• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

गृहमन्त्रीलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको शुक्रबार सुरु हुने बजेट अधिवेशनमा थप सशक्तरुपमा प्रस्तुत हुने संकेत गरेको छ ।  

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको मागलाई कांग्रेसले यो अधिवेशनमा पनि उठाउने तयारी गरेको हो । 

अधिवेशन सुरु हुनुपूर्व शुक्रबार बसेको संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई वितरण गर्दै कांग्रेसले माग पूरा गर्न थप दबाब सृजना गर्ने संकेत गरेको हो ।

सभापति शेरबहादुर देउवाको निर्देशनमा बाँडिएको उक्त प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेको नाम पनि उल्लेख छ । 

सांसद रामहरि खतिवडाले प्रतिवेदन अध्यनयका लागि बाँडिएको पुष्टि गरे । उनले प्रतिनिधि सभाको शुक्रबार सुरु हुने अधिवेशनमा आफ्ना मागबारे स्पष्ट धारणा बनाउन प्रतिवेदन अध्ययनका लागि बाँडिएको जानकारी दिए ।

सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने तर्कसहित संसदमा आफ्ना विषय राख्न कांग्रेस सांसदहरुलाई प्रशिक्षित गरिएको खतिवडाले बताए । 

रुपन्देही प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा नाम उल्लेख भएकामाथि सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने कांग्रेसको तर्क छ ।  

प्रहरी अनुसन्धानका आधारमा रुपन्देही सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गरेको अभियोजनपत्रमा गृहमन्त्री लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ । यो विवरणका आधारमा संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरुलाई भनिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर