• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

जापानी विदेशमन्त्रीको एक दिने भ्रमण: दुई देशबीच विविध पक्षमा छलफल 

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावाको एक दिने भ्रमण औपचारिक सद्भावना भ्रमणमा सीमित भएको छ। आइतबार मध्याह्न नेपाल आएकी उनले दुई देशबीचका विविध पक्षमा सामान्य रूपले चासो व्यक्त गरे पनि औपचारिक रूपमा कुनै सम्झौतामा ठोस सहमति नभएको परराष्ट्र मन्त्रालयले बताएको छ। 

नेपालमा पछिल्लो समय भारत, चीन र अमेरिकाबाट उच्च तहका भ्रमण भइरहेका बेला जापानबाट पनि परराष्ट्रमन्त्री तहको भ्रमण भएको हो। उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन्। फ्रान्स र श्रीलंकाासहित ६ वटा देशको भ्रमण सकेर अन्तिममा श्रीलंकाको कोलम्बो हुँदै काठमाडौं आएकी उनको यो पहिलो नेपाल भ्रमण होे। मन्त्री कामिकावा आइतबार रातिनै स्वदेश फर्किएकी छन्। काठमाडौं ओर्ले लगत्तै मन्त्री योको बसन्तपुर दरबार स्क्वायरको भ्रमण गर्न पुगिन्। दरबार स्क्वायरको भ्रमणलगत्तै उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुई पक्षीय वार्ता गरेकी थिइन्। त्यसपछि मण्डला बुक प्वाइन्टको अवलोकन गरिन्।  

उनले ४ बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट गरेकी थिइन्। उक्त भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धको समीक्षासँगै आगामी यात्राका बारेमा छलफल भएको छ।  

परराष्ट्रमन्त्री श्रेष्ठसँगको भेटबारे उनले भनिन् , ‘औपचारिक भेट भएकाले नेपाल र जापानको सम्बन्धको विविध पक्षलगायत विषयमा छलफल भएको छ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईका अनुसार ‘जापानी विदेशमन्त्रीको नेपाल भ्रमणका दौरान नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धका बारेमा मौखिक छलफल मात्र भएको छ। ‘यो औपचारिक सद्भावना भ्रमण हो,’ राईले भने, ‘दुई मुलुकबीचको सम्बन्धका आगामी बाटोका विषयमा कुरा भएको छ। त्यस्तो कुनै औपचारिक हस्ताक्षर भएको छैन।’ 

साँझ ६ बजे राष्ट्रपतिसँगको शिष्टाचार भेटपछि परराष्ट्रमन्त्री श्रेष्ठले सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएपछि राति ८ः३० बजे जापानी पत्रकारहरूसँग भेट गरिन। त्यसपछि जापान फर्किएकी छन्।

समझदारी पत्रमा हस्ताक्षर भएन, समग्र पक्षमा छलफल 

विदेशमन्त्री कामीकावाको भ्रमणमा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जापानबाट नेपालमा लगानी भित्र्याउने विषय भेटघाटमा प्रमुखताका साथ उठेको मन्त्रालयको दाबी छ। 

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध कायम भएको अर्को वर्ष ७० वर्ष पुग्दै छ।  अहिले विदेशमन्त्री कामीकावाको यो भ्रमणले त्यसलाई थप टेवा दिनसक्ने आकलन पनि गरिएको छ। नेपालस्थित जापानी राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘जापान र नेपालले लामो समयदेखिको विकास सहकार्य र जनस्तरको सम्बन्धमा आधारित गहिरो सम्बन्ध कायम राखिराखेका छन्। जापानी राजदूतावासले उनको यस पटकको भ्रमणले सन् २०२६ मा कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्ने दौत्य सम्बन्धलाई थप बलियो बनाउन सकारात्मक गति दिनेछ।’

जापानका लागि एक पूर्वराजदूतले नेपालले कृषि क्षेत्रबाट फाइदा लिन सकिने कुरामा ध्यान दिँदै शिक्षा र स्वास्थ्यसम्बन्धी पूर्वाधारहरूमा जापानको सहयोग खोज्नुपर्ने ठान्छन्। सन् १९५६ सेप्टेम्बर १ मा नेपालको जापानसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना ग¥यो। त्यसको लगत्तै २ वर्षपछि जापानले सन् १९६७ मा नेपालमा दूतावास स्थापना गरेको थियो। 

दुवै देशले कूटनीतिक सम्बन्ध स्थापना भएको हीरक जयन्तीसमेत मनाइसकेका छन्। जापानिज विदेशमन्त्रीको नेपाल भ्रमणको विषयमा पनि जापानका लागि वर्तमान नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी यो तहको दुई देशबीचको उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको बताए। ‘यो लेभलको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अभैm मजबुत बनाउने काम गर्छ।’

यसअघि जापानका तर्फबाट पछिल्लो समय विदेशमन्त्री तारो कोनोले सन् २०१९ जनवरी ९ र १० मा नेपालको भ्रमण गरेका थिए। नेपालका तर्पmबाट भने तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जापानको भ्रमण 
गरेका थिए। जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ। नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ। नेपाली समुदाय जापानमा छैटौं ठूलो विदेशी समुदाय हो।

जापानले नेपालको शान्ति र लोकतन्त्रको प्रवद्र्धनमा पनि सहयोग गर्दै आएको छ। जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्छन्।

जापानले नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउँदै आएको छ। यस योजनाअन्तर्गत तनहुँ जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, खानेपानी सुधारलगायतका आयोजना सञ्चालित छन्।

नेपालबाट जापानतर्फ हुने प्रमुख निर्यातमा पस्मिना उत्पादन, तयारी पोसाक, उनीका सामान, गलैंचा, हस्तकला, नेपाली कागज र कागजका सामान, छालाका सामान, चाँदीका सामान र गरगहना छन्। त्यसैगरी जापानबाट नेपालको प्रमुख आयातमा सवारी साधन तथा पार्टपुर्जा, इलेक्ट्रोनिक सामान, मेडिकल उपकरण, फलामलगायतका सामान आयात हुन्छन्। 

प्रधानमन्त्रीसँग आर्थिक सहकार्यलगायत  द्विपक्षीय छलफल 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विदेशमन्त्री योकोबीच भएको पछिल्लो भेटमा नेपालको ठूला पूर्वाधार निर्माणमा जापानको महत्वपूर्ण सहयोगको अपेक्ष नेपालले गरेको प्रधानमन्त्री दाहालले बताएका थिए। 

शिष्टाचार भेटमा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको थियो। भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पु¥याउँदै आएको भन्दै प्रशंसासमेत गरेका थिए।  प्रधानमन्त्री दाहालले, ‘नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ। आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु।’   

विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत सम्बन्ध रहेको भन्दै उनले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी  थिइन्। 

राष्ट्रपति पौडेलले जापानी विदेशमन्त्रीसँग भने– पृथ्वीलाई जोगाउन हिमाल र पानी बचाउनमा सघाउनुहोस् 

राष्ट्रपति पौडेल र जापान परराष्ट्र मन्त्री योकाबीच राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको बताएका थिए। त्यसको लागि कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधै जापानको उच्च सद्भाव महसुस गरेको बताए। नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरूमा सँगै अघि बढ्न सकिने बताएका थिए।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन्।  जापानको उद्देश्यका बारेमा थप स्पष्ट पार्दै विदेशमन्त्री योकोले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको भन्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर