• २०८१ बैशाख २२ शनिबार
  • Saturday, 4 May, 2024

कतारका राजा आज नेपाल आउने, यस्ताे छ भेटघाट तालिका

काठमाडौं । कतारका अमिर(राजा) तमिम विन हमाद अल थानी फिलिपिन्स र बंगलादेशको राजकीय भ्रमणपछि मंगलबार नेपालको राजकीय भ्रमणमा आउँदै छन् । कतारसँग ८ माघ ०३३ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र ९मध्यपूर्व०बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो । 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा थानी मंगलबार अपराह्न बंगलादेशको राजधानी ढाकाबाट विशेष विमानमा काठमाडौं अवतरण हुनेछन् । मन्त्रिमण्डलका सदस्य तथा उच्च अधिकारीको प्रतिनिधिमण्डलसहित आउने राजा थानीलाई राष्ट्रपति पौडेलले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । त्यसलगत्तै, शीतलनिवासमा राष्ट्रपति पौडेल र राजा थानीबीच करिब एक घण्टा द्विपक्षीय वार्ता हुनेछ । 

कतारका राजाको सम्मानका लागि सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । ‘पहिलोपटक मध्यपूर्वबाट अमिरको तहमा नेपाल भ्रमण हुँदै छ । यो भ्रमणलाई हामीले अत्यन्तै महत्व दिएका छौँ । उहाँसँग जलवायु परिवर्तन, पर्यटन, जलस्रोतमा सहकार्य, नेपाली श्रमिकहरूको सुरक्षा र सुव्यवस्थालगायतका विषयमा छलफल हुनेछ,’ राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले भने, ‘कोरोना महामारी र भूकम्पको समयमा कतारले नेपाललाई हार्दिकतापूर्वक गरेको सहयोग र सद्भावप्रति नेपाल आभारी छ । दुई देशबीच सम्बन्ध थप मजबुद बनाउने गरी हामी छलफल गर्नेछौँ ।’ 

राष्ट्रपति पौडेलले भ्रमणको अघिल्लो दिन सोमबार कतार टिभीलाई दुई देशको सम्बन्धबारे अन्तर्वार्ता दिएका छन् । जसमा उनले जलवायु परिवर्तनको मुद्दामा सहकार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण समुद्रको सतह माथि उठेको र हिमालमा हिउँ सुक्दै गएको अवस्था उल्लेख गर्दै विश्वको एकतिहाइ जनसंख्यालाई नेपालबाट बग्ने नदीमा आउने फेरबदलले प्रत्यक्ष असर पर्ने बताएका छन् । यसमा नेपाल र कतारबीच सहकार्य गर्नुपर्ने उनको भनाइ थियो । यो विषयमा राष्ट्रपति पौडेलले कतारका राजासँग छलफल गर्नेछन् । 

राष्ट्रपति पौडेलले दुई पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि धारणा राख्नेछन् । नेपालका हिमालमा पदयात्रा र नदीमा जलयात्राको अपार सम्भावना रहेको र यसका लागि कतारबाट पर्यटक भित्र्याउन नेपाल इच्छुक रहेको सन्देश राष्ट्रपतिले दिनेछन् ।

नेपालको जलविद्युत् क्षेत्रमा सहकार्यबारे राष्ट्रपति पौडेलले कतारका राजासँग छलफल गर्नेछन् । ठूला जलाशययुक्त जलविद्युत् परियोजनामा राष्ट्रपति पौडेलको चासो छ । 

‘यस्तो उच्चस्तरीय भ्रमणका अवसरमा कसले दिने वा लिनेभन्दा पनि दुवै देशलाई फाइदा हुने विषयमा जानुपर्छ । राष्ट्रपतिज्यू दुई देशबीच सहकार्यका विषयमा जोड दिनुपर्छ भन्नेमा हुनुहुन्छ,’ सल्लाहकार थापाले भने, ‘कतारका राजाको भ्रमणलाई हामीले महत्वपूर्ण अवसरका रूपमा उच्च महत्व दिएका छौँ । ’  

नेपालको महत्वपूर्ण श्रम गन्तव्य कतार हो । राजासँगको छलफलमा  श्रम बजार सुरक्षित र व्यवस्थित गर्नुपर्ने नेपालको जोड हुनेछ । कतारमा तीन लाख ६८ हजार नेपाली श्रमिक कार्यरत छन् । मानव अधिकारवादी संस्था ह्युमेन राइट्स वाचले नेपाल र बंगलादेशले श्रमिकहरूको सुरक्षाका विषयमा कतारसँग छलफल गर्नुपर्ने र कतार गम्भीर हुनुपर्नेमा जोड दिँदै सोमबार विज्ञप्ति जारी गरेको छ । 

प्रधानमन्त्रीसँगको भेटपछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बुधबार औपचारिक वार्ता हुनेछ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजासँग औपचारिक वार्ताका लागि प्रधानमन्त्रीलाई जिम्मा दिएको छ ।

प्रधानमन्त्री र राजाबीच भेटवार्तापछि द्विपक्षीय सहकार्यसम्बन्धी आपसी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले कतारका राजाको सम्मानमा बुधबार दिवाभोज दिनेछन् । त्यसपछि कतारका राजा स्वदेश फर्किने कार्यक्रम छ ।

नेपालले श्रम सम्झौता गरेको विश्वकै पहिलो मुलुक कतार

नेपाल र कतारबीच ८ चैत ०६१ मा  श्रम सम्झौता भएको थियो । नेपालले श्रम सम्झौता गरेको विश्वकै पहिलो मुलुक कतार हो । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका थिए । दक्षिण एसियामा कतारसँग पहिलो श्रम सम्झौता गर्ने देश नेपाल हो । पूर्वपरराष्ट्रमन्त्री पाण्डेले कतारका राजाको आगमनलाई नेपालले आफ्नो कूटनीतिक सीप प्रदर्शनको विशेष अवसरका रूपमा लिनुपर्ने बताए । ‘मध्यपूर्वको विशेष शक्ति बनिसकेको र भूमण्डलीय राजनीतिमा प्रभाव बढाइरहेको कतारका अमिर ९राजा०सँगको निकटतम सम्बन्ध र सद्भावना नेपालको कूटनीतिका लागि दीर्घकालीन पुँजी बन्न सक्छ,’ पाण्डेले भने । मध्यपूर्वको तातेको माहोल र त्यहाँ व्यस्तताको बीचबाट कतारका राजा नेपाल आउनुको कारण नेपालले उद्देश्य बुझ्नुपर्ने उनको सुझाव छ । ‘नेपालले कतारसँग चिसिएको सम्बन्ध न्यानो पार्ने, राजाको सद्भावना आर्जन गर्ने र दुई देशबीच सम्बन्धको स्तरवृद्धि गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्छ । यसो हुन सक्यो भने अन्य विषय स्वतः नियमित रूपमा प्राप्त हुन थाल्छन्,’ पूर्वपरराष्ट्रमन्त्री पाण्डेले भने । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर