• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

प्रचण्डलाई हत्यारा भन्नेलाई माओवादीकै मन्त्री किरातीले बनाए पर्यटन बोर्डको सदस्य सचिव 

काठमाडौं । एक सातामा कम्तिमा एउटा ट्विट प्रधानमन्त्री प्रचण्ड र माओवादी नेतृत्वविरुद्ध गरिरहने माओवादीविरोधी साइबर संगठनकी सक्रिय सदस्यलाई माओवादीकै मन्त्रीले पर्यटन बोर्डको सदस्य सचिवको जिम्मा दिएका छन् । मन्त्री सुदन किरातीको यस्तो क्रियाकलापले अध्यक्ष प्रचण्डको सचिवालयसहित पार्टीनिकट पर्यटन व्यवसायीहरु तिनछक्क परेका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीले माओवादी पार्टी र अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई व्यक्तिगत लान्छना लगाएर सामाजिक संजालमा गिरोह चलाउने मिलन देवकोटा (मिस्टिका)लाई हिजो विहीवारदेखि लागु हुनेगरी पर्यटन बोर्डको कार्यकारी निर्देशकको काम गर्नेगरी सदस्य सचिव बनाएका हुन् । 

बोर्डका कार्यकारी निर्देशक डा.धनन्जय रेग्मीको कार्यकाल सकिएपछि अर्को नियुक्ति नभएकाले एकीकृत समाजवादीले बोर्ड सदस्य बनाएकी देवकोटालाई मन्त्री किरातीले नियुक्त गरेका हुन् । मन्त्री किरातीको निर्देशनमा पर्यटन सचिव दिपक काफ्लेको अध्यक्षतामा बसेको बोर्ड सन्चालक समिति बैठकले कार्यकारी प्रमुख नियुक्त नभएसम्म सदस्य सचिव भइ काम काम गर्न तोकेको पर्यटन मन्त्रालय स्रोतले समाचार दैनिकलाई बतायो । 

बोर्डका उपाध्यक्ष चन्द्र रिजालसहित ३ सदस्यको पनि कार्यकाल सकिएपछि अहिले बोर्ड सदस्य मदन आचार्य र देवकोटा मात्रै छन् । आचार्य नेकपा एसका केन्द्रीय नेता हुन भने देवकोटा समाजवादीकै नेता प्रेम आलेको पालामा नियुक्त भएकी पूर्व एमाले कार्यकर्ता हुन् । 

अहिले भने उनी कांग्रेसमा छिन् रउपप्रधान तथा रक्षा मन्त्री पुर्णवहादुर खड्कानिकट दावी गर्ने गरेकी छन् । उनी सामाजिक संजालमा माओवादीविरुद्ध लेखेर चर्चामा आउछिन् । उनले पछिल्लो पटक पनि प्रधानमन्त्रीका घरबेटीलाई लुम्बिनी ठेक्का दिएको अप्रमाणित आरोप लगाएर ट्विट गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्रीमाथि २ जनाको बालकुमारीमा हत्या गरेर कार्यशैली सुधार गरेको भन्दै गम्भीर लान्छानायुक्त ट्वीट गरेकी थिइन् । 

हेर्नुस् उनका केही आपत्तिजनक ट्विट:


 
स्रोतका अनुसार बोर्ड सदस्य देवकोटाले गरेका आपत्तिजनक ट्विटलाई लिएर यसअघि कतिपय माओवादीका नेता कार्यकर्ताले मन्त्री किरातीको ध्यानाकर्षण समेत गराएका थिए ।

मन्त्री मातहतको बोर्ड सदस्यले माओवादी नेतृत्वको सरकार,पार्टी र प्रधानमन्त्रीलाई हत्यारा समेत भनेर गरेका ट्विटलाई लिएर स्पष्टिकरण सोध्नुपर्नेमा उल्टै सदस्य सचिव बनाइएपछि किराती शंकाको घेरामा परेका छन् । यो विषय प्रधानमन्त्रीको सचिवालयमा समेत पुगेको  छ ।

उनका केही आपत्तिजनक ट्वीट यसअघि पनि मन्त्रीलाई पठाइएको र उनले बेवास्ता गरेको भन्दै ती स्क्रिनसट प्रधानमन्त्रीको सवालयमा पठाइएको हो ।
 
देवकोटाको पर्यटन बोर्डको सदस्य नियुक्ति नै गैरकानूनी भएको भन्दै यसअघि विवाद परेको थियो । पर्यटन सम्बन्धी कुनै काम नगरेकी र पर्यटन क्षेत्रमा साइनो समेत नभएकी उनलाई व्यक्ति विशेषससँगको सम्बन्धका कारण बोर्डमा ल्याइएको भन्दै उजुरी परेको थियो । 

 विगतमा एक दैनिक पत्रिका र एक अनलाइनको मार्केटिङ स्टाफका रुपमा काम गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर