• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

सत्ता गठबन्धनः प्रचण्ड, ओली र रविबीच तीन घण्टा वार्ता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। विशेषगरी गृहमन्त्री लामिछानेमाथि नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएकोबारे छलफल भएको हो।

पार्टी संसदीय दलको बैठकदेखि सर्लाहीमा आयोजित कार्यक्रमसम्म सकेर प्रचण्डले शनिबार साँझ ओली र लामिछानेसँग झण्डै तीन घण्टा छलफल गरेका हुन्। 

सत्ता घटक दलहरू एमाले र एकीकृत समाजवादीका शीर्ष नेताहरूबिच नै तिक्ततापूर्ण अभिव्यक्ति आउन थालेपछि वैशाख १८ गते प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटारमा बोलाएर चासो व्यक्त गरेका थिए । प्रचण्ड–माधव भेटवार्ता लगत्तै सोही दिन एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जसपाको संसदीय कार्यालय सिंहदरबारमा जसपाका शीर्ष नेताहरूसँग वैकल्पिक गठबन्धन बनाएर जाने विषयमा छलफल गरेका थिए ।

प्रचण्डलाई विश्वासमा लिएर माधवलाई प्रधानमन्त्री बनाउने गरी पाण्डेले छलफल अगाडि बढाएको सूचना पाएका एमालेका अध्यक्ष ओलीले वैशाख २० गते प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रचण्डसँग झण्डै दुई घण्टा भेटवार्ता गरेका थिए । ओलीसँग भेट भएपछि सरकार नढल्नेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क देखिएको बालुवाटार स्रोतको दाबी छ ।

सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ। सो अधिवेशन सुरु हुनुअघि नै एकखालको सहमति जुटाउनेगरी प्रधानमन्त्री प्रचण्डले केही दिनदेखि नै पहल गरेका थिए। 

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी एक सांसदका अुनसार, पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने प्रचण्डले बताएका थिए। 

सोही अनुसार उनले शनिबार साँझ नै गृहमन्त्री लामिछाने र अध्यक्ष ओलीसँग एक चरणको छलफल सकाएका छन्। 

प्रचण्डले देशभरका सहकारी समस्या समाधान गर्नेगरी छानबिन समिति बनाउने प्रस्तावसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्ने तयारी गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर