाँ पार्टीहरूको अप्रत्यक्ष चरित्र हुन्छ, त्यहाँ पार्टी शुद्ध रूपले शैक्षणिक, नैतिक र सांस्कृतिक समुदायको रूपमा नै कार्य गर्दछन्।यही दृष्टिले पार्टी दुई प्रकारका हुन्छन्।पहिलो पार्टीको निर्माण सांस्कृतिक मानिसहरूका विशिष्ट वर्गले गर्दछन्।यिनको कार्य आपसमा समान विचारधारा भएका पार्टीहरूको महान आन्दोलनलाई सांस्कृतिक र सामान्य विचारधाराको क्षेत्रमा नेतृत्व प्रदान गर्नु हो।अर्को पार्टी आधुनिक युगमा कुनै बुद्धिजीवी वर्गद्वारा निर्मित नभएर जनसमूहहरूको राजनीतिक केन्द्रप्रति सामूहिक बफादारीको देन हुन्छ।पार्टीको निर्माण र स्थापनाको निश्चित मितिको कुरा गर्नु त मूर्खतापूर्ण प्रश्न हो, पार्टीको अस्तित्वको लागि त निश्चित रूपले केही न केही अवश्य भन्न सकिन्छ।ग्राम्सीको भनाइ अनुसार दलको अस्तित्व जनतत्व, संयोजक तत्व र अन्तर्राष्ट्रिय तत्वहरूमा आधारित हुन्छ।जनतत्वमा साधारण र औसत व्यक्ति सामेल हुन्छन्, जसको भागिदारीले अनुशासन र निष्ठाको रूप लिन्छ।यो तत्व राजनीतिक दृष्टिले प्रभावहीन हुन्छ।दोस्रो तत्व संयोजक तत्व हो, जसले राष्ट्रिय स्तरमा केन्द्रीकरण गर्दछ र अनुशासनको तत्व पार्टीमा ल्याउँदछ।तेस्रो तत्व अन्तर्राष्ट्रिय तत्व हो, जसले पहिलो तत्वलाई दोस्रो तत्वसँग जोड्दछ।ग्राम्सीले पार्टी सम्बन्धी विश्लेषणमा पार्टीले मजदूर वर्गको एक हिस्सा हुनुपर्दछ भन्ने कुरालाई पनि जोडेका छन्। 

फासीवाद सम्बन्धी विचार

ग्राम्सीको राजनितिक चिन्तमा फासीवादको विश्लेषणलाई एक महान योगदान मानिएको छ।ग्राम्सीले इटली, स्पेन, पोर्चुगल, पोल्याण्ड, बाल्कन, आदि देशहरूका राजनीतिक दलहरू र विचारधाराहरूको अध्ययन गरेपछि के निष्कर्ष निकाले भने फासीवाद इटली र अन्य देशहरूमा जटिल सामाजिक-राजनीतिक समस्याहरूको समुचित संसाधन निकाल्नमा असफल भएको छ।यसमा विश्वदृष्टिको पनि नितान्त अभाव छ।इटलीमा फासीवादको आगमन पनि पूँजीवादकै जस्तै अपूर्ण परिस्थितिहरूको परिणाम हो।फासीवादको आगमनको कुनै निश्चित क्रम छैन।इटलीमा पूँजीवादको आगमन सर्वहारा वर्गको क्रान्तिको परिणाम नभएर विश्वयुद्धको परिणाम हो।यही कारण इटलीमा पूँजीवाद र फासीवाद दुवै अपूर्ण छन्।यही कारण इटलीमा विशेष वर्गको प्रभुत्वले प्रभुत्वको संकट पनि पैदा गरेको छ। फासीवाद शक्तिमाथि आधारित दर्शन भएको कारणले प्रभुत्वको संकटसँग जुधिरहेको छ।त्यसकारण फासीवाद एक निस्क्रिय क्रान्ति हो, जुन इटालीलाई आधुनिक बनाउन र यसको अर्थव्यवस्थालाई पुनर्निर्माण गर्नमा असफल भएको छ।यसको विपरीत रूसमा मार्क्सवाद एक पूर्ण र सक्रिय क्रान्ति भएको कारण त्यहाँ अर्थव्यवस्थाको पुनर्निर्माण गर्नमा सफल भएको छ।फासीवाद ग्रामीण निम्न बुर्जुवा र शहरी पूँजीपतिको गठजोडबाट उत्पन्न भएको हो।यसकारण विश्वदृष्टिको अभावमा इटलीको एकीकरण पनि कमजोर र अस्थायी भयो।यसकारण फासीवाद केवल इटलीमा मात्र होइन संसारबाट नै आफ्नो अल्पायुमै सकियो।

फासीवादको विश्लेषणमा ग्राम्सीले सीजेयरवाद, संघर्षको युद्ध र निस्क्रिय क्रान्ति गरी तीन सामान्य अवधारणाहरू पनि विकसित गरे।सीजेयरवाद एक यस्तो अवस्थाको प्रतीक हो, जसमा अज्ञात शक्तिद्वारा राजनीतिक प्रभुत्व स्थापित गरी प्रभुत्वको संकटकालीन व्यवस्थामा स्थिर सन्तुलन कायम गरिन्छ।यो सामान्य राजनीति अन्तर्गत वैधीकरणको प्रक्रियाबाट नै हुन्छ।ग्राम्सीले फासीवादलाई संघर्षको युद्ध भनेर यसलाई आन्दोलनको युद्धबाट अलग गरेका छन्।उनका अनुसार आन्दोलनको युद्धमा सैनिक शक्तिद्वारा राजनीतिक शक्तिमाथि एकाधिकारको पद्धति पाइन्छ। रुसको सन् १९१७ को नोभेम्बर क्रान्ति यसैको उदाहरण हो। यसकारण ग्राम्सीले फासीवादलाई निस्क्रिय क्रान्तिको अवधारणाबाट पुष्टि गरेका छन्।ग्राम्सीका अनुसार निस्क्रिय क्रान्तिको अवधारणा प्रत्यक्ष कार्वाहीको समर्थक होइन।यो स्थितिको युद्ध (war of position) समर्थक हुन सक्दछ। निस्क्रिय क्रान्तिको अवधारणा व्यूहरचनाको युद्धको प्रतिकूल हुन्छ।यही कारण फासिवाद यथास्थितिकै समर्थक रहेको छ।त्यसले परिवर्तनका कुनै पनि विचारको विरोध गरेको छ।यसरी ग्राम्सीले फासीवादको व्यापक विश्लेषण गरे र उनले इटलीको तत्कालीन समस्याको समाधान गर्नको लागि प्रतिकूल बनाए।त्यसकारण ग्राम्सीको फासीवाद सम्बन्धी विचारधारा राजनीतिक चिन्तकहरूको लागि आकर्षणको केन्द्र बनेको देखिन्छ।ग्राम्सीलाई यही कारण फासिवादको प्रामाणिक व्याख्याकार पनि मानिन्छ।

निष्कर्ष

ग्राम्सीले पूँजीवादी समाजलाई आधार अन्तर्गत पूँजीवादी उत्पादन प्रणाली र उपरिसंरचना अन्तर्गत कानूनी र राजनितिक ढाँचा, धर्म, नैतिक आदर्श, सामाजिक प्रथा, आदि मानेका छन्।उनका अनुसार उत्पादन प्रणाली (आधार) मा परिवर्तन भएपछि त्यस अनुरूप उपरिसंरचनाका सबै हिस्साहरूमा स्वतः परिवर्तन आउँदछन्।ग्राम्सीले प्रभुत्वको संरचना अन्तर्गत नागरिक र राजनीतिक समाजमा विभाजन गरेका छन्। नागरिक समाजमा परिवार, पाठशाला, धार्मिक संस्थाहरू, इत्यादि पर्दछन् भने राजनीतिक समाजमा सरकार त्यसका संयन्त्रहरू पर्दछन्।नागरिक समाजमा वैधतास्थापक संस्थाहरू पर्दछन् भने राजनीतिक समाजमा बलप्रयोगमूलक संरचनाहरू आउँदछन्।ग्राम्सीले सन् १९१७ को रूसको क्रान्तिको प्रशंसा गरे तर उनले त्यो क्रान्तिको मोडेल पूँजीवादी देशहरूमा लागू हुन सक्दैन भने।किनभने रूस एक समतावादी र पिछडिएको देश थियो, जबकि पूँजीवादी देशहरूमा नागरिक समाज धेरै प्रभावशाली हुन्छन्।ग्राम्सी यस्ता पहीलो मार्क्सवादी विचारक हुन्, जसले नागरिक समाज (शिक्षा, धार्मिक संस्था, विश्वविद्यालय, ट्रेडयूनियन, आदि) लाई आफ्नो अध्ययनको केन्द्र बनाए।ग्राम्सीका अनुसार पूँजीवादी देशहरूमा नागरिक समाजको विकास राज्यबाट अलग रूपमा भएको छ।ग्राम्सी नागरिक समाजमा नै परिवर्तनका समर्थक हुन्।उनका अनुसार राज्यले अर्थव्यवस्थालाई प्रभावित गर्दछ तथा अर्थव्यवस्थाले राज्यलाई प्रभावित गर्दछ।राज्य अर्थव्यवस्थाबाट तुलनात्मक रूपमा स्वयत्त हुन्छ।त्यसकारण राज्यको सापेक्ष स्वायत्तताको सिद्धान्त ग्राम्सीका विचारहरूको एक महत्त्वपूर्ण देन हो।ग्राम्सीले नागरिक समाजलाई आफ्नो विश्लेषणको केन्द्र बनाए, जसको लागि उनले उपरिसंरचनाको सिद्धान्त प्रदान गरे।ग्राम्सीले आर्थिक निर्धारणवादको संकल्पनालाई अस्वीकार गर्दै राज्यको सापेक्ष स्वायत्तताको सिद्धान्त प्रस्तुत गरे।ग्राम्सीका अनुसार गतिशील युद्ध भनेको राज्य सरकारको विरुद्ध युद्ध हो, जुन लेनिनद्वारा रूसमा गरिएको थियो।स्थितिको युद्ध भनेको नागरिक समाजमाथि नियन्त्रणको लागि वैचारिक एवं सांस्कृतिक प्रभुत्व हो।बुद्धिजीवीद्वारा समाजको उपरिसंरचनामा प्रभुत्व स्थापित गरिनेछ र प्रत्येक तार्किक शक्ति भनेको बुद्धिजीवी नै हो।   

ग्राम्सीको अधिपत्यको सिद्धान्तलाई एक महत्त्वपूर्ण सिद्धान्त मानिन्छ।ग्राम्सीका अनुसार आधिपत्यको आशय नेतृत्वसँग हो।नेतृत्व आम नागरिकहरूको सहमतिद्वारा हुन्छ।भन्नुको अर्थ के हो भने ग्राम्सीको आधिपत्यको नकारात्मक अर्थ स्वीकार गरिरहिएको छैन, बरु आधिपत्यलाई प्रभुत्वको रूपमा हेरिन्छ।ग्राम्सीले पूँजीवादी समाजको विश्लेषण गर्दै त्यसको स्वरूप एवं प्रभावलाई स्पष्ट गर्नमा आधिपत्य संकल्पनाको प्रयोग गरेका छन्।पूँजीवादी राज्य सशक्त हुनुको कारण केवल आर्थिक रूपले प्रभुत्वशाली हुनु मात्र होइन, न पूँजीवादी राज्य केवल शक्तिको प्रयोगद्वारा नै बनेको छ।भन्नुको अर्थ के हो भने पूँजीवादी राज्यलाई नागरिक समाजको समर्थन छ। किनकि यो पूँजीवादी राज्यले नागरिक समाज (ट्रेडयूनियन, विद्यालय, चर्च एवं परिवार, आदि) को माध्यमबाट सम्पूर्ण समाजमा आधिपत्य स्थापित गरेको छ।त्यसकारण ग्राम्सीका अनुसार आधिपत्यको आशय सांस्कृतिक आधिपत्यसँग हुन्छ। अर्को शब्दमा आधिपत्यको आशय मानिसहरूको विचार तथा दृष्टिकोणमा परिवर्तनसँग हुन्छ एवं साम्यवादी मूल्यमान्यताहरूलाई समाजमा स्थापित गर्नुसँग हुन्छ।आधिपत्यको केन्द्र नागरिक समाज हो, अर्थव्यवस्था र राज्य होइन।जबकि मार्क्सका विचारहरू अनुसार तथा लेनिनले रूसमा प्रयोग गरेअनुसार उनीहरूले आधिपत्यलाई आर्थिक र राजनीतिक रूपले हेरिरहेका थिए। ग्राम्सीका अनुसार रुसी क्रान्तिमा सर्वहारा वर्गको राज्यमाथि नियन्त्रण ठीक थियो। किनभने रूसी समाजमा समाज र राज्यको स्पष्ट विभाजन रेखा थिएन। जबकि पूँजीवादी देशहरूमा समाज र राज्यको बीचमा स्पष्ट विभाजन रेखा पाइन्छ।आधिपत्यको मूल उद्देश्य साम्यवादको प्राप्ति तथा पूँजीवादी आधिपत्य समाजमा विनाश गर्नु हो। त्यसकारण ग्राम्सीले समाजमा यो आधिपत्यलाई स्थितिको युद्ध भनेका छन्। त्यसैले यहाँ ग्राम्सीले पूँजीवादी विकसित देशहरूमा साम्यवाद ल्याउनको लागि पहिले सभ्य समाजमा आधिपत्यको समर्थन गरेका छन्।तर स्वाभाविक रूपमा शासन प्रणाली त समाजको सहमतिद्वारा चल्दछ।यसलाई नै उनी स्थितिहरूको युद्ध भन्दछन्, जसमा आधिपत्यको केन्द्र सभ्य समाज हुनेछ।ग्राम्सीका अनुसार आधिपत्य बुद्धिजीवीहरूद्वारा गरिनेछ।बुद्धिजीवी परम्परागत र अर्गानिक गरी दुई प्रकारका हुन्छन्।संगठित बुद्धिजीवको ग्राम्सीको आशय के हो भने यी एक वर्गका मानिस हुन्छन्, जसको उद्देश्य समाजमा परिवर्तन ल्याउनु हुन्छ।यसरी ग्राम्सीले इटलीको कम्युनिष्ट पार्टीलाई संगठित बुद्धिजीवीको रूपमा स्वीकार गरेका थिए।

ग्राम्सीको मार्क्ससँग पहिलो भिन्नता के हो भने उनले आफ्नो विश्लेषणको केन्द्र संरचनालाई बनाए। जबकि मार्क्सले केवल आधार अथवा अर्थव्यवस्थालाई आफ्नो विश्लेषणको केन्द्रमा राखे।ग्राम्सीले संरचनालाई पनि दुई स्तरमा विभाजित गरिदिए। जबकि मार्क्सले संरचनालाई एकै स्तरमा मानेका थिए। ग्राम्सीका अनुसार संरचनाका दुई स्तर पहिलो – राज्य, सरकार, पुलिस र न्यायपालिका हुन् र यिनीहरू बाध्यकारी रूपमा कार्य गर्दछन् अर्थात् संरचनाको यो स्तर शक्तिको प्रयोगद्वारा बनिरहन्छ।उनले संरचनाको दोस्रो स्तरमा सभ्य समाजलाई स्थान दिएका छन्, जसमा मुख्यगरी ट्रेडयूनियन, चर्च, परिवार, विश्वविद्यालय तथा अनेकौं स्वैच्छिक संस्थाहरू सामेल हुन्छन् र सभ्य समाजको कार्य गर्ने आधार शक्ति होइन, सहमति हुन्छ।यहींनेर ग्राम्सीको विचार अत्यन्तै मौलिक रूपमा सामुन्ने आउँछ किनभने उनका अनुसार कुनै पनि शासन प्रणाली वा व्यवस्था केवल शक्तिमाथि आधारित हुन सक्तैन।त्यसकारण उनी के निष्कर्षमा पुगे भने पूँजीवादी राज्य कायम रहनुको कारण त्यसको केवल शक्तिमाथि आधारित हुनु मात्र थिएन, बरु पूँजीवादी राज्यले समाजका सबै वर्गहरूको सहमति प्राप्त गरेको छ, जसलाई ग्राम्सीले ऐतिहासिक संगठनको संज्ञा दिएका छन्।जसको आशय के हो भने पूँजीवादी व्यवस्थाले चर्च, ट्रेड-यूनियन, विश्वविद्यालहरूद्वारा समाजमा पूँजीवादी मूल्यमान्यतालाई वैधता प्रदान गरिदिएको छ र समाजका अन्य समूहहरूको समर्थन प्राप्त गरेको छ।ग्राम्सीका अनुसार क्रान्तिको आशय पहिले सभ्य समाजमा आधिपत्यसँग हुन्छ।यसको अर्थ ग्राम्सी प्रभुत्वसँग नभएर नेतृत्वसँग लिन्छन्। कम्युनिष्ट पार्टीले सभ्य समाजमा आधिपत्य स्थापित गर्नेछ र उनको आधिपत्यको अर्थ सांस्कृतिक आधिपत्यसँग हो, आर्थिक आधिपत्यसँग होइन।ग्राम्सीको यही आधारमा संरचनाको विश्लेषणद्वारा उनको राज्यको सापेक्ष स्वायत्तताको सिद्धान्त विकसित हुन्छ।

उपरोक्त सम्पूर्ण विचार र दर्शनको आधारमा ग्राम्सीलाई बीसौं शताब्दीका महानतम् चिन्तकहरूमध्येमा ठूलो सम्मान दिइन्छ।ग्राम्सीलाई उनको जीवनसंघर्षले नै जुझारू बनायो।अभावले भरिएका दिनहरूमा पनि उनले अध्ययन कार्यलाई निरन्तरता दिइरहे।भयंकर शारीरिक अस्वस्थता, जेलको त्रासदीमय वातावरण र यातनाको बीचमा पनि प्रिजन नोटबुक्स जस्तो महान कार्यमार्फत् उनले आफ्ना सम्पूर्ण विचारहरूलाई प्रवाहित गर्ने काम गरे।ग्राम्सी जुन समयमा थिए, त्यसबेला प्रथम विश्वयुद्धको कारणले सम्पूर्ण यूरोपको आर्थिक अवस्था अत्यन्तै खराब भएको थियो र यसकै फाइदा उठाएर मुसोलिनी जस्तो फासिवादी शासकले इटलीमा शासन गरिरहेको थियो।इटलीको कम्युनिष्ट पार्टीका उनी संस्थापक सदस्य थिए र सम्पूर्ण यूरोपमा सबभन्दा सफल कम्युनिष्ट पार्टीको निर्मण उनको नेतृत्वमा गरिएको थियो।सन् १९२६ मा मुसोलिनीले उनको राजनीतिक र बौद्धिक प्रभावलाई देखेर आतंकित हुँदै देशको विरुद्ध षड्यन्त्रको कथित आरोप लगाएर जेलमा हाल्यो।त्यहाँ उनी ११ वर्षसम्म अत्यन्तै प्रताडनासहित बसे र त्यही उनले आफ्नो विचार र दर्शन निर्माण गरे।जेलमा बस्दा उनले ३० नोट्स र ३००० पेजको आफ्नो विचारधारात्मक पुस्तक तयार गरेका थिए।बालककालदेखि नै उनी ढाडको विरामी थिए भने आफ्नो अन्तिम समयसम्म पनि उनी अनेकौं बिरामीका शिकार भएका थिए।जेलको यातना, शारीरिक कठिनाइ, अनेकौं घातक बिरामीको कारण उनको ४६ वर्षको अल्पायुमै मृत्यु भयो।ग्राम्सीले सांस्कृतिक आधिपत्यवादको सिद्धान्तबाट मार्क्सवादको विकासमा थप योगदान दिएका थिए।उनले बुद्धिजीवीलाई महत्त्वपूर्ण मान्दै परम्परावादी र जैविक बुद्धिजीवीमा विभाजन गरी उनीहरूको भूमिकालाई समेत स्पष्ट पारिदिए।उनले पूँजीवादी शासक जातिलाई प्रस्तावित गर्ने कस्तो शक्ति हुन्छ भन्ने कुरा दर्शाए।यूरोपमा क्रान्ति नहुनुको कारण खोज्ने कोशिस गरे।सामाजिक संरचनामा शासक जातिको नियन्त्रण कसरी हुन्छ  भन्ने कुरा उनले स्पष्ट पारे।उनले सर्वहारा वर्गको क्रान्तिलाई जैविक बुद्धिजीवीहरूले कसरी सहायता गर्दछन् र पूँजीवादी शासनको कसरी विरोध गर्दछन् भन्ने कुरा स्पष्ट पारे।यसरी ग्राम्सीले आफ्नो राजनीतिक अनुभवबाट प्राप्त विचारधाराको माध्यमबाट सम्पूर्ण संसारलाई प्रभावित गरे।उनका विचारहरू सदैव प्रभावकारी रहिरहने कुरामा कुनै सन्देह हुन सक्दैन।   

सन्दर्भ सामग्रीहरू

  1. सांस्कृतिक और राजनीतिक चिन्तन के बुनियादी सरोकार – एन्टोनियो ग्राम्सी, हिन्दी संस्करण, अनुवाद – कृष्णकान्त मिश्र, ग्रन्थशिल्पी प्रकाशन
  2. Antonio Gramsci – Stanford Encyclopedia of Philosophy
  3. Culture and Politics in the Work of Antonio Gramsci – Marcia Landy Published By: Duke University Press
  4. https://www.marxists.org/archive/gramsci/
  5. Hegemony and Revolution: Antonio Gramsci’s Political and Cultural Theory, by Walter L. Adamson (Author)
  6. The Antonio Gramsci Reader: Selected Writings 1916-1935 by Antonio Gramsci (Author), David Forgacs (Editor), Eric J. Hobsbawm (Introduction)
  7. आधुनिक राजकुमार, एन्टोनियो ग्राम्सी, हिन्दी संस्करण, अनुवाद – कृष्णकान्त मिश्र, ग्रन्थावली प्रकाशन
  8. ANTONIO GRAMSCI, Attilio Monasta, Unesco, International Bureau of Education, 2000
  9. अंतोनियो ग्राम्शी और उसका सांस्कृतिक अधिपत्यवाद, ओमप्रकाश काश्यप, आखरमाला
  10. बुद्धिजीवियों का निर्माण – अंतोनियो ग्राम्शी, हिन्दी, अनुवाद – डिवेट अनलाइन
  11. Study-Research of different websites                                   

narayangiri.wordpress.comबाट साभार 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर