उपाध्यक्ष ल्हारक्याल लामाले उठाए लुम्बिनी विकास कोष भित्रको आर्थिक अपारदर्शिताको कुरा

वुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताएका छन् । बिहीबार लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारसँगको अन्तरक्रियामा उपाध्यक्ष लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताए । 

आफू कमाउनका लागि लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान गर्न  आफ्नो उद्देश्य रहेको दाबी गर्दै कर्मचारीलाई आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न निर्देशन दिइएको बताए । 

कोषका कर्मचारीमा काम नगर्ने प्रवृत्ति हाबी हुँदा लुम्बिनी गुरुयोजना समयमै पूरा हुन नसकेको र यहाँको विकास पछाडि परेको लामाले चर्चा गरे ।  

कोषभित्रका बिहारले विदेशी पाहुना राख्दा होटेल व्यवसायीहरू मर्कामा परेको गुनासो आएको भन्दै उनले विहारहरू अन्य देशमा पनि हुने तर तिनीलाई करको दायरामा ल्याउनुपर्ने बताए ।  

उनले बुद्धत्व झल्किनेगरी मायादेवी मन्दिर पुनः निर्माणका लागि व्यक्तिगत रूपमा सात करोड रुपियाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने बताए । 

लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा बिहार बनाएर बौद्ध गतिविधि बढाउने योजना कार्यान्वयन गर्ने उनले बताए ।

लुम्बिनी विकास कोष क्षेत्रमा पशुबध र मासु विक्री वितरण अव्यवस्थित हुँदा लुम्बिनीको गरिमामा आँच पुगेकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए । लुम्बिनीसँग जोडिएका कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह क्षेत्रको एकीकृत विकासका लागि आफूले सम्बन्धित क्षेत्रका सरोकारवालासँग सहकार्य र छलफल गरी अघि बढ्ने उनले बताए ।

उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजनाका बाँकी काम छिटो पूरा गर्नेतर्फ आफू क्रियाशील रहेको र यसका लागि आफूले निरन्तर अनुगमन गरिरहेको समेत बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर