• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

अन्ततः एमालेकै समर्थनमा मुख्यमन्त्री बने सोडारी

काठमाडौं । सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेकपा एमालेको असन्तुष्टीका बाबजुद नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई आज बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सोडारीले बिहीबार नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

सोडारीलाई नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन गरेन। रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गरेका थिए।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ। नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १०, नाउपाका ७ (२ रञ्जिता पक्षीय), नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीको सोडारीलाई समर्थन छ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारी सुदूरपश्चिमका चौथो मुख्यमन्त्री हुन। 

एमाले अध्यक्ष ओलीले विगतमा सोडारीलाई कारबाही गरेका थिए।

२०७५ मा सोडारीलाई ओलीले नैतिक पतन हुने कार्य गरेको भन्दै अनुशासनको कारबाही गरेका थिए। त्यसबेला सोडारी तत्कालीन नेकपा नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास मन्त्री थिए।

तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला सोडारीको अश्लील संवाद बालुवाटार पुगेको थियो।

एकजना महिलासँगको त्यो अश्लील संवाद सुनेपछि अध्यक्ष ओलीले उनलाई मन्त्रीबाट हटाउन निर्देशन दिएका थिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर