• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

'चिन्न सकेन' भन्दै विजय सरावगीले त्यागे एमाले 

काठमाडौं । वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र सन्देश लेख्दै सरावगीले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

सक्रिय राजनीतिमा हैसियतअनुसारको भूमिका नपाएकाले राजीनामा दिएको उनको भनाइ छ । राजनीतिमा सक्रिया भन्दा पनि निष्क्रिय बनाउने काम भएको उनले पत्रमा उल्लेख गरेका छन् ।

तत्काल अन्य कुनै दलमा जाने योजना नरहेको सरावगीले इकान्तिपुरसँग बताए । करिब ८ महिना अघिदेखि नै आफूले एमाले छाड्न चाहेको उनले बताए ।

'पार्टीले हाम्रो क्षमतालाई प्रयोग गर्न सकेन । म त वीरगन्जको मेयर पनि भइसकेको व्यक्ति हुँ । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएको हुँ । हाम्रो कार्याअनुभवलाई पार्टीले चिन्न सकेन ।'

राजनीतिभन्दा उद्योग/व्यवसायमै आफू सक्रिय हुने पनि उनले बताए । 'हामीजस्ता थुप्रै व्यक्तिलाई पार्टीमा ल्याइन्छ तर कुनै भूमिका दिइन्न,' उनले भने ।

२०७८ फागुनमा वीरगन्जको मेयर रहेकै बेला सरावगी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय निर्वाचनमा भने एमालेबाट मेयर उम्मेदवार बनेका सरावगी जसपाका राजेशमान सिंहसँग पराजित भएका थिए ।

सिंहसँग उनी करिब २२ हजार मतको अन्तरले पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर