• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गाउँगाउँमा बन्दैछन् बाेतलका पहाड, व्यवस्थापनमा छैन कसैकाे चासाे

विराटनगर । पूर्वी पहाडका विभिन्न गाँउहरूमा सिसाका बोतल जताततै फालिएको भेटिन्छ । खोला छेउमा, सडक छेउमा थुपारिएका सिसाका बोतलहरू कतिपय त फुटेका पनि हुन्छन् । पहाडमा विभिन्न पेय पदार्थका साथ लगिएका सिसाका बोतल व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ । उत्पादक कम्पनीले फिर्ता नलाँदा कतै सार्वजनिक ठाउँमा त कतै खोलामा समेत फालिएका हुन्छन् ।

यसरी फालिएका सिसाका बोतलका कारण वातावरणमा ठूलो असर पुग्ने  जानकारहरू बताउँछन् । पुनः प्रयोगका लागि उत्पादक कम्पनीले बोतल फिर्ता लैजाँदैनन् । कवाड समाग्री किन्नेहरूले पनि भाडा नै नउठ्ने भन्दै सिसा उठाउन मान्दैनन् ।

‘मेला लाग्छ । विभिन्न ठाउँबाट आएर सिसामा रहेका पेयपदार्थ खान्छन् र जथाभाबी छाडिदिन्छन् । यसको अरू काम पनि हुँदैन’, पाँचथरको सुकेपोखरीका फौदमान राईले भने, ‘धेरै बोतल थुप्रिएको छ । गाउँले भेला भएर पुर्ने पो विचार गर्दैछौँ ।’

उत्पादक कम्पनीले नै सिसा फिर्ता लैजानुपर्छ भन्ने आफूहरूलाई जानकारी नभएको उनले बताए । पुनः प्रयोग गर्न सकिने भए पनि यतातर्फ ध्यान नदिँदा समस्या भइरहेको छ । ‘सिसा जतासुकै फालिएको हुन्छ । फुटेर खुट्टा काट्ने पीर उस्तै’, कुम्मायकका हरि खनालले भने ‘आँगनमै यत्रो सडक छ । सस्तो मूल्यमा लैजाउ भन्दा पनि लाँदैनन् ।’

सिसाका बाेतल जतासुकै फाल्नुलाई सामान्य रूपमा लिइने गरेकाे पाइएको वातावरण क्षेत्रका जानकार दिनेश सिंह बताउँछन् । यसको असरबारे धेरैलाई जानकारी नै नभएको उनको भनाइ  छ । ‘सिसाका बोतललाई फाल्दा जमिनमा ठूलो असर पर्छ । पुनः प्रयोग गर्न सकिन्छ । तर हाम्रातिर यहाँ आएको बोतल फिर्ता लग्दैनन्’, उनले भने ‘स्वास्थ्य, वातावरण, खानेपानी र माटोमा ठूलो असर पर्ने गर्छ । सम्बन्धित निकायले चाँडै ध्यान दिनुपर्ने देखिन्छ ।’

“सिल्कास, सोडियम कार्बोनेट, लाईसोरन प्रयाेग गरेर १३ देखि १९ सय सेन्टिग्रेटमा बाेतल बन्ने गर्छ । यो बन्दानै निस्किने ग्यासले स्वास्थ्यमा ठूलो असर पर्छ । त्यही भएर नयाँ बोतल बनाउने भन्दा पनि पुरानोलाई प्रयोगमा ल्याउन पर्छ’. उनले भने, ‘सरकारले नीति नियम बनाएर कडाइ गर्नु पर्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर