• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

कांग्रेस सांसद खड्काले हडपेको जग्गा र भवन फिर्ता गर्न प्रहरी परिचालन 

काठमाडौँ । प्रतिनिधिसभा सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको स्वयंसेवी संस्था नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र भवन सिल गर्न प्रशासनको टोली परिचालन भएको छ ।

नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा सिल गर्न बिहीबार साँझ प्रहरीसहित प्रशासनको टोली र जनप्रतिनिधिहरू लैनचौर पुगेका छन् ।

स्काउटको जग्गा भाडामा लिएका सांसद खड्काले आसपासमा थप ९ रोपनी जग्गासमेत हडपेका छन् । स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका थिए । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनलाई यसअघि सरकारले हटाउन सकेको थिएन ।

संखुवासभाबाट निर्वाचित सांसद् खड्कालाई स्काउटलाई फिर्ता गर्नु भनी पाटन उच्च अदालतले दुई वर्षअघि फैसला गरेको थियो ।

अदालतको फैसलासमेत नमानेको भन्दै स्काउटले जग्गा तथा भवन फिर्ता गराउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, खेलकुदमन्त्री, सबै सांसद, संसदीय समितिहरू, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत राज्यका सबैजसो निकायलाई पत्राचार गरेर हारगुहार गराइएको थियो ।

अझ, स्काउटको तालुक मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ आएपछि अदालतको आदेशअनुसार जग्गा र भवन खाली गराउनुको सट्टा छानबिन समिति गठन गरेका छन् ।

लैनचौर चोकको स्काउट भवनको ३६ वटा सटररकबल पनि खड्काले १५ वर्षदेखि भाडामा लिएका थिए । भाडामा दिएको भवनमा विद्युत् र पानीको महसुलसमेत स्काउटको नाममा उठ्थ्यो । त्यो थाहा पाएपछि अहिले स्काउटले विद्युत् र पानीको लाइन काटिदिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर