• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

सहकारी ठगिमा गृहमन्त्रीको संलग्नता अर्को अनुसन्धानबाट पनि पुष्टि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी मात्र होइन, पोखराको सूर्यदर्शन सहकारीको बचतसमेत हिनामिना गरेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम लिएको भन्दै तयार पारेको प्रतिवेदन उनी गृहमन्त्री भएपछि लुकाएका थिए ।

तर, पोखरा महानगरले गठन गरेको छानबिन समितिले पनि लामिछाने आफैंले माग फाराम भरेर सहकारीबाट रकम उठाएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । 

पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै निष्कर्ष : सूर्यदर्शन सहकारीको बचत हिनामिनामा पनि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि

१८ हजार ७ सय बचतकर्ता रहेको सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड रकम अपचलनमा गत वर्ष मुद्दा दायर गर्दा लामिछानेसहितको नाम प्रहरीले योजनाबद्ध रूपमा छुटाएको थियो । तर, पीडित बचतकर्ताले अनुसन्धान र न्यायको माग गर्दै गत माघ २२ मा पूरक जाहेरी दिएपछि सीआईबीको टोली पोखरा पुगेर अनुसन्धानमा खटिएको थियो ।

लामिछानेसहितका ‘शंकास्पद ऋणी’ ले सूर्यदर्शन सहकारीबाट अनियमित रूपमा कर्जा लिएको भन्दै सीआईबीले थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । तर, लामिछाने गृहमन्त्री भएपछि प्रतिवेदन लुकाइएको छ ।

आफूमाथि प्रश्न उठेको प्रतिवेदन सत्ता र शक्तिको आडमा गृहमन्त्री लामिछानेले दबाएपछि पीडित बचतकर्ताले न्यायको माग गर्दर्र् ैआन्दोलन गर्दै आएका छन् । पीडितहरूको मागकै आधारमा पोखरा महानगरले छानबिन समिति गठन गरेको थियो ।

गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ सारिएको तमसुक मात्र होइन, लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण पनि छानबिन समितिले फेला पारेको छ ।

‘त्यसका लागि रवि लामिछानेले भरेको कर्जा फाराम पनि फेला परेको जसलाई प्रतिवेदनमा नत्थी गरिएको छ,’ छानबिन समितिका विज्ञ सदस्य दीपकप्रकाश आचार्यले भने ।

‘वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको छ । रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको छ । पैसा कहाँ गयो ? कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर प्रतिवेदनमा लेखिएको छ,’ उनले भने ।

पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन् । लामिछाने गृहमन्त्री भएपछि लुकाइएको सीआईबीको प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु (जीबी) राईको नाम २१ नम्बरमा छ । पुनले दुई पटक गरेर एक करोड, लामिछानेले चेक तथा नगदबाट एक करोड लिएका छन् ।

त्यस्तै जीबी राईले गोर्खा मिडिया नेटवर्कमा सञ्चालन गर्न सूर्यदर्शनबाट ३० करोड लिएकाले त्यसबापतको सेयर दिने भनेर छुट्टै तमसुक गरेका छन् । राई फरार छन् गृहमन्त्री रहेका लामिछानेले आफूमाथि छानबिन हुनै नसक्ने अडान लिँदै आएका छन् ।

महानगरको प्रतिवेदनलाई बलियो बनाउने गरी सीआईबीको प्रतिवेदनले कारोबारको विवरणसमेत स्पष्ट पारेको छ । रवि लामिछानेका नाममा ०१–००१–११६–०००४४५६ नम्बरको ऋण खाता र ०१–००१–४९–००००७७७० नम्बरको बचत खाता खोली एक करोड ऋण निकालेर सारिएको सीआईबी अनुसन्धानमा देखिएको छ । लामिछानेले लिएको एक करोडमध्ये २०७८ जेठ ६ मा सहकारीको चेक नम्बर २०२७२२१०८५ बाट ५० लाख (पचास लाख) गण्डकी विकास बैंकमार्फत गोर्खा मिडिया नेटवर्कमा सारिएको थियो ।

त्यस्तै सोही वर्ष असार ९ मा ५० लाख नगदै लिएको पनि प्रतिवेदनले खुलाएको छ । ‘रवि लामिछानेका हकमा’ शीर्षकमा प्रतिवेदनमा लेखिएको छ, ‘चेकमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५० लाख र नगदै लिएको ५० लाखसमेत गरी जम्मा एक करोड रकम वार्षिक ब्याजदर १४.७५ का दरले १२ महिनाको ऋण लिएको भनी उल्लेख भएको ।’-कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर