• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

एकीकृत समाजवादी पनि फुट्ने चर्चाः माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजनको तरङ्ग माधवन नेपाल अधयक्ष रहेको नेकपा एकीकृत समाजवादीमा समेत देखिएको छ ।

जसपा विभाजनले नेकपा एकीकृत समाजवादीमा समेत पराकम्प गएको चर्चा चलिरहेका बेला माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउन नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् । आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ ।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।


उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी छ ।

अबको रणनीति बनाउनका लागि नेकपा एसको संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिएका छन् ।

नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् ।

एकातिर सांसदहरु नेपालसँग असन्तुष्ट भएर विभिन्न ठाउँमा संवादमा छन् भने अर्कोतिर झलनाथ खनाललगायतका नेताहरु एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् ।

सरकार भन्दा बाहिर रहेका नेताहरु राजेन्द्र पाण्डे र मेटमणी चौधरीसहितका केही नेता तुरुन्तै सरकारबाट बाहिरिनुपर्ने अडानमा छन् । माधवकुमार नेपाललाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीको आश्वासन दिएको बताईएको छ । प्रधानमन्त्रीको आशामा उनी पनि वर्तमान सत्ता गठबन्धन विरुद्ध विभिन्न कोठे बैठकहरुमा व्यवस्त  छन् । 

तर उता पार्टी भित्रको बहुमत पंक्ति भने यही गठबन्धन र सरकारमा रहेर चुनावसम्म जानुपर्ने पक्षमा छ । कांग्रेसले अध्यक्ष नेपाललाई प्रधानमन्त्री पनि नदिने र नयाँ समिकरण बनाएर चुनावमा जान पनि नहुने पक्षमा सर्वोच्च नेता झलनाथ खनाल लगायतको पंक्ति रहेको सोही पार्टीका एक शीर्ष नेताले बताए ।

खनालसहित महासचिव घनश्याम भुषाल, उपमहासचिव प्रकाश ज्वाला, अहिले सरकारमा रहेका मन्त्रीहरु, पूर्वमन्त्रीहरु रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठलगायतका नेताहरु यही सत्ता गठबन्धनको पक्षमा रहेकाे ती नेताले बताएका हुन् ।

यस्तो अवस्थाका बाबजुत नेता नेपालले सरकारबाट बाहिरिने निर्णय गरेमा पार्टी विभाजनको शिकार बन्न सक्ने उनले चेतावनी दिए ।  आफुहरुले यो कुरा पार्टी बैठकमा तथा नेताहरुले भेटेरै पनि जानकारी गराईसकेको उनले बताए ।  राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ ।

एकीकृत समाजवादीका बहुमत सांसद र केन्द्रीय सदस्यकहरु वामपन्थीहरुको बाहुल्य रहेको वर्तमान सत्ता गठबन्धन फेर्न नहुने पक्षमा रहेको उनले बताए ।

इलाममा भएको उपनिर्वाचनमा वरिष्ठ नेता झलनाथ खनालले नै नेतृत्व गर्दा पनि आफ्नो पार्टीका उम्मेद्वारको जमानत जफत भएपनि एकीकृत समाजवादी वाम दलहरु मिलेर जानुपर्ने मुडमा पुगेको कतिपय नेताहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर