• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरी भर्ने अवधि मार्च २५ सम्म थप

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीका लागि दर्ता अवधि मार्च २५ सम्म थप गरिएको छ । यो अवधि मार्च २२ बाट तीनदिन थपेर मार्च २५ को मध्यान्ह १२ बजेसम्म बनाइएको युएससीआईएसले जनाएको छ । केही दर्ताकर्ताहरूले प्रणालीमा अवरोधको सामना गरेकाले उक्त समस्याको कारण थप समय प्रदान गर्न दर्ता अवधि विस्तार गरिएको युएससीआईएसले प्रष्ट पारेको छ ।

यस अवधिमा सम्भावित निवेदकहरू र तिनीहरूका प्रतिनिधिहरूले प्रत्येक लाभार्थीलाई छनोट प्रक्रियाको लागि इलेक्ट्रोनिक रूपमा दर्ता गर्न र प्रत्येक लाभार्थीको लागि सम्बन्धित दर्ता शुल्क तिर्नको लागि युएससीआईएसको अनलाइन खाता प्रयोग गर्नुपर्छ। युएससीआईएसले अझै पनि मार्च ३१ सम्म दर्ताकर्ताहरूलाई लोटरीमा छनौट भए नभएकोबारे सूचित गर्ने लक्ष्य लिएको छ ।

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु  भएको थियो ।    युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले कामदारको विवरण दर्ता गर्न सक्नेछन् । यो भिसाका लागि कामदार आफैले दर्ता गर्न मिल्दैन ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । यो नम्बर केबल दर्ताको अवस्था हेर्नमात्र प्रयोग गर्न सकिनेछ । पूर्ण आवेदनको अवस्था हेर्नका लागि यो नम्बर प्रयोग गर्न सकिनेछैन । हरेक व्यक्तिको दर्ताका लागि १० डलर शुल्क तिर्नुपर्नेछ ।

अमेरिकी रोजगारदाता र अमेरिकी एजेण्टले रजिष्ट्रान्ट एकाउन्टमार्फत काममा राख्ने व्यक्तिको विवरण दर्ता गर्न सक्नेछन् । यसपटकदेखि आवेदकको पासपोर्ट नम्बर वा यात्रा अनुमति कागजातको विवरण समेत पेश गर्नुपर्ने भएको छ । आवेदकको त्यही पासपोर्ट नम्बर प्रयोग गर्नुपर्नेछ, जुन पासपोर्ट यदि लोटरीमा छनौट भएर कामदार भिसा एचवानबीमा अमेरिका आउनुपरेको खण्डमा प्रयोग गरिनेछ । एउटा पासपोर्ट नम्बरका माताहतमा एकजनामात्र दर्ता गर्नुपर्नेछ ।

कानूनी प्रतिनिधिहरुले पनि आफ्नो एकाउन्टमा कुनैपनि बेला सेवाग्राहीलाई समावेश गर्न सक्नेछन् । एउटै अनलाइन सेसनबाट काममा राख्ने धेरै व्यक्तिको विवरण पेश गर्नुपर्नेछ । तर एउटै व्यक्तिको विवरण एकपटकभन्दा धेरै पेश गरिएमा भने त्यस्तो आवेदन स्वत अयोग्य हुनेछ ।

अनलाइन एकाउन्टमार्फत मार्च ३१ सम्म आवेदन छनौट भए नभएकोबारे जानकारी दिने युएससीआईएसको लक्ष्य रहेको छ । लोटरी प्रणालीबाट आवेदनहरुको प्रारम्भिक छनौट गरिन्छ । अनलाइन दर्ता प्रकृयामा छनौट भएका आवेदनहरुमात्र अप्रिल १ देखि  रोजगारदाताले भिसा प्रकृयाका लागि अगाडि बढाउन सक्नेछन् ।

एचवान बी कामदार भिसाको कोटा ६५ हजार रहेको छ भने अमेरिकी मास्टर्स डिग्री भएकाहरुका लागि थप २० हजार कोटा रहेको छ । यसरी एउटा आर्थिक बर्षका लागि कुल भिसा संख्या ८५ हजार रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर