• २०८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024

बझाङ प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यको सिट सुरक्षित गरेका हुन् ।

एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका सिंह ११ हजार ३४३ मा सीमित रहे । भण्डारी र सिंहको मतान्तर २६६ मात्र रहेको छ ।

को हुन् भण्डारी ?

२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए । बझाङमा लैङ्गिक हिंसाविरुद्धको अभियान समेत चलाएका उनलाई एमालेभित्र इमानदार, भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छ ।

उपनिर्वाचनको मुखमा बुबा गमाएका भण्डारी २०५४ सालमा मटेला गाविसको एमाले अध्यक्ष निर्वाचित भएका थिए । २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव बनेका उनी ०६२ सालमा राष्ट्रिय युवा संघ नेपाल अञ्चल कमिटी सचिव बनेका थिए ।  

२०६९ सालमा भएको सातौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल बझाङ एमाले अध्यक्ष समेत रहेका छन् । यो उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकाङ्क्षी ६ जनाबिच मतदान गराउँदा भण्डारी सबैभन्दा धेरै ९४ मत प्राप्त गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर