• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

संसद अधिवेशनको पहिलो बैठकमानै कांग्रेसको अवरोध

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठक नै प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गरेको छ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरे।

सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै फेरि उठेर अवरोध गरेका छन्।   

महामन्त्री थापाले सहकारीको अर्बौँ रुपैयाँ अपचलनको आरोप लागेका गृहमन्त्री लामिछाने अनुसन्धानबाट भाग्न खोजिरहेको बताए ।

‘यहाँ गृहमन्त्रीमाथि सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । तर कुनै अभियोजन भएको छैन । अनुसन्धानसम्म पनि भएको छैन । प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर झुट बोल्नुभएको छ । के यहाँ गृहमन्त्रीले आफैँ फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण पेस गरौँ ? कुन प्रमाणहरु पेस गरौँ ? यही कुरा हामीले स‌ंसदीय समितिबाट छानबान गरौँ भनेका हौँ,’ थापाले अघि भने, ‘सरकार तपाईंहरु नै चलाउनुस् । तर छानबिन समिति बनाऔँ । तपाईंहरु नै नेतृत्व गर्नुहोस् । हामी पनि सँगै बसेर हेर्छौं । सत्यतथ्य छानबिनबाट बाहिर आउँछ ।’

उनले कांग्रेसले विगतमा सरकारलाई सहयोग पुग्ने गरी सदन सञ्चालन गर्न दिएको भन्दै अब स‌ंसदीय छानबिन समिति नबनेसम्म सदनका कुनै पनि कामकारबाही अगाडि बढ्न नदिने बताए ।

‘नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ । सरकारलाई सजिलो होस् भनेर सघाउन खोजेको पनि हो । हामीले जम्मा एउटा कुरा भनेको हो–सहकारीको ठगीका विषयमा छानबिन गर्न संसदीय समिति बनाइयोस् । तर सरकारले यो कुरालाई टार्न खोजिरहेको छ,’ उनले भने, ‘आरोप लागेको व्यक्ति त छानबिन गर्न तयार हुनुपर्ने हो । तर यहाँ त छानबिनबाट भाग्न सम्पूर्ण शक्ति लगाइएको छ । किन डराएको ? गल्ती गरेको छैन भने छानबिनबाट किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । महान्यायाधिवक्ताले कुनै पनि मुद्दामा कसैको प्रभावमा पर्नुहुँदैन भन्ने छ । तर अब महान्यायाधिवक्ता त झुक्दा(झुक्दा लम्पसार नै परिसक्नुभएको छ । प्रहरीको, महान्यायाधिवक्ताको, राज्यका अंगहरुको दुरुपयोग भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर