• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

'सभामुखका छाेरा'लाई ओलीले दिए रोचक प्रशिक्षण

काठमाडौं । सरकारमा रहेको प्रमुख दल नेकपा एमालेले संसदको बजेट अधिवेशन अघि सांसदहरुलाई प्रशिक्षण दिएको छ । दलका नेता तथा अध्यक्ष केपी ओलीले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएका छन् । 

आजबाट संसद्को बजेट अधिवेशन सुरु हुँदै छ। दिउँसो २ बजेबाट सुरु हुने संसद् बैठकअघि दलहरूले आ–आफ्ना सांसदलाई प्रशिक्षण दिएका छन्। 

यसै क्रममा नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी छ। एमाले संसदीय दलमा आजबाट नयाँ अनुहार पनि थपिएका छन्। उनी हुन्– सुहाङ नेम्बाङ। 

सुहाङ नेपालकाे संसदीय इतिहासमा सवैभन्दा धेरै सभामुख, संविधानसभा अध्यक्ष बनेका सुवास नेमवाङका छाेरा हुन् । सुवास नेम्वाङले संसद बैठक चलाएकाे कुरा नेपाली संसदीय इतिहासमा उदाहरणीय मानिन्छ ।

सुहाङ इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। आज संसद्को बजेट अधिवेशनको पहिलो दिन हो। यही दिन सुहाङको पनि सदन प्रवेशको पहिलो दिन बन्दै छ। 

सुहाङ सहभागी संसदीय दलको बैठकको सुरुमा अध्यक्ष ओलीले उनलाई केही संसदीय आचरणका विषयमा प्रशिक्षण दिएका छन्।

‘अरू कसैलाई केही भन्नु छ भने सरकार वा प्रधानमन्त्रीलाई भन्दा पनि सम्माननीय अध्यक्ष वा सभाुमखजीमार्फत् मात्रै भनिन्छ। नयाँ साथीहरू आएको कारणले सिकाएको मात्रै हो,’ उनले भने। 

साथै, उनले विम्ब प्रयोग गर्दा ध्यान दिनुपर्ने, आकर्षक तरिकाले नयाँ विषयको प्रस्तुति दिनुपर्ने लगायका कुरा अघि राखे। संसदीय दलको बैठकमा सुहाङ पहिलो लाइनमा बसेर ओलीका कुरा सुनिरहेका थिए।

‘अघिपछि आउँदा जाँदा पालो दिने गरिँदैन,’ उनले भने, ‘सभाको प्रमुख व्यक्ति आउँदा उठ्ने गरिन्छ।’

उनले थपे, ‘सभामुखतिर पिठ्यूँ पारेर सभा चलिरहेका बेला बोल्ने असभ्यताभित्र पर्छ, यस्तो गर्नै हुँदैन।’ 

सभामुखको आसनमा जो सुकै भएको बेला सभामुलाई पृष्ठभागमा पार्न नहुने उनले बताए।

अध्यक्ष ओलीले नेपालको राष्ट्रहितविपरीत र विद्वेष भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा गुँड बनाएर बसेको ओलीले आरोप लगाए ।

'नेपालको यति अहित चिताउने । राष्ट्रिय भावनामा यस्तो विद्वेष भएका व्यक्तिले राष्ट्रपति कार्यालयमा गुँड बनाउने यो के भएको हो ? राष्ट्रपतिले यही भनाइबाट सुन्नुहोस् । यो साधारण कुरा होइन । राष्ट्रपतिका सल्लाहकार राष्ट्रपतिको आवाज हो कि हामी सोध्न चाहन्छौं ।'

राष्ट्रपतिको सल्लाहकारको भनाइलाई एमालेले गम्भीर रूपमा लिएको र जवाफ मागिने पनि ओलीले स्पष्ट पारे ।

'राष्ट्रपतिको विज्ञ सल्लाहकार उफ्रिन्छ भने यो तमासा होइन ? त्यस्ता मान्छे राख्न मिल्छ ? यो प्रश्न हामी संसद्‍मा गम्भीरताका साथ उठाउँछौं । प्रधानमन्त्री जवाफ दिनुहुन्छ कि राष्ट्रपति आफैंले जवाफ दिनुहनुछ ?,' ओलीले भने, 'कि सल्लाहकार जहाँको हो त्यहीँ पठाउनुहुन्छ ? के गर्नुहुन्छ ?'

नेपाल सरकारले गुमेको भूभाग समेटेर नक्सा जारी गरेको र त्यसलाई संविधानको अंग बनाएपछि प्रयोगमा ल्याएको ओलीको भनाइ थियो । उनले त्यो नक्सा नेपालका रुपैयाँ र सिक्कामा छाप्नैपर्ने बताए ।

नेपालको नक्सा नेपाली रुपैयाँमा छापिने भयो भन्दा राष्ट्रपति निवासबाट अभिव्यक्ति आउनु चिन्ताजनको भएको ओलीको भनाइ थियो ।

'नेपालको नक्सा नेपाली नोटमा राखेर छापिने भयो भन्दा राष्ट्रपति निवास कराउँछ । कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार ? के भएको यो देश ? अनि हामी नेपाली ट्वाँ परेर हेरेका छौं,' ओलीले भने, 'नेपालको यतिसम्म अहित चिताउने, यतिसम्म राष्ट्रिय भावनामा न्यूनता वा विद्वेष भएका व्यक्तिहरू राष्ट्रपति निवासमा गुड बनाउने ? राष्ट्रको प्रमुखको कार्यालय त्यहाँ सर्पको गुँड के भएको यस्तो ।'

यो कुरामा राष्ट्रपतिले ध्यान राख्नुपर्ने र गम्भीर हुनुपर्ने ओलीको सुझाव थियो ।

उनले भने, 'यस विषयमा हामी दह्रैगरी छिनोफानो खोज्नेछौं । राष्ट्रपतिज्यू के भन्नुहुन्छ ? झुक्किएर राख्नुभएको हो कि फेरि पनि डिफेन्ड गर्नुहुन्छ यो कुराको ? राष्ट्रपतिको त्यो भनाइ हो कि ? राष्ट्रपतिका विज्ञ सल्लाहकार राष्ट्रपतिको आवाज बोल्नका लागि त्यहाँ राखिन्छ यो राष्ट्पतिको आवाज हो कि होइन ?,' ओलीले सोधेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर