• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

चर्च ब्वाइजः डेब्यु गरेकै वर्ष कसरी बन्याे च्याम्पियन ?

काठमाडौं । चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा डेब्यु गरेकै वर्ष च्याम्पियन बनेको छ । आज भएको खेलमा थ्रि स्टार क्लबसंग गोल रहित बराबरी खेल्दै चर्च ब्वाइजले लिग उपाधि जितेको हो । चर्च ब्वाइज पहिलो सिजनमै उपाधि जित्ने पछिल्लो ३७ वर्षयताको पहिलो क्लब हो  । 

यसअघि २०४३ सालमा मनाङ मस्र्याङदी क्लब बी डिभिजन बाट शीर्ष डिभिजनमा उक्लिएकै वर्ष विजेता बनेको थियो । चर्च ब्वाइजले २०७७ सालमा सी डिभिजन जितेको  थियो । २०७८ सालमा ए  डिभिजन लिगमा उक्लिएको हो । स्थापना भएको १४ वर्षपछि चर्च ब्वाइजले पहिलो पटक शीर्ष डिभिजनको लिग उपाधि आफ्नो नाममा लेखाएको हो । 

दशरथ रंगशालामा चर्च ब्वाइजलाई लिग च्याम्पियन बन्नका लागि मात्र एक अंक आवश्यक थियो । २५ औं चरणमा थ्रि स्टार विरुद्ध बराबरीको नतिजा निकाले संगै चर्च ब्वाइज एक खेल अगावै उपाधि उचाल्न सफल भएको हो । 

प्रतिस्पर्धात्मक नबनेको खेलमा दुवै टिमले गोलका केही अवसर गुमाए ।  चर्च ब्वाइज २५ खेलबाट ४५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।  दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटवल क्लबको २४ खेलबाट ३९ अंक छ । उसले बाँकी दुइ खेल जित्दा ४५ अंक हुन्छ । चर्च ब्वाइज , मच्छिन्द्र भन्दा हेड टु हेडमा अघि रहदै विजेता बनेको हो ।  

यी दुइ बीचको पहिलो लेग गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो लेगमा चर्च ब्वाइज दुइ एकले विजयी भयो ।  मच्छिन्द्रको २३ औं चरणमा नेपाल पुलिस क्लब  संग दुइ एक गोलको हार बेहोरेपछि उपाधि रक्षा गर्ने संभावना लगभग समाप्त भएको थियो । जसको फाइदा चर्च ब्वाइजलाई पुग्यो । च्याम्पियन बन्ने क्रममा चर्च ब्वाइजले २५ खेलमा १२ मा जित,  नौ मा बराबरी र चारमा हार बेहोर्यो ।  ए डिभिजन लिग जित्ने चर्च ब्वाइज १४ औं क्लब हो । 

चर्च ब्वाइजले नेपाल पुलिस क्लब संगको खेल संगै ए डिभिजन लिगमा डेब्यु गरेको थियो । पुलिस माथि दुइ एक गोलको जित हात पार्दै चर्च ब्वाइजले ए डिभिजन लिग यात्राको विजयी सुरुवात गर्यो । त्यसपछि  चर्च ब्वाइज लगातार दश खेल सम्म अपराजित रह्यो । एघारौ चरणमा जावलाखेलले एक शुन्यको हार चखायो । 

सुरुवातमा टिमलाई  प्रदिप हुमांगाइले सम्हालेका थिए । तर उनले क्लब छोडेपछि चर्च ब्वाइजले केही खेल प्रशिक्षक विनानै खेल्यो ।  मुख्य फरवार्ड अन्जन बिस्ट लगायतका खेलाडीको चोट र प्रशिक्षक नहुदा एक समय टिम कमजोर बनेको थियो । तर अन्जनको पुनरागमन र  प्रदिप हुमागाँइ मुख्य प्रशिक्षक नियुक्त भएसंगै चर्च ब्वाइजले पुन लय समात्यो ।  

जावलाखेल संग हारेपछि चर्च ब्वाइजले अर्को खेलमा त्रिभुवन आमर््ी फुटवल क्लब संग पनि तीन अंक गुमायो । १३ औं चरणमा मनाङ मस्र्याङदी माथि तीन शुन्य गोलको जीत हात पार्नु चर्च ब्वाइजका लागि टर्निङ पोइन्ट रह्यो । फरवार्ड अन्जन बिस्टले यहि खेल पछि टिममा लिग जित्न सकिन्छ भन्ने आत्मवश्वास आएको बताए ।  

प्रशिक्षक बालगोपाल महर्जन र राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङको करियरको यो पहिलो ए डिभिजन लिग उपाधि हो । आफ्नो कप्तानीमा चर्च ब्वाइज र आफ्नै लागि पहिलो उपाधि जित्दा खुशी लागेको अनन्तको भनाइ छ । पहिलो पटक प्राप्त गरेको सफलता सदैव मुल्यवान हुने उनले बताए । अनन्तले भने आज चर्च ब्वाइजमा आवद्ध हुने आफ्नो निर्णय सही सावित भएको पनि उल्लेख गरे । 

थ्रि स्टार अनन्तको पुर्व क्लब हो । पोस्ट म्याच कन्फरेन्समा अनन्तले भने – ‘पुर्व क्लब विरुद्ध मैदान उत्रदा केही नर्भस पनि थिए । तर मैले विहान सवैलाइ भनेको थिए जित्नकै लागि खेल्छौ हामी । आज हारियो भने अन्तिम खेल कठिन हुनेछ भन्ने थाहा थियो । थ्रि स्टारका लागि केही दुखी छु । च्याम्पियन बन्दा सम्म सुख दुखका सम्झनाहरु धेरै आए । लिगको बीचमा प्रदर्शन देखी अरु कुराले हामी डाउन भएका थियौैं । प्रशिक्षक विना खेल्दा कमजोर महसुस भएको थियो । बालगोपाल सर आएपछि ट्रयाकमा आयौं  । आशा लिएर आएको थिए क्लब बीचमा निराश पनि भए तर समग्रमा राम्रो नै भयो ।’

अनन्त तामाङले करियरमा दोस्रो पटक ए डिभिजन लिग उपाधि जितेका हुन् । यसअघि अन्जन मनाङ बाट लिग च्याम्पियन बनेका थिए ।  टिमवर्कका कारण सम्भव भएको अन्जनको भनाई छ ।  उनी भन्छन – ‘प्रशिक्षक, खेलाडी, क्लब, पदाधिकारी देखी ड्राइभर सम्मको मेहनतले सफलता हात लागेको हो ।’
 
बालगोपाल महर्जनले सन २०१२ देखी संगै रहेका अन्जन र अनन्त रहेको टिमबाट आफ्नो करियरको पहिलो ए डिभिजन लिग उपाधी विषेश रहेको प्रतिकृया दिए ।  

चर्च ब्वाइज र विक्रम 
संयोग कस्तो भने चर्च ब्वाइजले  विक्रम लामाको कप्तानीमा रहेको थ्रि स्टार विद्धको खेलमा लिग उपाधि पक्का गरेको हो । चर्च ब्वाइजले बी डिभिजन लिग उपाधि जित्दा विक्रम क्लबको महतवपुर्ण जिम्मेवारीमा थिए ।  उनले चर्च ब्वाइजको प्रशिक्षण पनि सम्हाले । आज थ्रि स्टार संगै अंक लिएर चर्च ब्वाइज ए डिभिजनमा उक्लिएको पहिलो वर्षनै च्याम्पियन बन्दा विक्रम मिक्स्ड इमोसनमा छन् । आफुले ए मा पुर्याएको टिम लिग विजेता बन्दा विक्रम खुशी छन् । 

भन्छन – ‘मैले गरेभन्दा बढी मेहनत अहिलेको टिमले गरेको छ । त्यसैले विजेता बन्यो । म खुशी छु ।’

उनी दुखी पनि छन किनकी यो नतिजाले थ्रि स्टार माथि रेलिगेशनको खतरा बढेको छ । अन्तिम खेलले थ्रि स्टारको ए डिभिजनको भविष्य निर्धारण गर्नेछ ।  तर उनलाइ थ्रि स्टार शीर्ष डिभिजनमानै रहने विश्वास छ ।  

विक्रमले भने – ‘अहिले टिममा अधिकांश नया खेलाडी रहेको र अर्को सिजन उनीहरुले टिमलाइ लिग जिताउने क्षमता राख्ने छन् ।’

विक्रमको भने घरेलु फुटवलमा यो अन्तिम सिजन हो  । थ्रि स्टारले यो  सिजन अन्तिम खेल जावलाखेल विरुद्ध खेल्नेछन । जुन विक्रमले घरेलु फुटवलमा आफ्नो  करियरको पनि अन्तिम खेल हुने बताए । 

चर्च ब्वाइजले अन्तिम खेल खुमलटार संग खेल्नेछ । खुमलटार पनि यसै वर्ष ए डिभिजनमा बढुवा भएको हो । 

च्याम्पियन बनेपछि खुशी भएको चर्च ब्वाइज एएफसी कप छनोटको प्रारम्भिक चरण खेल्न नपाउदा भने दुखी छ । किनकी चर्च ब्वाइज संग क्लब लाइसेन्सिङ छैन् । कप्तान अनन्तले चर्च ब्वाइजलाई अन्तराष्ट्रिय स्टेजमा लिएर जान नपाउदा दुखी बनाएको प्रतिकृया दिए । एउटा अवसर गुमेको उनको भनाइ थियो । यो कुरालाई ब्यबस्थापनले पाठका रुपमा लिनु पर्ने उनको सुझाव छ । मच्छिन्द्रले प्रतियोगितामा भाग लिने संभावना उच्च छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर