• २०८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024

कतारबाट हमासको हेडक्वार्टर सार्न पश्चिमा दबाब किन ?

इजरायलसँगको युद्धविराम असफल भएपछि आफ्नो हेडक्वार्टर कतारबाट अन्त सार्नेबारे हमासभित्र तीव्र छलफल चलिरहेको पश्चिमा सञ्चार माध्यमहरूले जनाएका छन् ।

कतार र हमास दुवैले औपचारिकरूपमा हेडक्वार्टर अन्त सार्नेबारे कुनै योजना नरहेको दाबी गरेता पनि कतारले पश्चिमा र अन्य अरब देशहरूबाट तीव्र दबाबको सामना गरिरहेको छ ।

हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको दाबी गरेको कतारमाथि हमासलाई साथ र समर्थन दिएको आरोप पश्चिमा देशहरूले लगाइरहेका छन् ।

कतारका अमिर तामिम बिन हमिद अल थानीले हमासको मुख्य कार्यालयलाई आफ्नो देशबाट हटाउनेबारे के सोचिरहेका छन् भन्नेबारे बीबीसीले विस्तृत समाचार सामग्री प्रसारण गरेको छ ।

के कतारमा हमासको उपस्थितिको पछाडि अमेरिका थियो ?

हमासले सन् २०१२ देखि कतारमा आफ्नो राजनीतिक कार्यालय खोलेर राखेको छ । त्यतिबेला हमासका राजनीतिक ब्यूरो प्रमुख खालेद मेशाल सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध युद्ध लडिरहेको सिरियाली प्रतिपक्षी हतियारधारी समूहको समर्थनमा कतार आएका थिए ।

सन् २०१७ मा राजनीतिक ब्यूरो प्रमुख रहेका मेशालको स्थानमा आएका इस्माइल हानिया हाल कतारमा बस्दै आएका छन् ।

अमेरिकी र कतारी अधिकारीहरूका अनुसार कतारले अमेरिकाको अनुरोधमा आफ्नो देशमा हमासको राजनीतिक कार्यालय रहन दिएको मात्र छैन, आर्थिक सहयोग पनि गर्दै आएको छ ।

कतारमा हमासको नेतृत्वलाई रहन दिएर अमेरिकाले प्यालेस्टाइन र इजरायलबीच बढ्दो द्वन्द्वलाई कम गर्न अप्रत्यक्ष संवाद खुला राख्न चाहेको थियो ।

इस्लामिक समूहहरूको अनुसन्धान गरिरहेका अम्मानको इन्स्टिच्युट अफ पोलिटिक्स एन्ड सोसाइटीसँग सम्बद्ध विज्ञ हसन अबु हानियाले अमेरिकाको अनुरोधमा हमासको कार्यालय कतारमा खोलिएको दाबी गरे ।

अमेरिकाको निर्देशनमा अफगान सरकार र तालिबानबीच मध्यस्थता गरेजस्तै इजरायल(हमासबीच पनि कतारले मध्यस्थता गर्न सक्ने अमेरिकाको बुझाइ रहेको हानियाको भनाइ छ ।

कतारमाथि दबाब

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा हमासविरुद्ध अपरेशन चलाइरहेको छ । युद्धमा कतारले दुई पक्षबीचको वार्तामा महत्वपूर्ण भूमिका खेलेको छ ।

गत वर्ष नोभेम्बरमा कतारको सहयोगमा इजरायल र हमासबीच एक साता लामो युद्धविराम घोषणा भएको थियो र यस अवधिमा हमासले ८१ इजरायली बन्धकहरूलाई रिहा गरेको थियो । बदलामा इजरायली जेलमा रहेका २ सय ८० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरियो ।

तर, कुनै पनि वार्ता युद्धविराम कायम राख्ने तहमा पुग्न सकेन । अहिले मध्यस्थकर्ताको भूमिका खेल्न नसकेको भन्दै अमेरिकाले कतारको आलोचना गरिरहेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कतारले हमासलाई आर्थिक सहयोग गरिरहेको समेत आरोप लगाएका छन् । गत  जनवरीको अन्त्यमा उनले कतारलाई इजरायली बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिन आग्रह गरेका थिए ।

कतारका विदेशमन्त्रीले नेतान्याहुको भनाइलाई अपमानजनक भन्दै इजरायलले युद्ध लम्ब्याउने प्रयास गरिरहेको आरोप लगाएका थिए ।

उनले इजरायल-हमास युद्ध अन्त्य गर्न र मध्यस्थताका लागि थप प्रयास गर्न कतार प्रतिबद्ध रहेकोमा जोड दिए ।

गत हप्ता अमेरिकास्थित कतारी दूतावासले डेमोक्रेटिक सांसद स्टेनी होयरको भनाइप्रति असन्तुष्टि व्यक्त गरेको थियो ।

आफ्नो विज्ञप्तिमा अमेरिकी सांसदले कतारले हमासलाई दबाब दिन नचाहेको आरोप लगाउँदै कतारले हमासलाई दिएको आर्थिक सहयोग नरोके अमेरिकाले कतारसँगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने माग गरेका थिए ।

इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिकामा रहँदा खेपेको आलोचनाप्रति कतारले दुःख व्यक्त गरेको छ ।

गत अप्रिल १७ मा कतारका विदेशमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले गाजा संकटमा कतारले आफ्नो हस्तक्षेपको मूल्यांकन गरिरहेको बताएका थिए ।

२३ अप्रिलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले पनि कतारले आफ्नो मध्यस्थताको भूमिकाबारे छलफल गरिरहेको दोहोर्‍याए ।

उनले मध्यस्थकर्ताको भूमिका कुनै पनि पक्षलाई दबाब दिनुभन्दा पनि सबै पक्षसँग मिलेर काम गर्नु रहेकोमा जोड दिए ।

के कतारले हमासको कार्यालय बन्द गर्दैछ ?

शनिबार अमेरिकी वाल स्ट्रिट जर्नलले केही अधिकारीहरूलाई उद्धृत गर्दै हमासको राजनीतिक नेतृत्वले कतारबाट आफ्नो कार्यालय सार्ने सम्भावनाबारे विचार गरिरहेको दाबी गरेको थियो ।

उक्त दाबीमा हमासले ओमान र टर्कीएलाई नयाँ ठेगाना बनाउनेबारे सोचिरहेको बताइएको छ । हमासले यी दुई देशसँग निरन्तर सम्पर्क गरिरहेको वाल स्ट्रिट जर्नलमा लेखिएको छ ।

हमासका अधिकारीहरूले यसबारेमा केही बोलेका छैनन् । तर कतारको विदेश मन्त्रालयका प्रवक्ताले आफूले युद्धको मध्यस्थता गरिरहने बेलासम्म हमासको कार्यालय कतारमै रहँदा फाइदा हुने बताए । यद्यपि उनले हमासले आफ्नो राजनीतिक कार्यालय आफ्नो देशबाट अन्यत्र सार्न सक्ने भनाइलाई पूर्ण रूपमा अस्वीकार भने गरेनन् ।

हालै हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाले टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानबुलमा भेट गरेका छन् । दुवैबीच करिब तीन घण्टा कुराकानी भएको थियो ।

कतारको विदेश मन्त्रालयका प्रवक्तालाई इजरायल र हमासबीचको मध्यस्थतामा टर्कीएको भूमिकाबारे प्रश्न गरिएको थियो ।

उनले टर्कीए गाजामा युद्ध रोक्न कतारले गरिरहेको प्रयासलाई समर्थन गर्ने सबैभन्दा महत्त्वपूर्ण देश रहेको जवाफ दिएका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर