• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

भारत विरुद्ध भिड्दै नेपालः ‘याे केवल क्रिकेट मात्रै हाेईन’

काठमाडौं । नेपालले अन्तराष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्ष भयो । तर नेपालले सवै भन्दा नजिक रहेका छिमेकी भारत र पाकिस्तानसंग खेल्ने अवसर भने बल्ल पाएको छ । विश्व क्रिकेटका पावर हाउससंगको भेटका लागि नेपालले झन्डै तीन दशक कुर्नु पर्यो । एसिया कपमा नेपाल, भारत र पाकिस्तान रहेकै समुह ए मा परेपछि समर्थकको उत्साह थेगी नसक्नु थियो । 

गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी मेन्स प्रिमियर कपमा युएइलाई पराजित गरेर नेपाल एसिया कपमा छनोट भएको थियो । भारत र पाकिस्तानसंग खेल्ने नेपालको एउटा सपना त्यहीबाट पुरा भएको हो । 

जारी एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान आमने सामने भएका थिएन् ।  गत भदौ १३ गते पाकिस्तानको मुल्तानमा नेपाली टिमका २० वर्षीय कप्तान रोहित पौडेल पाकिस्तानका बाबर आजामसंगै टसका लागि उभिए । त्यो क्षण समग्र नेपाली क्रिकेटकै लागि ऐतिहासिक थियो । 

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार अर्को शक्तिशाली राष्ट्र भारतसंग प्रतिस्पर्धा गर्दैछ ।  रोहित शर्मा र विराट कोहली जस्ता विश्व क्रिकेटमा कहलिएका ब्याटर विरुद्ध बलिङ गर्न नेपालका युवा जोशले भरिएका सोमपाल कामी, करण केसी, संदिप लामिछाने, ललित राजबंशी तयार छन् ।

मोहम्मद सामी, जस्प्रित बुमराह , कुलदीप यादवको बलिङको सामना कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेखले गर्नेछन् । भारतसंगको खेल्नु अघि कप्तान रोहित भन्छन – ‘पाकिस्तानसंगको खेलले धेरै कुरा सिकायो । भारतसँग पाकिस्तानको खेलमा देखिएका कमजोरीबाट पाठ सिकेर अझ राम्रो गर्ने प्रयास गर्नेछौं ।’
 
मुल्तानमा पाकिस्तानले टस जितेर ब्याटिङ लिएपछि नेपाल फिल्डिङमा उत्रिएको थियो । नेपालले ३५ ओभरसम्म स्तरीय प्रदर्शन गर्यो  । छैटौ ओभरमानै करण केसीले अ‍ोपनर फाखर जमानको विकेट लिएर नेपालाई पहिलो सफलता दिलाएका थिए । अर्का ओपनर इमाम उल हक ५ रनमा रन आउट भए । उनलाई रोहितले उत्कृष्ट फिल्डिङ गर्दै मैदान बाहिर पठाएका हुन् । 

४४ रन बनाएका मोहम्मद रिजवानलाइ पनि सन्दीपको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गरेपछि पाकिस्तान दवावमा आएको थियो । तर बाबर र इफ्तिकार अहमदले अनुभवको प्रयोग गर्दै शतक बनाएपछि ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो ।

बाबर ५५ रनमा हुदा करणले आफ्नै बलिङमा क्याच ड्रप गरेका थिए । बाबर १ सय ५१ रनमा सोमपाल कामीको वलमा आउट भए । इफ्तिकार १ सय ९ रनमा अविजीत रहे । 

जवाफमा नेपाल २३ ओभर ४ वलमा १ सय ९ रनमा अल आउट भयो । सोमपालले सर्वाधिक २८ र आरिफ शेखले २६ रन जोडे । माथिल्लो क्रमका कुशल भुर्तेल ८,  आरिफ शेख ५ र रोहित शुन्यमा मैदान बाहिरिएका थिए । 

नेपाली टिमका लागि हाल ओडिआइ वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तान संगको खेल सिकाइका हिसावले महत्वपुर्ण रह्यो । 

रोहितले भनेः ३५–४० ओभरसम्म बलिङ राम्रो नै थियो । ओडिआइको नम्बर वान पाकिस्तानलाई सुरुमा दवावमानै राख्यौ । त्यसपछि बाबर र इफ्तिकारले दवावको समयमा इनिङसलाई कसरी अघि बढाउने भन्ने कुरा हामीलाई सिकाए । भारत विरुद्धको खेलमा पहिलो खेलबाट प्राप्त गरेको अनुभव प्रयोग गर्नेछौ । 

भारत विरुद्धको खेल हाम्रा लागि अवसर हो । विराट कोहली र रोहित शर्मासंग कसरी खेल्ने भन्ने योजना बनाइरहेका छौं । हामी भन्दा अघिल्लो पुस्ताले पनि धेरै प्रयास गरेको थियो । तर हामीले भारतसंग खेल्ने मौका पायौं । नेपाली क्रिकेटका लागि यो ठूलो दिन हो । 

विश्वका विभिन्न ठाउँबाट हामीलाई समर्थकले हेरिरहेका छन् । हामी उनीहरुलाई खुशी बनाउने खेल खेल्न चाहन्छौ । 

हामीले विगत तीन चार वर्षदेखी निकै मेहनत गरिरहेका छौं । त्यही मेहनतले हामी यहा आइपुगेका छौं । हामी यो ठाउँसम्म आउनका लागि हकदार छौं । 

सोमपाल कामीले विराट कोहली संग मैदान सेयर गर्न पाउदा उत्साहित भएको प्रतिृकया दिएका छन् । 

भारतले पनि नेपालसंगको खेललाई हल्का रुपमा लिने छैन् । यदि नेपालसंग पराजित भए भारतको सुपर फोर पुग्ने लक्ष्य समाप्त हुनेछ ।  पाकिस्तानसंगको खेल वर्षाका कारण रद्ध भएपछि एक–एक अंक बाडिएको थियो । पाकिस्तानसंग रोहित, विराट , श्रेयस र शुभमन गिलले राम्रो प्रदर्शन गर्न सकेनन् । इशान किशनले ८२ र  र हार्दिक पान्ड्याले ८७ रन जोडेपछि भारतले पाकिस्तान सामु २ सय ६७ रनको चुनौती पेश गरेको थियो । तर दोस्रो इनिङस हुन सकेन् । नेपालका लागि पनि सुपर फोर पुग्ने संभावना बांकी छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइ आफ्नै देश विरुद्ध मैदान उत्रदैछन् । भारतीय मोन्टीले पाकिस्तानसंग भन्दा राम्रो प्रदर्शन गर्ने विश्वास ब्यक्त गरेका छन् । 

यसअघि नेपालले अन्डर नाइन्टिनमा भने भारत माथि ऐतिहासिक जित हात पारेको थियो । सन् २०१७ को एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । सो बेला कप्तान दिपेन्द्र सिंह ऐरीले ८८ रन बनाएका थिए । रोहित, भिम सार्की, आरिफ शेख, संदिप लामिछाने भारतलाई हराएको टिममा थिए । यी खेलाडी अहिले सिनियर टिमका पनि मुख्य सदस्यका रुपमा छन् । 

नेपाल र भारत बीचको खेल सोमबार श्रीलङकाको क्यान्डीमा दिउँसो सवा तीन बजे सुरु हुनेछ । सोमबार पनि क्यान्डीमा वर्षाको संभावना उच्च छ ।  आइतबार पानीकै कारण नेपाली टिमले इन्डोर अभ्यास गरेको थियो । सबै नेपाली समर्थकको कामना छः नेपाल र भारतको खेललाई पानीले नबिथोलोस् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर