• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

म्यानचेस्टर युनाइटेड र चेल्सीले खेले बराबरी

काठमाडौं । रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ ।

इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १(१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।

७९औं मिनेटमा डिफेन्समा भएको गल्ती सँगै बर्नलीले गोल खान पुगेको थियो । एन्टोनीले बर्नलीको हाफमा बल लिएर आफैले गएर गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

तर ८७औं मिनेटमा युनाइटेडले पेनाल्टी मार्फत गोल खान पुग्यो । गोलरक्षक आन्द्रे ओनानाले गरेको फाउलका कारण पाएको पेनाल्टीमा बर्नलीका जेकी आमडुनीले गोल गर्दै खेलमा बराबरी गरे ।

बराबरीपछि छैठौं स्थानमा नै रहेको युनाइटेडको ३४ खेलमा ५४ अंक छ । बर्नली भने ३५ खेलमा २४ अंक सहित १९औं स्थानमा छ ।

यस्तै सोही समयमा भएका खेलमा न्यूक्यासल युनाइटेड र वल्भस विजयी भएका छन् । फूलह्याम र क्रिस्टल प्यालेसले १–१ बराबरी खेलेका छन् । दिनको पहिलो खेलमा लिभरपुल र वेस्ट ह्यामले २–२ बराबरी खेले । न्युक्यासलले सेफिल्ड युनाइेडलाई ५–१ ले, वल्भसले लुटन टाउनलाई २–१ ले हराएको थियो ।

यसैबीच विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ ।

चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका लागि मोर्गान रोजर्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । चेल्सीका लागि नोनी माडुएके र कोनर गल्लाघेरले गोल गरे ।

खेलको चौथो मिनेटमा नै मार्क कुकुरेलाको आत्मघाती गोलबाट चेल्सी पछि परेको थियो । १६औं मिनेटमा निकोलस ज्याक्सनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ४२औं मिनेटमा मोर्गानले गोल गर्दै भिल्लालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

२–० ले पछि परेको स्थितिबाट दोस्रो हाफ शुरु गरेको चेल्सीले पूनरागमन गर्दै हार टार्यो । ६२औं मिनेटमा माडुएकेले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि ८१औं मिनेटमा माडुएकेकै पासमा गल्लाघेरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर