• २०८० फाल्गुण २१ सोमबार
  • Monday, 4 March, 2024

कांग्रेसको मूल नेतृत्वमा सधैं बाहुन–क्षेत्री

काठमाडाैं । ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन ।’ नेपाली कांग्रेसका संस्थापकमध्येका एक विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको भनाइ हो यो। उनै बिपीको अगुवाइमा ७८ वर्षअघि स्थापना भएको कांग्रेस नेतृत्व भने बाहुन तथा क्षेत्रीको वरिपरि मात्र घुमेको छ। बिपी आफैंले जात र क्षेत्रका आधारमा राजनीति नगरे पनि पार्टी होस् कि सरकारमा सबै जात, समुदाय र क्षेत्रलाई समेटेर अघि बढेका थिए।

अहिले कांग्रेसमा जातीय संगठनहरू खुल्नुका साथै जातीयता तथा क्षेत्रीयताका आधारमा संगठनहरू स्थापना भएका छन्। तर अहिलेसम्म महिला, मधेसी, दलित, जनजाति कांग्रेसको नेतृत्वमा पुग्न सकेका छैनन्। पार्टी सभापतिबाहेक अन्य पदमा महिला, मधेसी, दलित, जनजाति तथा अल्पसंख्यकलाई कांग्रेसले सुरुवाती दिनदेखि नै समेट्दै आएको छ। तर यसको मूल नेतृत्व भने बाहुन–क्षेत्रीकै वरिपरि घुमेको छ। अझ कांग्रेस स्थापनापछिको अधिकांश समय यसको नेतृत्व कोइराला परिवारले नै गरेका छन्।

कांग्रेसका ७८ वर्षमा १४ वटा महाधिवेशन भए। तर अहिलेसम्म जनजाति, महिला, मधेसी र दलित कांग्रेसको मूल नेतृत्वमा पुगेका छैनन्। १५औं महाधिवेशनमा पनि यी समुदायबाट नेतृत्वमा पुग्ने सम्भावना कमजोर देखिन्छ।

आगामी महाधिवेशनमा मूल नेतृत्वका लागि यी कोइराला दाजुभाइबीच नै मुख्य प्रतिस्पर्धा हुन सक्ने विश्लेषण गर्न थालिएको छ। उनीहरूसँग नेतृत्व प्रतिस्पर्धामा अरू को–को मैदानमा उत्रिन्छन् भन्ने निश्चित छैन।

२००९ जेठमा जनकपुरमा भएको महाधिवेशनबाट बिपी सभापति छानिएका थिए। उनको महामन्त्रीमा धनमानसिंह परियार थिए। तर परियार पार्टी नेतृत्वमा पुग्न सकेनन्। २०१४ जेठमा भएको अर्को महाधिवेशनपछि गणेशमान सिंह कांग्रेस महामन्त्री बने। २०४६ सालको आन्दोलन उनै सिंहको नेतृत्वमा भएको थियो। बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि प्रधानमन्त्री बन्न गरिएको प्रस्ताव अस्वीकार गरेका सिंहले पार्टी नेतृत्व लिन पनि खासै रुचि देखाएनन्।

पटनामा २०३४ कात्तिकमा भएको सम्मेलनपछि परशुनारायण चौधरी कांग्रेस महामन्त्रीको जिम्मेवारी पुगे। पछि उनी राजाको पक्षपोषणमा लागे र दरबार छिरे। त्यसपछि कांग्रेस नेतृत्वमा पुग्ने उनको बाटो पनि रोकियो।

२०४८ सालमा झापामा भएको महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापति निर्वाचित भए। उनको महामन्त्री महेन्द्रनारायण निधि बने। निधिलाई २०४८ सालको आमनिर्वाचनपछि भट्टराईसहितका केही नेताले प्रधानमन्त्री बनाउन चाहेका थिए। तर उनी न प्रधानमन्त्री बने न पार्टी सभापति नै ।

काठमाडौंमा २०५३ वैशाखमा भएको नवौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भए। शैलजा आचार्य उपसभापतिको जिम्मेवारीमा पुगिन्। मुलुकको उपप्रधानमन्त्रीसम्म भएकी आचार्य कोइराला परिवारकै ‘कोपभाजन’मा परिन्।

सभामुखसमेत भएका रानाभाट शेरबहादुर देउवाले २०५९ सालमा जेठमा प्रतिनिधिसभा विघटन गरेपछि विवादरहित बन्न सकेनन्। दरबारको पक्षपोषण गरेको आरोप खेपेका उनी त्यसपछि कांग्रेस राजनीतिमा अघि बढ्न सकेका छैनन्।

कांग्रेसको ११औं महाधिवेशनपछि उपसभापति र महामन्त्रीमा जनजाति तथा मधेस मूलका नेताले स्थान पाए। गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, रामवरण यादव, कुलबहादुर गुरुङ, विजयकुमार गच्छदारसहितका नेता उपसभापति र महामन्त्रीको जिम्मेवारीमा पुगे। गोपालमान कांग्रेस विभाजित भएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिसम्म बने।

मधेसी मूलका महन्थ ठाकुर कांग्रेस कोषाध्यक्ष भएका थिए। उनले २०६४ सालपछि कांग्रेस छाडेर नयाँ दल खोले। रामवरण यादव कांग्रेसबाट मुलुकको पहिलो राष्ट्रपतिको जिम्मेवारीमा पुगे। त्यसपछि उनी पार्टीको सक्रिय राजनीतिबाट बिदा भए। १४औं महाधिवेशनमा निधि र सिंहले पार्टी नेतृत्वका लागि प्रयास गरे पनि सफलता मिलेन। पार्टीमा प्रभावशाली भनिएका दुवै नेता मतमा निकै कमजोर देखिए।उनीहरू अझै पनि नेतृत्वका लागि आकांक्षी छन्।

उमेरले पाका कुलबहादुर गुरुङमा कांग्रेस नेतृत्व गर्ने आकांक्षा हुनु अस्वाभाविक होइन। तर उनलाई अब उमेर र समयले साथ दिने देखिँदैन। १४औं महाधिवेशनबाट धनराज गुरुङ उपसभापतिको जिम्मेवारीमा पुगेका छन्।

गुरुङलाई पनि पार्टी नेतृत्वमा पुग्न उनैले नेपाल विद्यार्थी संघमा अघि बढाएका गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डेहरू चुनौती बन्ने देखिएको छ। दलितबाट तत्काल कांग्रेसमा सम्भावना बोकेका जीवन परियार र मीनबहादुर विश्वकर्मा हुन्। परियार अहिले सहमहामन्त्री र विश्वकर्मा प्रचार विभाग प्रमुख छन्।

स्वास्थ्य पनि प्रतिकूल रहेकी सुजाताका लागि कांग्रेस नेतृत्वमा पुग्ने कुरा सहज छैन। सहमहामन्त्रीको जिम्मेवारीमा रहेकी महालक्ष्मी पनि नेतृत्वमा पुग्ने सम्भावना कमजोर देखिन्छ। आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी पनि हुन्। उनी आगामी महाधिवेशनबाट महत्त्वपूर्ण जिम्मेवारी पुग्ने राणनीतिमा छिन्। तर मूल नेतृत्वमा पुग्न उनका लागि पनि सहज देखिँदैन। अस्वाभाविक अवस्थाबाहेक मधेसी, महिला, जनजाति र दलितबाट अझै केही वर्ष कांग्रेसको मूल नेतृत्वमा पुग्ने सम्भावना देखिँदैन। कांग्रेसले २०६६ कात्तिकमा भएको महासमिति बैठकबाट विधानतः आफूलाई समावेशी पार्टीका रूपमा भने उभ्याएको छ।

७८ वर्षअघि २००३ कात्तिक १५ गते बनारसमा देवीप्रसाद सापकोटा नेतृत्वमा बालचन्द्र शर्मा उपसभापति, कृष्णप्रसाद भट्टराई महामन्त्री र गोपालप्रसाद उपाध्याय भट्टराई प्रचारमन्त्री थिए। तर यसको जन्मदाता बिपी कोइराला हुन्। त्यसको तीन महिनापछि अर्थात् २००३ माघ १२ र १३ मा कोलकाता, भवानीपुरमा सम्पन्न सम्मेलनबाट अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसलाई नेपाली राष्ट्रि«य कांग्रेस बनाइयो। सभापति टंकप्रसाद आचार्य बने भने कार्यकारी सभापति बिपी।

बालचन्द्र शर्मा मन्त्री, डिल्लीरमण रेग्मी प्रकाशन विभाग अध्यक्ष, कृष्णप्रसाद उपाध्याय भट्टराई संगठन मन्त्री र देवव्रत परियार प्रचार र संगठन विभागको सदस्य भए। माघ १२ गतेलाई नेपाली कांग्रेसले स्थापना दिन मान्दै आएको छ। नेपाली कांग्रेस नाम भने २००६ चैत २७ देखि २९ गतेसम्म कोलकातामा भएको सम्मेलनबाट नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि राखिएको हो।  नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर