• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

 ‘सपना भुलाइ सारा, आँसु पिएर जाऊ’: अस्ताए योगेश 

काठमाडौं । ‘सपना भुलाइ सारा, आँसु पिएर जाऊ

मन्दिरमा छ तिम्रै, तस्बिर लिएर जाऊ’
यो गीत नसुन्ने त को होला रु नेपाली केही कालजयी गीतको सूचीमा यो पनि पर्छ । यो गीतले जुन भाव पोख्छ, जुन पीडाको कथा सुनाउँछ, त्यो अद्वितीय छ । यसका गायक हुन्, योगेश वैद्य ।

उनको विशेषता भन्नु नै गीतका प्रत्येक शब्दशब्दमा डुबेर मात्र होइन, संगीतको हरेक व्याकरण मिलाएर गाउनु हो । नेपाली संगीत क्षेत्रमा जति पनि गायक–संगीतकार छन्, सम्भवतः यो विधाको कसैलाई सबैभन्दा सटीक ज्ञान थियो भने उनी तिनै वैद्य थिए ।

७७ वर्षका वैद्यको बिहीबार राति निधन भयो । भित्री काठमाडौंको नरदेवीमा जन्मेर हुर्केका वैद्य पछिल्लो समय त्रिपुरेश्वरको मिलन मार्गमा बस्दै आएका थिए । दिउँसो बिसन्चो अनुभव गरेका उनलाई राति अझ गाह्रो भएको थियो । उपचारका लागि अस्पताल लाने क्रममै उनको निधन भएको हो । निधनको एक दिनअगाडि मात्र पनि उनी संगीतकै काममा व्यस्त थिए । खासमा उनले पूरा जीवन यही क्षेत्रमा बिताए र आफूलाई अब्बल सावित गरे ।

साता दिनअगाडि मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानले ‘धुंस्वाँ साय्मि सिरपाः’ प्रदान गरेको थियो । त्यस कार्यक्रममा उनी आफैं उपस्थित हुन सकेनन् । तर कार्यक्रमका लागि भिडियो मेसेज भने दिएका थिए । त्यसमा उनले सबैभन्दा पहिले साहित्यकार धुंस्वाँ साय्मि र उनको परिवारसँगको नजिकको सम्बन्धबारे चर्चा गरेका थिए । आफूलाई खासै धेरै बिसन्चो नभएको बताउँदै मूल कुरा त उनले संगीतबारे बोलेका थिए ।

त्यसमा वैद्यले भन्न चाहेका थिए, ‘जीवनमा सबथोक मिल्नुपर्छ, शब्द र लय । मिलेन भने गाह्रो हुन्छ । संगीत पनि त्यस्तै हो– शब्द र लय मिल्नुपर्छ, मिलेन भने राम्रो सुनिन्न । संगीत भन्नु नै प्रकृति हो ।’ गीत गाउने क्रममा प्रायः आफ्ना दुवै हात अगाडि बढाएर गाउने बानी थियो, उनको । यसक्रममा उनी पूरापूर गीतमै डुब्थे । प्रत्येक शब्दको मर्म सुनाउन चाहन्थे । त्यसैले पनि उनका प्रायः गीत मार्मिक छन् । खास कुरा के भने उनी संगीतका खुबै राम्रा विश्लेषक थिए । उनी गाउने र संगीत भर्नेमै सीमित भएनन् ।

आफ्नो जीवनको अन्त्यसम्म पनि अरूलाई सिकाउन र सहयोग गर्नमै व्यस्त रहे ।

उनका अनेक शिष्यमध्ये एक रहिन्, रीता महर्जन । उनी आफैं गायिका र संगीतकार हुन् । पछिल्लो समय आफ्ना गुरुको सामीप्य पाउन सफल कमै भाग्यमानीमध्ये एक उनी पनि रहिन् । ‘नेपालमा संगीतबारे असाध्यै राम्रो ज्ञान हुनेमा वैद्य सर सबैभन्दा अगाडि पर्नुहुन्छ । हाम्रा लागि त उहाँ बोधिसत्वकै बराबर हुनुहुन्छ, हामीलाई असफल मार्गमा दोहोर्‍याउने । सहज व्यक्तित्व । सरल जीवन,’ उनी भन्छिन्, ‘संगीत भनेपछि कहिले पनि नथाकेर काम गर्न सक्ने । हामी सबैका आदरणीय गुरु ।’ महर्जनकै सहयोगमा वैद्यले आफ्नो सांगीतिक अनुभवबारे आत्मकथा पनि लेखेका थिए । यो प्रेसमा जान मात्र बाँकी छ । त्यसको नाम छ– ‘स्वर्णिम संस्मरण ः आत्मवृत्तान्त’ । त्यसमा उनले नेपाली संगीतबारे धेरै चर्चा गरेका छन् ।

वैद्यको जन्म २००३ सालमा भएको थियो । युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको गीतबाट ११ वर्षकै उमेरमा उनले आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । त्यो गीतको बोल थियो, ‘पुरुष नारी दिवस र जीनसाथ नै युग भर्दछन् ।’ त्यसका संगीतकार थिए, दर्शनदास श्रेष्ठ । उनले सानै उमेरमा संगीत प्रवीण नरराज ढकालसँग एक वर्ष जति प्रशिक्षण लिएका थिए । उनको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी’ २०२५ सालमा रेकर्ड भएको थियो । त्यसका गीतकार किरण खरेल र संगीतकार नातिकाजी थिए । यस्तै, नेपालभाषामा वैद्यको पहिलो गीत ‘छ न्हूगु छेँय् छन्हु वनीतिनी’ थियो । यसका गीतकार दुर्गालाल श्रेष्ठ थिए भने संगीत उनी आफैंले दिएका थिए । यो गीतले २०२८ सालमा आयोजित अखिल नेपाल राष्ट्रिय गीत प्रतियोगितामा पहिलो स्थान पनि हात पारेको थियो । त्यति बेला उनले मविवि शाहको ‘नेपाल मेरो तिमीलाई’ गीत गाएका थिए, यसमा नातिकाजीले संगीत भरेका थिए ।

उनको सबैभन्दा चर्चित गीत भने ‘सपना भुलाई सारा’ नै रह्यो । उनको परिचय र पर्यायझैं । यसका रचनाकार शिव अधिकारी थिए भने संगीतकार नातिकाजी । वैद्यले पाँच सयको हाराहारी नेपाली गीत गाए । वैद्यका दुई सयको हाराहारी नेपालभाषाका गीत छन् । उनका सबैभन्दा मिल्ने साथी थिए, प्रेमध्वज प्रधान । उमेरमा प्रधान जेठो भए पनि उनीहरू नजिकका साथीझैं थिए । उनीहरूबीच पारिवारिक सम्बन्ध पनि थियो । कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर