• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

चौधरीलाई दुई दिनमै छुटाउने न्यायाधीश आचार्यको मुगुमा काज सरुवा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बाँसवारी छाला तथा जुत्ता कारखाना जग्गा विवादमा आदेशगर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई कारबाही स्वरुप मुगुमा काज सरुवा गरेका हुन्।

सरकारी स्वामित्वको १० रोपनी जग्गा विनोद चौधरीको च्याम्पियन फुटवेयर कम्पनीका नाममा गरिएको गैरकानुनी नामसारीमाथिको अनुसन्धानमा पक्राउ परेका अरुण चौधरी,अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई न्यायाधीश आचार्यको इजलासले दुई दिनमा हाजिरी जमानीमा छाडन् आदेश दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेका समयमा न्यायाधीश आचार्यले पक्राउ परेका तीनैजनालाई दुईदिनमा रिहागर्न आदेश गरेका थिए । उनको आदेशउपर गम्भीर कैफियत जनाउँदै न्यायाधीश आचार्यलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरिएको स्रोतको दाबी छ ।

मुगुका न्यायाधीश रमाकान्त अधिकारीलाई भने सिन्धुली ल्याइएको छ। जग्गा घोटालामा पक्राउ परेकाहरुलाई दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न आदेश दिइएपछि न्यायाधीश आचार्य विवादमा तानिएका थिए ।

बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि सांसद विनोद चौधरीलाई बोलाउने तयारी गरिरहेका बेला न्यायाधीश आचार्यले पक्राउ परेकाहरुलाई दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न आदेश दिएका थिए ।

अनुसन्धानका क्रममा बाँसबारीको सरकारी जग्गा हडपेको आरोप लागेका च्याम्पियन फूटवेयर कम्पनीमा त्यो बेला कांग्रेसका सांसद समेत रहेका अर्बपति विनोद चौधरीको समेत अरुणसरह नै शेयर हिस्सा रहेकाले उनलाई पनि बयानमा बोलाउने सीआईबीको तयारी थियो । बयानका लागि सीआईबीले बोलाउने तयारी गरिरहेका बेला उनी दिल्लीतिर लागेका छन् । आफूमाथिको अनुसन्धान रोक्न उनले विभिन्न शक्तिकेन्द्रबाट दबाब दिइरहेको सीआईबी स्रोतले बताएको थियो ।

चौधरीको नाममा २०० कित्ता शेयर देखिएपछि सीआईबीले उनीसँग बयान लिने तयारी थालेको थियो । ‘जग्गा हत्याउने मुख्य योजनाकार नै विनोद भएको अनुसन्धानबाट देखिन्छ ।हामीले हिजोका दिनमा मन्त्री र पूर्व प्रधानमन्त्रीको समेत बयान लिएका छौं । जतिसुकै दबाब आए पनि हामी उहाँको बयान लिएर छाड्छौं,’ सीआईबीको उच्च स्रोतले काठमाण्डुपाटीलाई भन्यो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर