• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

उपेन्द्र यादवको पार्टी जसपा विभाजित

काठमाडौँ । लामो समयदेखि आन्तरिक कलहमा फसेको मधेशको पार्टी जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजनको संघारमा पुगेको छ ।

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुन लागेको सोही पार्टीका केही नेताले दावी गरेका छन् । तर उपेन्द्र यादव पक्षीय नेताहरुले भने यस्तो हल्लामा कुनै सत्यता नभएको दावी गरेका छन् । मधेश सरकारका मन्त्रीसमेत रहेका उनले जसपा नफुट्ने दावी गरे ।

नेता राईले आफ्नो पक्षमा ७ सांसद तयार पारेको र ६ जनाले विभाजनको पक्षमा हस्ताक्षर गरेको स्रोतले बतायो । जसमा सांसदहरू अशोक राई, प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठलगायत छन् ।

सांसद अशोक राईको नेतृत्वमा ७ जना सांसद र २९ जना केन्द्रीय सदस्यसहित जसपा नेपालबाट अलग भएको सांसद प्रदीप यादवले जानकारी दिए। असन्तुष्ट समूहको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो। 

हाल प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्। नयाँ दलमा अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठ, रन्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खान छन्। २९ जना केन्द्रीय समिति प्रस्ताव गरिएको छ। बाँकी सदस्य पछि थपिनेछ। 

नयाँ दल आजै दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

जसपा अध्यक्ष यादव अहिले अमेरिकामा छन् । संघमा सत्ता साझेदार जसपाका १२ सांसद छन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ ।

यस अघि तत्कालिन केपी ओली सरकारले दल विभाजनका लागि र को ठाउँमा वा राखेर विभाजनका लागि सहज अवस्था बनाउन लागेको थियो । अध्यादेशबाट यस्तो व्यवस्था गर्न खोज्दा चर्को विरोध भएको थियो । तर अहिले दल र केन्द्रीय समिति दुवै तिर ४० प्रतिशत पुगेमा दल विभाजन हुन सक्ने अवस्था छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर