• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

कांग्रेसमा गुटः आज शेखर पक्षको छुट्टै बैठक

काठमाडौं । संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसमा खुला रुपमा गुटको राजनीति सामान्य जस्तै हो । प्रायः संस्थापन इतरको शक्ति आफू पक्षीय नेता कार्यकर्ताको बैठक भेला खुला रुपमा नै गरिरहेको हुन्छ । 

कांग्रेस केन्द्रीय समिति बैठकअघि संस्थापन इतर समूहको छुट्टै बैठक बोलाइएको छ । नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका हुन् । कोइराला भने सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको कोइरालाको सचिवालयका एक सदस्यले जानकारी दिए । 

०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । तर गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापा पक्षमा खुलेका थिए । थापाले कोइराला प्यानलबाट महामन्त्री जितेका थिए ।

कोइरालाले ०८२ मा हुने १५ औं महाधिवेशन लक्षित गरेर आफ्नो समूहलाई बलियो बनाउने प्रयास गरिरहेका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बैठक बस्नेछ । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् । यसअघि गत साउन २ मा बसेको केन्द्रीय समिति बैठकअघि कोइरालाले आफू पक्षको छुट्टै भेला गरेका थिएनन् । त्यसबेला सभापति शेरबहादुर देउवासँग मिलेको आरोप कोइरालामाथि लागेको थियो । तर कोइरालाले आफू कसैसँग नमिलेको प्रष्टीकरण दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर