• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

बढ्यो चिसो, बढे स्वाइन फ्लु र निमोनिया बिरामी

काठमाडौं । चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएका छन् । 

अहिलेका बिरामीमा स्वाइन फ्लु र भाइरल निमोनिया, रुघाखोकी र ब्याक्टेरियल निमोनियाजस्ता बिरामी बढेको चिकित्सकहरु जनाएका छन्। 

सिभिल अस्पताल छाती रोग विभागले अहिले सबैभन्दा बढी ब्याक्टेरियल निमोनियाको संक्रमणका, त्यसपछि भाइरल निमोनिया र तेस्रोमा स्वाइन फ्लु (एचवान एनवान इन्फ्लुएन्जा) का बिरामी आइरहेको बताएको छ।  

छाती रोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार भारत तीर्थ गएर फर्केका यात्रुमा भाइरल निमोनिया बढी देखिएको छ भने ब्याक्टेरियल (कीटाणुजन्य निमोनिया) उपत्यकाभित्रैका बिरामीमा छ। स्वाइन फ्लु पनि मौसमी फ्लुका रूपमा संक्रमण फैलिएको उनले बताए। अन्य निमोनियाको तुलनामा स्वाइन फ्लुको निमोनियामा बढी जटिलता रहेको उनले बताए।

टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा उपचारमा पुग्ने कुल बिरामीमध्ये १५ प्रतिशत बिरामी ज्वरो तथा निमोनियाको रहेको अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. रमेश महर्जनले जानकारी दिए।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साँझ परेपछि श्वास फेर्न गाह्रो भएका र ज्वरो आएका बिरामी पुग्ने गरेको अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए। 

चिकित्सकका अनुसार कुनै भाइरल संक्रमण तथा कुनै पनि संक्रमणका कारण श्वास–प्रणालीमा संक्रमण फैलिएर अवरोध हुने अवस्था हो निमोनिया। निमोेनिया बढ्दै गएर श्वासप्रश्वास नली तथा फोक्सोमा समेत क्षति पुगेमा बिरामीमा जटिल समस्या देखिन्छ। अन्य देशमा निमोनियाविरुद्धको खोप लगाउने अभ्यास रहे पनि नेपालमा अहिलेसम्म आम नागरिकलाई सो खोप वितरण हुन सकेको छैन।  

यदि दुई दिनभन्दा बढी खोकी लागे र ज्वरो आउन सुरु भए तुरुन्त अस्पताल जान डाक्टरको सुझाव छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर