• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

नेपालले साउदीलाई सजिलै हरायो, ४ खेलमा लगातार जित

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको छ। यो जितसँगै अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।

७४ रनको लक्ष्य पछ्याएको नेपालले ७।२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। ओमानको अल अमेरत मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन जोडेको थियो। 

जितका लागि नेपालका गुल्सन झा १९ बलमा दुई चौका र दुई छक्कासहित ३२ र कप्तान रोहित पौडेलले सात बलमा एक चौका र एक छक्कासहित १६ रनको योगदान दिँदै नटआउट रहे।

पहिलो ओभरमै नेपालले ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो। त्यसपछि आएका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले क्रिज सम्हाल्दै निराशालाई आशामा बदले। 
खेल वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई आठ ओभरमा झारिएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करन केसी र अभिनाश बोहराले दुई–दुई विकेट लिए भने प्रतीश जिसी र ललित राजवंशीले एक–एक विकेट लिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर