मधेशको मुख्यमन्त्रीमा एमालेको दावी

जनकपुरधाम । नेकपा एमालेले केन्द्रमा सत्ता गठबन्धन फेरिएसंगै मधेश प्रदेशमा नेतृत्व दाबी गरेको छ । चन्द्रनिगाहपुरमा आइतबार बसेको एमाले मधेश प्रदेश कमिटीको बैठकले मधेश सरकारमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको एमाले नेताहरुले बताएका छन् । बैठकले त्यसबारे पार्टी केन्द्रीय कमिटी र नेताहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रदेशमा एमाले नै सबैभन्दा ठूलो दल भएकाले पनि आफूहरुको मुख्यमन्त्रीमा स्वतः दाबी रहने प्रदेश कमिटीका सचिव मनोज पौडेलले बताए । 

उनका अनुसार बैठकले बर्तमान अवस्थामा केन्द्रमा नेकपा एमालेसहितको सत्ता समिकरण परिवर्तन भएको र मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको हुनाले प्रदेश सरकारको नेतृत्व गर्ने गरी आवश्यक पहलका लागि पार्टी केन्द्रलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकमा एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनै पनि अवस्थामा मधेश प्रदेशमा आफ्नो दाबी छाड्न नहुने बताए । उनले त्यसका लागि आफूले पनि केन्द्रीय नेतृत्वसँग जोडदार पहल गर्ने बताए । 

बैठकमा प्रदेशका नेताहरुले नेकपा एमाले पहलमा नयाँ सरकार बनेको र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको एमाले सहितको सरकारले केही मात्रामा भएपनि जनतामा आशा जगाएको धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर