• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

कांग्रेस सांसद खड्काले १५ वर्षदेखि कब्जा गरेको जग्गा सरकारको नियन्त्रणमा

काठमाडौं । कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति सिल गरी नियन्त्रणमा लिएको छ ।

स्वयंसेवी संस्था स्काउटसँग ३ रोपनी जग्गा भाडामा लिई आसपासमा थप ९ रोपनी जग्गा १५ वर्षदेखि नेपाल संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काले हडपेका थिए ।

उनी सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटको जग्गा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएका थिए ।

३ रोपनी जग्गाको भाडा सम्झौता ५ वर्षअघि नै सकिए पनि उनले स्काउटलाई फिर्ता गरेका थिएनन् । दुई वर्षअघि उच्च अदालत पाटनले फिर्ता गर्नुपर्ने फैसला सुनाए पनि अटेर गरी कब्जामै राखेका थिए ।

बिहीबार नै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, लैनचौर प्रहरी वृत्तका डीएसपी सत्यनारायण थापा र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्याम तिवारीलगायतको टोलीले उक्त जग्गा भएको क्षेत्रमा सिलबन्दी गरी नियन्त्रणमा लिएको हो । प्रशासन र प्रहरीको टोली दिउँसो नै सिल गर्न लैनचौर पुगेको थियो ।

खड्काले भाडामा लगाएको लैनचौर ब्यांकेटमा विवाहको पार्टी चलिरहेकाले राति ९ बजेपछि मात्रै सिल गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

हडपिएको जग्गा सरकारको नियन्त्रणमा ल्याएर बिहीबारदेखि नै उक्त क्षेत्रमा प्रहरीद्वारा सुरक्षा दिन थालिएको उनले बताए ।

सांसद खड्काले कब्जा गरी पार्टी प्यालेस र रेस्टुराँ सञ्चालन गरिएको ४ ठाउँमा सिल लगाइएको छ । 

सांसद खड्काले भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ स्काउटलाई भुक्तानी गर्न लामो समयदेखि अटेर गरिरहेका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर